राजनीति भनेको राज्यसत्ता सञ्चालन गर्ने राज्यको नीति हो । राजनीतिक ब्यवस्थालाई ठिक तरिकाले चलाएर जनताको लागि काम गर्ने व्यवस्था नै राजनीति हो । यसैगरी अन्य देशप्रतिको कुटनैतिक लगायतका सम्बन्धलाई ठिक र सन्तुलनमा राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । यसरी राजनीतिका अनेक परिभाषाहरु दिन सकिन्छ । लोकतान्त्रिक देशका कुनै पनि राजनीतिक पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम बन्नु पर्दछ । जनतालाई जब कुनैपनि राजनीतिक दलले जब बेवास्था गर्ने गर्दछन् त्यसपछि जनताको लागि भनिएको राजनीति सदाको लागि समाप्त हुन पुग्दछ । त्यसरी जनताको लागि संघर्षको प्रतिफल दिन नसक्ने राजनीतिक दलको औचित्य पनि समाप्त हुन्छ ।
नेपाली जनताको टाउको माथि टेकेर धेरै पटक-पटक धेरै राजनीतिक दलले राजनीति गरे । तर देश र जनताका लागि खास काम गरेको देखिएन । दलहरु र राज्यमा संस्था होइन ब्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा जनताले चाहे जति विकास हुन सकेन । राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र जस्ते हुन गयो । फलस्वरुप जनताको लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नुपर्ने सबै सेवा सुविधा अहिलेसम्म पनि प्राप्त गर्न सकेनन् । जसको कारण जनताको संघर्षले फल नपाएजस्तो भएको छ । प्रगतिको घाँडो नै रित्तो भइरहेको जस्तो महसुस भएको छ । जनता र राजनीतिक दलको सम्बन्ध सधै सुमधुर बन्दै जानुको साटो झन विग्रँदै गइरहेको छ ।
राजनीतिक दलले सत्तामा पुग्नुलाई मात्र उद्धेश्य बनाएका कारण नेपाली जनता झन पछी झन पिछडिदै गइरहेका छन् । सत्तामा पुग्दासाथ निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्नुको साटो आफ्नै घुँडी भर्न पुग्नु उनीहरुको काम भइरहेको आरोप लागिरहेको छ जो धेरै हदसम्म सहीपनि हो । यसो भन्दा जनप्रतिनिधिहरुलाई पीर पनि लाग्ला तर पीर परेपनि जनताको बुझाई आज यही नै बनेको छ । जनप्रतिनिधि र कर्मचारीहरु अवसर पाउनासाथ अकुत सम्पत्ती आर्जन गर्ने अनैतिक कृयाकलापमा संलग्न हुन्छन् भन्ने कुरा धेरै स्थानहरुमा पुष्टी भएको पनि छ ।
यता आफूले गरेका कामहरु कति राम्रा छन् ? कति नराम्रा छन् ? भन्ने कुरा छुट्टाउन नसक्दा राजनीतिक दल जनतामाझ आलोचित हुनुपरेको छ । सत्तामा आसीन राजनीतिक दलले बन्दुक र शक्तिको आडामा जनताका आवाजहरु बन्द गर्ने सम्मका प्रयासहरु गर्दै आइरहेका छन् । सरकारी ढुकुटीलाई आफ्नो पुर्खाको सम्पत्ती ठानी राष्ट्र, राष्ट्रियता र स्वाभिमान लत्याउँदै जनता भन्दा पनि आफ्नै जीवनको लागि पार्टी सञ्चालन गर्दै आइरहेका छन् । राजनीतिलाई आर्थिक कुम्ल्याउने प्रतिस्पर्धाको रुपमा लिइने गरिएको छ । प्रहरी प्रशासनको भरमा जनता माथि तान्डव मच्चाउने काम समेत गर्दै आएका छन् । जनताको लागि राजनीति दलहरु कहिल्यै पनि जिम्मेवार भएनन् । आफू अनुकूलतामा काम गर्दै आए । पारिवारीक झमेलामा अल्झिएरै कहिँ न कहिँ भ्रष्टाचारमा लिप्त हुन पुगेका छन् ।
सत्ताको बागडोर सम्हाल्दा आफू र जनता गरी दुई प्रकारको विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको छ । सबैलाई हेर्ने समान दृष्टिकोण बनाएको भए आज जनता एक आपसमा विभाजित हुनु पर्ने परिस्थिति आउने थिएन । देशको विकास पनि समग्र रुपमा नभई विभाजित रुपमा गर्ने तरिकालाई आत्मसाथ गरियो । जसले गर्दा जनतालाई अनुभव हुने गरी समान विकास दिन सकेनन् । राजनीतिक दलले जनताको लागि राजनीति गर्नुपर्छ भन्ने मानसिकता बनाउन सकेनन् । राज्य नेतृत्व कर्ताले आफ्नो दायित्व बहन गर्न सकेन । जनताको लागि लोकप्रियता भन्दा पनि आफन्तजनको लागि मात्र लोकप्रिय बन्न पुगे । आफन्तवादको नारा र कामले गर्दा जनतालाई भड्काउने राजनीतिको सुरुवात गरे । जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठूला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन लागे ।
महलमा बनाइएका योजनाले जनताका आधारभूत आवश्यकताको पहिचान हुन सकेन । जसले गर्दा राज्य सत्ताप्रति सधै जनताको घृणा उब्जिन पुगको छ । सडकदेखि सदनसम्म विरोधका आवाज उठ्ने गरेका छन् । राजनीतिक दल र जनताबीच अविश्वासको वातावरण र खाडल बढदै गएकाले जनता र राजनीतिक दल एक आपसका परिपुरक साधन हुन सकेनन् । राजनीतिक दलले जनतालाई कहिल्यै पनि पुरा गर्न नसक्ने झुट्टा आश्वासन मात्र बाँडेका कारणले जनता र राजनीतिक दलको विश्वासलाई दिन प्रतिदिन धरासायी बनाउँदै गए । अविश्वासका कारण जनता खुसी, सुखि र सम्पन्न हुन सकेनन् ।
जनताको लागि राम्रो सोच र प्रभावकारी नीतिलाई राजनीतिक दलले आत्मसाथ गर्नु पर्दछ । सत्ता र शक्तिको भरमा जनतामाथि गरिएको राजनीतिले आफैलाई थप्पड लगाउने गर्दछ । उनीहरुले प्रयोग गर्ने हतियार परपर्दो निशाना नभई अधुरो र अपुरो युद्धमा परिणत हुन पुग्दछ । राजनीतिक दलले गर्दै आएको ज्यादतीले गर्दा जनताले धेरै दुःख पाइरहेका छन् । जनताले इमानदार र निष्ठाको राजनीति गर्ने राजनीतिक दल पाएनन् । सत्ताको संयन्त्रले जब जनतामाथि शक्ति प्रदर्शन गर्न खोज्छ, त्यसबेला जनताले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन् । त्यसैको परिणामले देशमा समय-समयमा सडकबाट गरिएको आन्दोलनले सत्ता ढल्ने गरेको छ । जनताको आक्रोसित आन्दोलनको नीतिले अन्तिम अस्त्र प्रहार गर्ने हुँदा त्यो प्रहारलाई जो कसैले रोक्न सक्दैनन् । जनताको जनमतलाई पुरा गर्ने बाचाका साथ जिम्मेवारी वहन गरेका राजनीतिक दलले ब्यक्तिगत फाइदाको लागि गरिएको सत्ता समिकरण धेरै दिन टिक्दैन र दीर्घकालिन फाइदा कसैलाई गर्दैन ।
नेपालका ठूला भनिएका दलले जनतामाथि नाङ्गो खेल खेलेर राजनीतिक सन्तुष्टि लिने होइन । सिङ्गो जनतालाई आफूसँगै रिजाउन लाग्नु पर्छ । राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो । राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहरण गरी सबै शक्तिलाई जनताको लागि परिचालन गरिनु पर्दछ । राजनीतिलाई जनतामुखि बनाउनु पर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्याचारको अन्त्य गरी गलत राजनीतिको बाटो छोड्नु पर्दछ । जनताका सल्लाह, सुझाव र गुनासालाई सबै राजनीतिक दलले सहजै स्वीकार गर्न सक्नु पर्छ । राजनीति जनताको न्यायको लागि हो ।
त्यसका लागि स्वतन्त्र राजनीतिको अवश्यक हुन्छ । राजनीतिक दलले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनु पर्छ, शक्ति देखाउनु हुँदैन । मुल्यको राजनीति भन्दा पनि ब्यक्तिगत सफलताको राजनीतिको विश्वासले गर्दा जनता सधै दुःख पाउने गरेका छन् । आदर्श र इतिहासको कुराले मात्र जनताको लागि राजनीति हुन सक्दैन । वर्तमान र भविश्यको पनि आवश्यकता बुझेर अब ती सबैको अत्य गरी विशुद्ध देश र आम जनताको लागि राजनीतिक दलहरुले राजनीति गर्नु पर्दछ ।
लेखकः अखिल भारत नेपाली विद्यार्थी मंचका राज्यसमिति अध्यक्ष हुन् ।