काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार(भोलि) दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको जनाएको छ ।
सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।
भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।
भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउने जनाइएको छ ।
बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।