• मंसिर ११ २०८१, मंगलवार

पूर्वजनसेना साधना भन्छिन् ‘हामी जनयुद्धका घाइतेलाई कसले वास्ता गर्छ र ?’

चैत्र १० २०७७, मंगलवार

गर्मी चर्किदै जाँदा भित्रभित्रै मस्मस् खान्छ । ठण्डीले च्याप्दा कटकटी खाएर रातभरि सुत्नै सकिन्न । जनयुद्धकालीन घाइते घोराही-१८ गिठेपानी निवासी जयकुमारी वली ‘साधना’ पीडा पोख्नु हुन्छ । अनि सोध्नु हुन्छ- ‘हामीलाई केहि हुन्छ कि हुन्न ?’ थप्नुहुन्छ- ‘कसले खोज्ला र ?’ उतिबेला घरबाट निकालेर युद्धमा होम्नेहरु अहिले कता गए होलान् भन्ने लाग्छ ।

खिइएका चप्पल पट्याक पट्याक पड्काउँदे वरपर गर्दा पिपलखाली आसपासका मानिसले मामुली महिला ठान्छन् । उनको तनक्क तन्केको ठाडो शरीर र फुर्तिलो हिंडाइले भने अरुभन्दा भिन्न देखाउँछ । तर पनि साधनालाई पूर्व जनमुक्ति सेना भनेर कसैले चिन्दैनन् ।
यतिवेला सरकार, सडक र संघर्षमा रहेका तत्कालीन माओवादीले अनेक खाले कार्यक्रम गरिरहेका छन् ।

साधनालाई भने पुराना योद्धा खोज्ने कार्यक्रम कसैले नल्याएको महशुस हुन्छ- ‘घरबाट ननिकाल्दासम्म मरिहत्ते गरे, पढाइ छुट्यो, घाइते भइयो, अहिले कसैले पुच्छदैन ।’ उहाँका अनुसार गुन्योचोली लगाउने उमेर भएदेखि नै उसबेला जनयुद्धले देशका लागि आवश्यकता ठान्थ्यो । भूमिगत नेता कार्यकर्ताहरु घरबाट निकाल्न अनेक जुक्ति लगाउँथे । त्यस्तै १३ वा १४ वर्षको उमेरमा घर छोडेको उहाँलाई सम्झना छ ।

‘जबरजस्ती लग्थे, लड्नुपर्छ भन्थे ।’ उहाँले घर छोड्नु पर्नाको कारणबारे भन्नुभयो- ‘लगिसकेपछि त जानु पर्यो नि त ?’ इन्कार गर्ने र लुकेर बच्ने अवस्थै थिएन । दिनरात जसबेला पनि लैजान्थे । न निकाल्दासम्म सेल्टर बनाउँथे । भागेर जाने सेना पुलिसको डर हुन्थ्यो, हिँड्नैपर्दथ्यो ।
हिंडेपछि सुरुका दिनमा लाठी र खुकुरी बोक्न दिए ।

त्यसकै प्रयोग गरेर साधनाले पनि सेबोटेजका कार्वाहीमा सहभागिता जनाउनुभयो । फटाहरुलाई पकड्ने, मेला पर्वमा सुरक्षा दिने, बलात्कारी व्यभिचारीलाई कार्वाही गर्ने, जाँडरक्सी खाई हिंड्नेलाई जनकार्वाही गर्ने, जालीतमसुक च्यात्नेजस्ता काममा लागियोे । मुद्दामामला मिलाउने काम पनि भयो । क्रमशः जनयुद्ध विकास हुँदै गयो । माओवादीले जित्दै लग्यो । संख्या पनि थपियो ।

पहिलो कार्वाहीमा महतको प्रहरी चौकी आक्रमण गर्दा सहभागिता जनाएको साधनाको भनाइ छ । त्यसपछि सतबरिया र होलेरी आक्रमणमा पनि अग्रमोर्चामै रहेर लड्नुभयो । धेरै प्रहरीलाई अपहरण गरेर लगेको याद छ । उहाँ घोराही कब्जा गर्दाको लडाइँमा पनि सहभागि हुनुभयो । लड्दै जाँदा खारा आक्रमणमा पर्दा दायाँ हातमा माइनको छर्रा लाग्यो । घाइते हुनुभयो । त्यस बेलासम्म बन्दुक हुँदै राइफल बोकेर लड्ने स्तरमा पुगिसक्नुभएको थियो । त्यहि लडाइँले भने उहाँको सोँचमा ठूलै परिवर्तन गराउने भूमिका खेल्यो ।

त्यस बेलासम्म बहिनी लक्ष्मीलाई पनि लडाइँमा सामेल गराइसक्नुभएको थियो । एकै घरबाट दुईजना युद्धमा हिंड्नुभयो । त्यसबेला योगदान र बलिदानको कोटा पूरा गर्नुपर्छ भन्ने नेताहरुको थेगो थियो । लक्का जवान देख्यो नै तपाईलाई परेको कोटा चुक्ता गर्नुपर्छ भनिन्थ्यो । आवश्यक परे रगत दिन पनि तयार रहन पूर्व जानकारी गराइन्थ्यो र हिंडालिन्थ्यो ।

घाइते भइसकेपछि मनोबल कमजोर हुँदै गयो । ‘घाइते भएपछि मलाई वास्तै भैन’ उहाँले गुणासो पोख्दै भन्नुभयो, ‘उपचारकै लागि पनि भागेँ ।’ उहाँले सुचना सम्पर्क बिच्छेद गर्दै गाउँ नै छोड्नुभयो । मोर्चामा किन फर्किएन भनेर खोज्न नेताहरु घरमा गए । उहाँका अनुसार बहिनी किन भगाइस् भनेर दाइलाई कुटे । ‘तेरो बहिनीलाई किन भगाइस् भनी साबिक महत खाम्दै रुकुम घरमा रहेका दाइलाई कुटे, म आफै भाग्या हुँ, दाइले भगाएको होइन ।’ उनले आँखाभरि आँशु पारेर सुकसुकाउँदै भन्नुभयो, ‘दाइलाई कुटेरै घाइते बनाए ।’ उहाँका अनुसार परिवारले युद्धमा लगानी गरेको छ । बहिनी पनि घाइते हुन् ।

त्यसबेला घरबाट निकाल्न अति गर्नेहरु अहिले पनि भेटिन्छन् । पार्टी पटकपटक सरकारमा पुग्यो । त्यसबेला गरेको योगदान र घाइते हुँदा बगाएको रगतको कसैले वास्ता गरेन । उहाँका अनुसार भाग्ने लहर थियो । दुनियाँ भागिरहेको थियो । तर, योगदान त थियो । उतिबेला भागे पनि अहिले पार्टीले आफ्ना सदस्य भनेर समेट्न सक्नुपर्छ ।

किशोर अवस्थाको सात वर्ष जनयुद्धमै बिताएको साधनाको दाबी छ । उहाँको दाबीलार्ई कसैले पत्याउनेवाला भने छैन । न कतै सम्पर्क छ न त जनयुद्धले सिकाएका कुनै पाठ बाँकी देखिन्छन् । तर, आस्था भने मरेको छैन । बेस्सरी चीसो वा गर्मी हुँदा टाटो बसेको घाउ जाग्छ । धेरै दर्द हुन्छ । मलाई दुखेको छ भन्ने ठाउँ र भावनात्मक सम्बन्ध अहिले भेटिदैन । त्यसबेला जनयुद्धको माया लाग्छ । कहाँ गएर विगतको अनुभव पोख्नु र हलुको हुनु ?

भर्सक आर्थिक रुपमा सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ । ‘अलि अलि खर्च दिए पनि हुन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘पूरै समय नबिताए पनि सात बर्ष लगानी छ, रगत बगाइयो ।’ उहाँका अनुसार शान्ति सम्झौता भई जनयुद्ध नटुंगिदासम्म बस्न नसक्नु कमजोरी हो । त्यसरी युद्ध सकिन्छ भन्ने अनुमान पनि थिएन । त्यति ख्याल गरेन भन्दैमा बगेको रगतलाई पानी सम्झिने र योगदानलाई कुल्चिनु अन्याए हो । उहाँले आफूजस्तै हिंडेका र रगत बगाएका तमाम रहेको बताउनुभयो । प्रमाणीकरण नभएपनि युद्धका घाइतेलाई राज्य र पार्टीले स्मरण गर्नुपर्ने माग राख्नु हुन्छ । राज्यले नसके पनि युद्ध चलाएको पार्टीले समेटेर लैजानुपर्छ ।

यति बेला उहाँखे खोज्ने पार्र्टी प्रचण्ड, किरण, बाबुराम, बादल, विप्लव हुँदै अनेकौ खेमामा विभाजित छ । तिनले आआफ्ना मेलो समातेर हिंडेका छन् । छुटेका योद्धा समेट्न सकेका छैनन् । जाँडरक्सी र कुलतमा भासिएका तथा विरक्तिएका धेरैजना छन् । उनीहरुलाई सुल्टो जीवनमा फर्काउन पनि संगठन संरचनामा सामेल गराउनुपर्छ ।

टुक्रिएका क्रान्तिका नायकहरु कसलाई भनेपछि दुःखपीडा सुन्छ भन्ने पनि थाह छैन । बिगतले भने पछ्याउन छोड्दैन । पटक पटक झस्काउँछ । कसैले सम्झिए हुन्थ्यो भुन्ने आश लाग्छ । न भन्न जाने ठाउँ छ न कोही सोध्छ आउँछ । उतिबेला घर बसेकालाई निकालेजस्तै अहिले बिरक्तिएकालाई समेट्नुपर्छ । आर्थिक सहयोग दिन नसके पनि विचार पुनर्ताजकी बनाउन सक्छन् । बचेको जीवन सम्मानित र खुशी बनाउने अभिवावकत्व लिनैपर्छ ।