काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पूर्णिमामा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ।
कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।
यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरेका छन्।
स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे।
यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टिन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए।