• मंसिर ११ २०८१, मंगलवार

५० लाखले हेरे ‘द भ्वाइस अफ नेपाल’

चैत्र १० २०७७, मंगलवार
काठमाडौँ /
प्रसारण भएको हप्तादिन नपुग्दै गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ का दुई इपिसोड सामाजिक संजाल युटुवको सबैभन्दा बढी हेरिएको सूचीमा दर्ज भएका छन् । गत शुक्रबारदेखि शुरु भएको सो शोको तेस्रो सिजनका पहिला दुई इपिसोड गरेर झण्डै ५० लाख दर्शकहरुले हेरिसकेका छन् ।
‘ब्लाईण्ड अडिसन’ नाम दिइएका ती इपिसोडहरु पहिलो २७,३९,२३० जना र दोस्रो २२,०६,९०८ जनाले युटुवमा हेरिसकेका छन् । दुई ‘ब्लाइण्ड इपिसोड’ पहिलोबाट अभिसेख बराइली,धमेन्द्र सुनार,धुर्व तामाङ,मेलिना मैनाली,सम्राट राजभण्डारी,सुजिता योञ्जन,अफ्रिता खड्गी,सुमन नेपाली,गणबिर बुढामगर,निर्मला घले,सुनिल थापा मगर,शर्मिला आचार्य गरेर १२ जना अगाडीको प्रतिस्पर्धामा गएका छन्।
 नेपालको सबैभन्दा ठूलो भनिएको गायन रियालिटी शोको कार्यक्रम प्रमुख तथा निर्देशक लक्ष्मण पौड्याल रहेका छ्न भने कार्यकारी निर्माता तथा संचालक सुशील नेपाल छन् । करणराज कार्कीले संगीत निर्देशन गर्ने सो साङ्गितिक कार्यक्रमको रेकर्ड गिरिष श्रेष्ठले गर्ने गर्छन् ।
सो गायन रियालिटी शोको सिर्जना अमेरिकाका टेलिभिजन प्रस्तोता जोन डि मोल जेआरले गरेका हुन् भने यसको विश्वव्यापी परामर्शदाताको रुपमा नोर्फा जलिल रहेका छन् ।
१४५ देशमा चलिरहेको यो फ्रेंचाइज साँगितीक प्रतियोगिता नेपालमा आएर ‘द भ्वाइस अफ नेपाल’ भएको हो । वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठ, चर्चित संगीतकर्मी प्रमोद खरेल र सुनौलो आवाजका धनी संगीतकर्मी राजु लामा यसका पुरानै निर्णायक हुन् भने सिजन ३ बाट नयाँ निर्णायकको रुपमा लोकप्रिय गायिका तृष्णा गुरुङ आएकी छिन् ।