काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा २५ अर्ब २ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ । सो परिमणाको कच्चा तेल आयात गरी २३ अर्ब १२ करोड रुपैयाँको प्रशोधित तेल निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक भूमिराम शर्माले नेपालले विभिन्न मुलुकबाट यस्तो कच्चा तेल आयात गरी प्रशोधन पछि निर्यात गर्ने गरेको बताएका छन् । केही समय यता भटमासको तेलको खपत नेपालमा बढ्द्रै गएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याकं अनुसार बढी मात्रामा सुदूरपश्चिममा सोयाविन तेल उत्पादन हुने गरेको छ । ती क्षेत्रका गाउँमा संकलित भटमास तराईका क्षेत्रमा बिक्री हुने गर्छ । पहाडको केही क्षेत्रमा व्यवसायिक खेती सुरु भए पनि उत्पादन भने पर्याप्त रहेको छैन । सोही कारण विदेशबाट कच्चा तेल आयात गरी विशेष गरी भारतमा निर्यात गर्ने गरिएको हो ।
निर्यातको सूचीमध्ये भटमास प्रशोधित तेल पहिलो नम्बरमा रहेको छ भने आयातको चौथो नम्बरमा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । पहिलो नम्बरमा प्रशोधित पाम तेल पर्दछ । ६ महिनाको अवधिमा १३ अर्ब ९० करोड रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको छ । भारतमा निर्यात गर्दा शुल्क नलाग्ने अन्य मुलुकमा पनि वस्तुको गुणस्तर अनुसारको नेपालमा यस्ता कच्चा सामान ल्याएर वस्तु निर्यात गर्ने अभ्यास बढ्दै गएको छ । भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित हुने गरेका छन् ।
तेस्रो मुलुकबाट आयातित यी वस्तु प्रशोधन गरेर पुनः निर्यात हुँदा समग्र निर्यात व्यापारको अवस्थामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको दोश्रो चौमास सम्म ८० अर्ब भन्दा बढी वस्तुको निर्यात भएको छ ।