पोखरा । विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ ।
क्याम्पस प्रशासक खेमबहादुर पुलामीका अनुसार ७७ विद्यार्थी र २ जना शिक्षकलाई कोरोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो । उनले भने, ‘स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पोस्टपेन्ट गरिएको छ, चौँथो वर्षको चाहिँ भोलिबाट सुरु हुँदै छ, प्रशासनहरु सबै खुलेकै छ ।’
शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका १९ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै चैत ३ गते ११९ जनाकाे पिसिआर परीक्षण गर्दा ३२ जना, ७ गते ६ सय १३ जनाकाे पिसिआर परीक्षण गर्दा ३५ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियो । त्यसपछि ५९ जनाकाे र ४० जनाकाे पिसिआर गर्दा १/१ जनामा काेराेना पाेजेटिभ देखिएकाे पुलामीले जानकारी दिए ।
संक्रमित विद्यार्थीहरू अहिले क्याम्पसभित्रकै आइसोलेसनमा छन् । उनीहरूलाई क्याम्पसले खानेबस्नेदेखि अन्य व्यवस्थापन गरेको छ । अरू होम आइसोलेसनमा छन् । परीक्षा स्थगित भएपछि रिपोर्ट नेगेटिभ आएकालाई घरमै बस्न भनिएकाे कम्पसले जनाएको छ ।
अहिले उनीहरु स्वास्थ्यकर्मीको निगरानीमै भएको र उनीहरुको अवस्था सामान्य भएको बताइएको छ। क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् ।