• मंसिर १३ २०८१, बिहीबार

विप्लवसितको ३ बुँदे सहमति सरकारले तोड्यो, नेता लिम्बु पक्राउ

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति तोड्दै सरकारले सो पार्टीका नेता सकल लिम्बुलाई पक्राउ गरेको छ । ताप्लेजुङका जिल्ला नेता लिम्बुलाई प्रहरीले सदरमुकाम फुङ्लिङ बजारबाट बिहीबार पक्राउ गरेको हो । आफ्नो पार्टीका ताप्लेजुङ जिल्ला सदस्य लिम्बुलाई प्रहरीले पक्राउ गरेको सरकार–विप्लव नेकपा वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले बताए ।

सरकार-विप्लव नेकपाबीच भएको वार्तामा भएको सहमति अनुसार जेल तथा हिरासतमा रहेका सो पार्टीका नेता तथा कार्यकतालाई रिहाई गर्नुपर्ने सर्त अनुसार बन्दीहरुलाई रिहा गर्नुपर्नेमा उल्टै अरुलाई पनि खोज्दै पक्राउ गर्दै जानुले सरकार वार्ता प्रकृयाप्रति इमानदार नभएको बताइएको छ । यसबारेमा वार्ता टोली सदस्य चलाउनेले भने, ‘नहुनु पर्ने भएको छ, सरकारसित कुरा गर्छौं’ । उनले एकतहमा कुरा हुँदा सरकारी प्रतिनिधिले लिम्बुलाई पक्राउ गर्नु गल्ती भएको स्वीकारेको र यस बारेमा माथिल्लो तहमा पनि कुरा भइरहेको बताए । यसैबीच सो पार्टीको मेची-कोसी ब्यूरो इञ्चार्ज प्रकाशले लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेकोले सरकार वार्तामा भएको सहमतिप्रति इमानदार नभएको प्रतिकृया दिएका छन् ।

लिम्बुलाई पक्राउ गरिएपछि प्रकाशले एक विज्ञप्ति मार्फत् यस्तो प्रतिकृया दिएका हुन् । प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियार सम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ । प्रकाशले विज्ञप्तिमा सरकारले आफ्नो पार्टीसित भएको सहमति अनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियतप्रति शंका गर्ने अवस्था पैदा भएको उल्लेख गरेका छन् ।

सरकार र विप्लव नेकपाबीच भएको ३ बुँदे सहमतिमा सो पार्टीमाथी लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र मुद्धा खारेज गर्ने, जेल तथा हिरासतमा रहेको सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्ने र विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउने विषय रहेका छन् । सो पार्टीका नेता, कार्यकर्ता माथी लगाइएका झुठा मुद्धा खारेज गरी जेलमा रहेका बन्दी रिहा गर्नुपर्नेमा अरु थप पक्राउ गर्ने सरकारी कदमले राजनीतिक वृत्तमा आशंका पैदा गरेको छ ।