• मंसिर ११ २०८१, मंगलवार

पूर्वराजपा पक्षको ओलीसँगै सत्ता गठबन्धन, पाँच वर्षका लागि ओली नै प्रधानमन्त्री

चैत्र १० २०७७, मंगलवार

काठमाडौं । सत्ता गठबन्धनलाई लिएर चार ठूला राजनीतिक पार्टीबीच रस्साकस्सी भएको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेजको फैसला गरेपछि तत्कालिन दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।

यी दुई ठूला राजनीतिक पार्टी ब्युँतिएपछि देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सत्ता गठबन्धनलाई लिएर पटक–पटक भेटवार्ता र छलफललाई अगाडि बढाएका छन् ।

तर, सत्ता गठबन्धनका लागि काँग्रेस र जसपा निर्णायक छन् । यी दुई पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छन्, उही पार्टी सत्तामा पुग्ने निश्चित छ । यद्यपि अहिलेसम्म काँग्रेस र जसपाले सत्ता गठबन्धन वा साझेदारीका लागि कुनै पार्टीलाई साथ दिएको छैन । तर, भेटवार्ता, छलफलको क्रममा रहेको बताइएको छ ।

नेकपा बदरको फैसला पश्चात् नेपाली राजनीतिमा देखिएको विकसित घटनाक्रमलाई फन्को मार्दा, जसपाका केही शीर्षस्थ नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उनीनिकट शीर्ष नेता राजेन्द्र महतो एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँग सत्ता गठबन्धनका लागि छलफलमा छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू मंलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । आज बिहान जसपा अध्यक्ष ठाकुरसहित नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले गोल मिडिया खबरलाई बताए ।

ती नेताले भने, ‘–पार्टी अध्यक्ष ठाकुरसहितका केही नेताहरू प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटारमै जानु भएको छ । यतिबेला उहाँहरू छलफलको क्रममा हुनुहुन्छ र छलफल पनि जारी छ । तथापि के विषयमा छलफल भैरहेको छ भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन् ।’

जसपा अध्यक्ष ठाकुरपक्ष नयाँ सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा रहेको छ । सोमबार (हिजो) बेलुकी पनि ओली र जसपाका नेताबीच छलफल भएको ती नेताले बताए् ।

तर, पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ । यी नेताद्वय भने मंगलबार (आज) प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि बालुवाटार नगएको भट्टराईनिकट एक नेताले बताए ।

अध्यक्ष ठाकुरले भट्टराई र यादवसँग कुनै छलफल र संवाद नगरी सत्ता साझेदारीका लागि ओलीसँग भेट्न पुगेको बुझिएको छ । संसद विघटन भए यता भट्टराईले ओलीमाथि चर्को आलोचना गर्दै आएका छन् ।

जसपाभित्रको पछिल््लो राजनीतिक घटनाक्रमलाई चहार्दा, वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुर एमालेसँग नियमित भेटवार्ताको क्रममा छन् ।

पार्टीका वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच कुनै संवाद, छलफल भएको छैन । संवाद र छलफलबिना नै एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गरेको भन्दै पार्टीभित्र विवाद उत्पन्न भएको जसपाका एक नेता बताउँछन् ।

ती नेताका अनुसार –‘भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टीभित्र विवाद उत्पन्न भएको छ । यो विवादले पार्टीलाई कुनै राम्रो प्रभाव पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले भेटघाट र छलफलको माध्यमबाट यो विवादित वातारण अन्त्य गर्नुपर्छ । नत्र पार्टी दुर्घटनामा पर्ने सम्भावना देखिन्छ । प्रधानमन्त्रीको पदको लोलुपताका लागि उहाँहरू लाग्नुभन्दा पनि पार्टी दुर्घटना हुनबाट बचाउँनु पर्छ ।’

भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले सरकार बनाउन सक्ने सम्भावना छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता कुनै हालतमा टिक्ने छैन ।

उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई कुनै हालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ ।

तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन । तथापि पूर्वराजपा ओलीसँगै निरन्तर छलफल र भेटवार्तामा तल्लीन छन् । तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने तयारीमा छन् । उनले केही दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए ।

भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए । ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीभित्रका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।

जसपाभित्रको कोकोहोलो र विवादका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्षसम्मका लागि टिक्ने पक्का जस्तै बनेको छ । जसपा पार्टी फुटाएरै भए पनि ओलीलाई समर्थन गर्ने पक्षमा उभिएको छ । प्रतिपक्षी दल जसपामा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद भैरहेकै बेला अध्यक्ष ठाकुरपक्ष प्रधानमन्त्री ओलीसँग सहमतिका लागि भेटवार्तामा रहेको स्रोत बताउँछ ।

ओलीको नेतृत्वको सरकारमा जानका लागि जसपाभित्रको राजपा पक्षले यसअघि आफ्ना माग पूरा गरेमा सत्ता साझेदारी हुने बताएका थिए । उनीहरूको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक रहेको राजपापक्षले बताएको छ ।

जसपाभित्रको विवादले ओलीलाई सत्ता टिकाउन थप बल पुग्ने देखिएको छ । पार्टी अध्यक्ष ठाकुरको पक्ष नै सत्ता गठबन्धनका लागि ओलीसँग भेटवार्ता र छलफल गर्नु, सत्ता गठबन्धनका लागि जसपा नजिक पुग्नुले प्रधानमन्त्री ओली पाँच वर्षसम्म सत्तामा रहने सम्भावना देखिएको छ । यसकासाथै पूर्वराजपाले ओलीसँगै सत्ता गठबन्धन गर्ने निर्णय गरेको स्रोतको दाबी छ ।