काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताको स्थिरता गुमाएसँगै नेपाली काँग्रेसको भागमा सत्ताको साँचो थमाइदिन यी राजनीतिक दल तत्पर देखिएका छन् ।
तथापि उनीहरूले देखाएको तत्परतालाई नेपाली काँग्रेसले स्वीकार्न मानिरहेको छैन । सत्ताको प्रमुख हिस्सा प्रधानमन्त्री पद सम्हाल्नका लागि एमाले र माओवादी केन्द्रसमेतले उसलाई बारम्बार प्रस्ताव राख्दै आएको छ । तर, पनि उसले उक्त प्रस्तावलाई बेवास्ता गरिरहेको छ ।
सर्वोच्च अदालतले विघटित संसद फागुन ११ गते पुनःस्थापना गरेको थियो । संसद स्थापना भएको केही दिनपछि काँग्रेस सभापति देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले संयुक्त रूपमा भेटवार्ता गरेका थिए ।
भेटवार्ताको क्रममा देउवाले प्रचण्ड–नेपाललाई भनेका थिए, –‘तपाईंहरू पहिले पार्टी आधिकारिताको टुंगो लगाउँनुहोस् । त्यसपछि सल्लाह गर्रौँला ।’ उनले यति भनेपछि प्रचण्ड र नेपाल पछि नै सल्लाह गर्ने मनसायका साथ फर्किएका थिए ।
उक्त समयमा संसद पुनःस्थापना भएपनि पार्टी आधिकारिकताको टुंगो भने लागेको थिएन । पार्टी आधिकारिकताका लागि अदालतमा मुद्दा विचाराधिन अवस्था रहेको थियो । त्यो समयमा प्रचण्ड–नेपालको एक मनसुबा थियो भने नेकपा विवादित अवस्थामा थियो ।
विवादित नेकपा पार्टी आधिकारिकताका लागि अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहँदा उनीहरूले जनता समाजवादी पार्टी (जसपा)सँग पनि सत्ता गठबन्धनका लागि छलफल गरेका थिए । छलफलका क्रममा उसले पनि पार्टी वैधानिकताको आधार खोजेको थियो ।
त्यस्तै सत्ता गठबन्धनकै लागि भनेर प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभापति देउवालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए । ओलीले देउवालाई बालुवाटारमा भेट्न बोलाएपछि उनले आफूनिकट केही नेताहरूलाई साथमा लिएर गएका थिए ।
सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले सत्ता साझेदारीका लागि छलफल गरेको बालुवाटार स्रोतले बतायो । स्रोतका अनुसार देउवाले तत्काल सत्ता गठबन्धनका लागि काँग्रेस तयार नभएको बताए । तथापि ओली र देउवाको उक्त भेटलाई निकै महत्वकासाथ हेरिएको छ ।
त्यसपछि फागुन २३ गते अदालतले नेकपा बदरको फैसला गरेको थियो । उक्त पार्टी बदर भएसँगै तत्कालिन दुई ठूला राजनीतिक पार्टी एमाले र माओवादी केन्द्र ब्युतिएका छन् ।
त्यस यता उनीहरूबीच भेटवार्ता नभएको काँग्रेस बताउँछ । भेटवार्ताका क्रममा ओली र देउवाबीच सत्ता गठबन्धनबाहेक अरू पनि छलफल भएको हुनसक्ने विज्ञको आकलन छ । किनकि प्रधानमन्त्री ओलीले नै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि अस्वीकार गर्नुमा देउवाभित्र केही न केही स्वार्थ पक्कै लुकेको छ ।
त्यस्तै उनले देशका विभिन्न जिल्लामा हुने सार्वजनिक कार्यक्रममा समेत तत्काल काँग्रेसले कोही कसैसँग सत्ता सझेदार नगर्ने बताउँदै आएका छन् । मंगलबार (हिजो) विराटनगर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले भने, –‘काँग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ । अविश्वासको प्रस्ताव पनि ल्याउँदैन र सत्ता गठबन्धन पनि गर्दैन ।’
देउवाको उक्त भनाइले राजनीतिमा फेरि अर्को आशंका पैदा गरेको छ । देउवा आफैले पटक–पटक प्रधानमन्त्री बन्ने सपना नसंगालेका होइनन् । यतिबेला उनको पाँचौ पटक प्रधानमन्त्री बन्ने योग निकै बलियो देखिन्छ । तर, उनले यो योग वियोगमा परिणत गरिरहेका छन् ।
देउवाका लागि यो योग सामान्य भएपनि एमाले र माओवादी केन्द्रका लागि वियोग नै हो । सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली काँग्रेसले नै यस्तो निराश हुने अभिव्यक्ति दिएपछि उनीहरू वियोगी हुनु स्वभाविकै हो ।
किनकि एमाले र माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनका लागि सबैभन्दा बढी आश पनि काँग्रेसबाटै मानेको बुझिएको छ । हुन त जसपा पनि ठूलै प्रतिपक्षी दल हो । तर, उक्त दलभित्र विस्तारै विवादले जरो गाड्दै गएपछि उक्त पार्टीसँग पनि सत्ता गठबन्धको टुंगो नलाग्ने देखिन्छ । त्यसले गर्दा पनि एमाले र माओवादी केन्द्र निराश छन् ।
एमाले निराश हुनुको कारण उसँग अब बन्ने सरकारका लागि कुनै पनि आधारहरू बलिया छैनन् । न उसँग बहुमत छ न माओवादी केन्द्रको साथ । यसर्थ उ अब कि सरकारबाट बाहिरिनु पर्यो कि त नयाँ सरकारका लागि काँग्रेस वा जसपासँग गठबनधन गर्नुपर्यो ।
काँग्रेस सभापति देउवालाई नयाँ सत्ता गठबन्धनका लागि कुनै चासो नरहेको बताउँदै आएका छन् भने जसपाभित्र दुईधारको विवाद मन्त गतिमा बौरिएको प्रष्ट देख्न सकिन्छ । किनकि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता डा.बाबुराम भट्टराईबीच मतभेद सुरु भएको छ ।
अध्यक्ष ठाकुर ओलीसँगै सत्ता गठबन्धन गर्न चहान्छन् भने भट्टराई माओवादी केन्द्रसँग । गठबन्धकै कारण उनीहरूमा फाटो आएको छ । यसले गर्दा जसपा पनि सत्ता गठबन्धका लागि अनिर्णयको बन्दीमा परेको छ ।
यसरी हेर्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिने निश्चित छ भने यहीँ ओली सरकारले नै निरन्तरता पाउँला जस्तो छ ।
नेपाली काँग्रेस सभापति देउवाले नयाँ सरकार गठन प्रक्रियामा ओलीसँग कुनै सम्झौता गरेको हुनसक्ने आकलन गरिएको छ । नेकपा बदरको फैसला भएपश्चात् ओली र देउवाबीच भेटवार्ता भएको छैन । तथापि यो बीचमा उनीहरूको गोप्य रूपमा केही न केही सम्झौता भएको हुनसक्ने प्रतिपक्षी दल माओवादी केन्द्रका नेताले बताएका छन् ।
ओलीको सत्तालाई लम्ब्याउन देउवाको पनि हात रहेको माओवादी केन्द्रका नेताले आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार देउवाले ओलीसँग केही गोप्य सहमति गरेको हुनसक्ने बताएका छन् । तर, के सहमति भएको हो उक्त कुरा भने उनीहरूले खुलाउन चाहेनन् ।
उनीहरूका अनुसार देउवाले एमाले र माओवादी जुनसुकै पार्टीमा नयाँ सरकार गठन गर्न चाहेपनि ओलीकै कारण उनले त्यसो नगरेको बताए । माओवादी केन्द्रका शीर्ष नेताको आकलनअनुसार देउवाको प्रधानमन्त्रीको पद ओलीकै तख्तामा रहेको बताएका छन् । ओलीको तख्तामा रहनुको कारण देउवाले काहीकतै ओलीसँगै गोप्य भेटवार्ता गरि गोप्य सम्झौता गरेको हुनसक्ने उनीहरूले बताएका हुन् ।
तर, काँग्रेसका नेताहरू भने उनीहरूको यो आरोप स्वीकार्न तयार छैनन् । पार्टीभित्र सत्ता गठबन्धनका लागि गम्भीर छलफल भैरहेकोले अहिले नै आफूहरूले आधिकारिक धारणा नराख्ने बताएका छन् ।