काठमाडौं । सत्ता गठबन्धनलाई लिएर चार ठूला पार्टीबीच राजनीतिक खिचातानी सुरु भएको छ । सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेपछि तत्कालिन दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।
यी दुई ठूला पार्टी ब्युँतिएपश्चात् देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनलाई लिएर पटक–पटक ओलीसँग भेटवार्ता र छलफलमा लागि परेका छन् ।
तथापि सत्ता गठबन्धनका लागि काँग्रेस र जसपा अहिले पनि निर्णायक मोडमा उभिएका छन् । यी पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छन्, उही पार्टीसँग सत्ता गठबन्धन हुने निश्चित छ । यद्यपि अहिलेसम्म सत्ता गठबन्धन वा साझेदारीका लागि काँग्रेसले कुनै पार्टीलाई साथ दिएको छैन । तर, जसपा भने सत्ता गठबन्धनका लागि भनेर निरन्तर छलफलको क्रममा छ ।
पछिल्लो विकसित घटनाक्रमलाई हेर्दा, जसपाका केही नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्षस्थ नेता एमालेसँग सत्ता गठबन्धनका लागि छलफलमा छन् भने पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता डा.बाबुराम भट्टराई माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ ।
जसपाभित्रको राजनीतिक घटनाक्रमलाई नियाल्दा, वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुर एमालेसँग भेटवार्तामा छन् ।
पार्टीका वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच सत्ता गठबन्धनका लागि कुनै संवाद र छलफल भएको छैन । संवाद र छलफलबिना नै एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गरेको भन्दै पार्टीभित्र रडाको मच्चिएको जसपाका एक नेताले बताए ।
ती नेताले भने –‘सुरुदेखि नै भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टीभित्र विवाद उत्पन्न भएको छ । यसले पार्टीलाई कुनै राम्रो छाप पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले प्रत्यक्ष भेटघाट र छलफलका माध्यमबाट पार्टीभित्र बल्झिएको विवादको समाधान गर्न सक्नुपर्छ र त्यही अनुसारको वातारण तय गर्न सक्नुपर्छ ।
अन्यथा पार्टी दुर्घटनामा पर्ने सम्भावनाको नजिक पुगेको देखिन्छ । प्रधानमन्त्री पदको लोलुपतामा लाग्नुभन्दा पनि उहाँहरूले पार्टीलाई कसरी हुन्छ, दुर्घटना हुनबाट रोक्नुपर्छ ।’
भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले नयाँ सरकार गठन गर्ने सक्ने अवस्था छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता टिक्नेवाला छैन ।
उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई कुनै हालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ । तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी केन्द्र कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन ।
तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने तयारीमा छन् । उनले केही दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए । भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेका थिए ।
ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीभित्रका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।
यी दुई नेताबीच सत्ता साझेदारीका लागि मत नमिल्दा पार्टी फुटको सँघारमा उभिएको देखेपछि भारतले चलाखी गर्दै गएको छ । उसले जसपालाई सकेसम्म फुटबाट जोगाउन सक्ने सम्भावना देखिन्छ । किनकि जसपा नफुटेमा भारतले जसपाको माध्यमबाट नेपालमा थप राजनीतिक एवम् रणनीतिक चलखेल गर्नसक्ने विज्ञको आकलन छ ।
पार्टी फुटको डिलमा पुगेपछि जसपाका शीर्षस्थ तहका केही नेताहरूको भारत दौडाहा सुरु भएको छ । यसभन्दा अगाडि उनीहरू बेला—बेला भारत पुग्ने गरेपनि यसपटक भने नेताहरू समयक्रम अनुकुल पारेर पटक—पटक भेट्न पुगेको स्रोतको दाबी छ ।
यस विषयलाई लिएर भारत पनि गम्भीर भएको ती नेता बताउँछन् । जसपा नफुटोस् भन्ने सोचेरै भारत निरन्तर सम्पर्कमा रहेको स्रोत बताउँछ भने जसपाका शीर्षस्थ नेताहरू पनि भारतसँग भेटवार्ता र छलफलकै क्रममा छन् । उसको चहाना सकभर जसपालाई फुटबाट बचाउनु नै हो ।
जसपाभित्रका नेताहरूको मत नमिल्दा यतिबेला दिनानु दिन विवाद उत्कर्षमा पुग्दै गएको छ । अध्यक्ष ठाकुर र उनीनिकट नेताहरू ओलीसँगै सत्ता गठबन्धन गर्नका लागि नियमित भेटवार्ता र छलफलको प्रक्रियामा छन् भने वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनीनिकट नेताहरू ओलीसँग गठबन्धन नगर्ने पक्षमा छन् ।
भट्टराईले ओलीको निकै चर्को आलोचना गर्दै आएका छन् । उनी सामाजिक सञ्जाल ट्वीटरमार्फत बारम्बार ओलीको सत्ता वहिर्गमनको माग राख्दै आएका हुन् । त्यतिमात्रै होइन, उनले प्रधानमन्त्री ओलीलाई भस्मासुरको उपमासमेत दिएका छन् ।
उनले ओलीमाथि यसरी आलोचना गर्दैगर्दा अध्यक्ष ठाकुर भने सत्ता गठबन्धनका लागि बालुवाटारमै पुग्ने गरेका छन् । यस विषयलाई लिएर हामीले नेता उपेन्द्र यादवलाई सोधेका थियौँ, –‘तपाईको पार्टीका अध्यक्ष ठाकुर र उनीनिकट केही नेताहरू सत्ता गठबन्धनका लागि बालुवाटार धाउने गरेका छन् ? खासमा के हो ?’
उनले यस प्रश्नको जवाफ दिँदै भने, उहाँहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत भेटघाट हुनसक्छ । तर, सत्ता गठबन्धनकै लागि भनेर बालुवाटार पुग्नु भएको होइन । यदि गठबन्धनकै लागि भएको भए म लगायत भट्टराईसँग पनि छलफल हुन्थ्यो । त्यसो भएको छैन ।’