काठमाडौं । यो वर्षदेखि ‘मिस तामाङ वर्ल्ड-२०२१’ को आयोजना हुने भएको छ । अघिल्लो वर्षसम्म मिस तामाङ नेपालको रुपमा आयोजना हुँदै आएको तामाङ समुदायका चेलीहरुको प्रतिभा प्रष्फुटन गर्ने प्रतियोगिता यो वर्षदेखि ‘मिस तामाङ वर्ल्ड-२०२१’ को रूपमा आयोजना गर्न लागिएको हो ।
मिस तामाङ वर्ल्ड फाउण्डेसनले आगामी जेठ १२ गते आयोजना गर्ने यो प्रतियोगितामा सहभागिता जनाउनका लागि बुधबारदेखि आवेदन फाराम खुल्ला गरेको जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि आगामी वैशाख ५ गते अर्थात मे २५ का दिनसम्म आवेदन दिन सकिने आयोजक संस्थाले जनाएको छ ।
तामाङ समुदायका इच्छुक युवतीहरुले आयोजक संस्थाको आधिकारिक वेबसाइट www.misstamangworld.com मा गएर पनि अनलाइन फाराम भर्न सक्ने छन् ।
यसबाहेक आयोजकले नेपालको पूवाञ्चलको इटहरी, इलाम, बिर्तामोड, पाँचथर,हेटौंडा तथा पोखरामा फाराम उपलब्ध गराएको छ ।
नेपालबाहिर दार्जिलिङ, मिरिक, कालिङमोङ, सिक्किममा समेत फाराम उपलब्ध छ भने काठमाडौंमा साधना कला केन्द्र, पुतलीसडकमा फाराम उपलब्ध भएको आयोजक संस्थाले जनाएको छ ।
साधना कला केन्द्रको व्यवस्थापनमा लुम्बिनीमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक संस्थाले विश्वका हरेक कुनामा बसोबास गर्ने तामाङ समुदायका युवतीहरुले आवेदन दिन सक्ने जनाएको छ ।