विश्वमा मानवजातिको इतिहासको अध्ययन अनुसन्धान भइरहेको छ । लाखौं वर्षको इतिहास बोकेको मानवजातिको अझै पनि अनुसन्धान भइरहेको छ भने मानवजातिको लुकेको इतिहास अझै कति छ भनेर अनुमान गर्न सकिने अवस्था छैन । मंगोल सभ्यता, आर्य सभ्यता, अष्ट्रोद्रबिड सभ्यता लगायत मानवजातिका सभ्यताका बारेमा संसारमा लामालामा बहसहरु भइरहेका छन् ।
यसैबीच भारतवर्षमा पहिचान भएको सिन्धु घाँटीको सभ्यताको बारेमा अझैपनि खोजहरु भइरहेका छन् । यो सभ्यता ३३०० ईसापूर्वदेखि १७०० ईसापूर्वसम्म रहेको मानिन्छ । सिन्धु घाँटीको सभ्यता विश्वको प्राचीन नदी किनारामा विकसित भएका सभ्यताहरुमध्ये प्रमुख सभ्यता मानिन्छ । सिन्धु नदिको किनारमा विकसित भएको सोही मानव सभ्यता नै पछि हिन्दू सभ्यतामा रुपान्तरण भएको मानिन्छ । मानवजातिले आफू र समाजलाई एउटा नियममा बाँध्न र सहजरुपमा समाज सञ्चालनका लागि बनाएको र विकास गरिएका थुप्रै नियमहरु नै पछि गएर धर्मको रुपमा विकास भएका हुन् ।
खासमा धर्म भनेको कुनैपनि नियमहरुलाई मनले मानेर धारण गर्नु हो । विभिन्न पत्रपत्रिकाहरु र म्यागेगिनहरुमा प्रकाशित शोध र अनुसन्धानका अनुसार यो सभ्यता कम्तिमा कम ८००० वर्ष पुरानो मानिन्छ । यो सभ्यता हरप्पा सभ्यता नामले पनि चिनिने गरिन्छ । हरप्पा सभ्यताको विकास सिन्धु नदी (जो हाल पाकिस्तानमा पर्दछ) किनारबाट भएको हो । मोहनजोदाडो, कालीबंगा, लोथल, धोलाबीरा, राखीगढी र हरप्पा सभ्यताका प्रमुख केन्द्र तथा शहरहरु थिए । भारतमा ब्रिटिशको शासन चलेका बेला भएको सो उत्खननको आधारमा पुरातत्वविद र इतिहासकारहरुको भनाईमा त्यतिबेलाको समयमा यो अत्यन्त विकसित सभ्यता थियो । हरप्पा शहर धेरै पटक बस्यो र उजाड पनि भएको मानिन्छ ।
चाल्स मासोनले सन् १८२६ मा पहिलो पटक यो मानव सभ्यताको अनुसन्धान गरेका थिए । सन १८५६ मा कनिंघमले यो सभ्यताको पहिलो सर्वेक्षण गरेको मानिन्छ । सन १८५६ मा पाकिस्तानको कराँचीबाट लाहोरको मध्ये रेल्वे लाइनको निर्माणको बेला बर्टन बन्धुहरुले हरप्पा स्थलको सूचना सरकारलाई दिएका थिए । यो क्रममा सन १८६१ मा एलेकजेन्डर कनिंघमको निर्देशनमा भारतीय पुरातत्व विभागको स्थापना भएको थियो ।
सिन्धु उपत्यकामा विकास भएको सो सभ्यताको १४०० केन्द्रहरुको खोजी भइसकेको बताइन्छ । सो सभ्यताको धेरै केन्द्रमध्ये ९२५ केन्द्र हालको भारतमा रहेका छन् । नदि किनारमा विकास भएको सो सभ्यता वरपर रहेका सहायक शहरहरुमध्ये ८० प्रतिशत स्थल त सरस्वती नदी तथा त्यसका सहायक नदिहरुका आसपास रहेका छन् । जुन सभ्यताको अहिलेसम्म भएका खोजीहरु मध्येको ३ प्रतिशत स्थानहरुको उत्खनन् कार्य पुरा भएको बताइन्छ । हरप्पा तथा मोहनजोदाडोको उत्खननबाट यो सभ्यता सम्बन्धि प्रमाणहरु फेला परेका छन् ।
लामो अनुसन्धान पछि विद्वानहरुले यसलाई सिन्धु घाँटीको सभ्यताको नाम दिएका हुन् । अनुसन्धानका क्रममा रोपड, लोथल, कालीबंगा, वनमाली, रंगापुर आदि क्षेत्रहरुमा पनि यस सभ्यताको अवशेष प्राप्त भएका थिए । ती सभ्यताहरु सिन्धु र यसका सहायक नदिहरुको क्षेत्र भन्दा बाहिर थिए । केही इतिहासकार यो सभ्यताको प्रमुख केन्द्र हरप्पा हुनुकोले यो सभ्यतलाई ‘हरप्पा सभ्यता’ को नाम दिएको मानिन्छ । भारतका पुरातत्व विभागका महानिर्देशक जोन मार्शलले सन १९२४ मा सिन्धु सभ्यताको बारेमा तीन महत्वपूर्ण ग्रन्थहरु लेखेका थिए ।