• मंसिर १० २०८१, सोमबार

कृषिमा आधारित यी वस्तुमा आत्मनिर्भर भएको घोषणा गरिंदै

चैत्र ११ २०७७, बुधबार

काठमाडौं । धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरिंदैछ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी ओलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसी बाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताए ।

नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उनले बताए । यसलाई पाँच हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको उनले बताए । अहिले धुलो दूधको प्रयोग मिठाई पसल, डेरी, चकलेट तथा बिस्कुट उद्योगमा मात्र भइरहेको छ । यसको प्रयोग आम उपभोक्तामा गएको छैन ।

सहसचिव निर्मलले आम उपभोक्ता समक्ष पनि धुलो दूध पुर्याउने तयारी भइरहेको बताए । पाँच हजार मेट्रिक टन उत्पादन भयो भने त्यसले आम उपभोक्तालाई पनि पुग्ने उनले दाबी गरे । अहिले यसको आयातमा पूरै रोक लगाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।