प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । विप्लव नेकपा र सरकारबीच वार्ता भई सो पार्टी शान्ति प्रक्रियामा आएपछि यी दुई नेताबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
आज भएको भेटमा जेलमा रहेका विप्लव नेकपाका नेता तथा कार्यकर्तालाई रिहा गर्ने विषयमा छलफल भएको बताइएको छ । सो पार्टी र सरकारबीच भएको वार्तामा वार्ता टोलीका सदस्य रहेका नेता उदयबहादुर चलाउनेले प्रधानमन्त्री ओली र आफ्नो पार्टीका महासचिव विप्लवबीच भेट भएको र रिहा हुन बाँकी नेता तथा कार्यकर्तालाई रिहा गर्ने विषयमा कुरा भएको पुष्टि गरेका छन् ।
नेता चलाउनेले भने, ‘हाम्रो पार्टीका महासचिव र प्रधानमन्त्रीबीचको भेटमा हाम्रो पार्टीको महासचिवले रिहा हुन बाँकी नेता, कार्यकर्तालाई छिटो रिहा गर्नुपर्ने कुरा राख्नु भयो, जवाफमा प्रधानमन्त्री ओलीले त्यो विषय प्रक्रियामा हालिसकिएकाले रिहा हुन बाँकी कार्यकर्ता छिट्टै रिहा हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’
सरकारले लगाएको प्रतिबन्ध लगत्तै प्रक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश वली, माइला लामा, चुडामणि वली लगायत हजारौं कार्यकर्ता अझैपनि जेलमै रहेका छन् । सो पार्टी र सरकारबीच भएको वार्तामा भएको सहमतिअनुसार विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, थुनामा रहेका नेता, कार्यकर्तालाई बिनासर्त रिहा गर्ने र विप्लव नेकपाले आगामी दिनमा शान्तिपूर्ण तरिकाले आफ्ना राजनीतिक गतिविधि गर्ने भन्ने रहेको छ ।
करिब २ हजार कार्यकर्ता जेलमा रहेका अनुमान गरिएको सो पार्टी र सरकाबीच भएको सहमति लगत्तै धर्मेन्द्र बास्तोला लगायतका केही नेता तथा कार्यकर्ता मात्रै रिहा भएका छन् । प्रतिबन्ध फुकुवा भएपछि सो पार्टी हाल देशभर आफ्ना खुल्ला राजनीतिक गतिविधि गरिरहेको छ ।