• असार ४ २०८२, बुधबार

५४ सदस्यीय जम्बो टोली लिएर राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

चैत्र ९ २०७७, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको भ्रमणका लागि आज त्यसतर्फ जाँदैछिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली ५४ जना नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे ढाका प्रस्थान गर्नेछिन् ।

स्थानीय समय अनुसार उनी बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छिन् । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । त्यसपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्ने छिन् । सोही दिन उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केके विषयमा हुँदैछ सम्झौता ?

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगतमा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषदका पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रमणबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने बताएका थिए ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।