• मंसिर १३ २०८१, बिहीबार

महिला सशक्तिकरणमा सहकारीको योगदान अपरिहार्य : मन्त्री महतो

चैत्र ८ २०७७, आईतवार

काठमाडौ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिला सशक्तिकरणमा सहकारीको योगदान अपरिहार्य रहेको बताएकी छन् ।राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन वृद्धिको कार्य गरीरहेको भन्दै खुसी व्यक्त गरेकी हुन् ।उनले महिला दिदिबहिनी सहकारीमार्फत उत्पादनमा जोडिएका कारण सरकारले पनि ठूलो अपेक्षा गरेको बताइन् ।

‘सहकारीले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको छ ।’ मन्त्री महतोले भनिन्, ‘सहकारी ५६ प्रतिशत महिला सहभागीता छ । महिलाको आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक चेतना वृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्वपूर्ण छ ।’

उनले नीति नियमबाट सहकारी र महिला उद्यमशीलताका लागि समस्या परेको भए आफूले त्यसका लागि पहल गर्ने बचत समेत दिइन् । उनले महिलाबाट संचालन गरेका उद्योग व्यवसाय तथा संस्थालाई अझ ठूलो बनाएर उदाहरण दिन सकिने बताइन् । उनले अब अधिकार खोज्ने भन्दा पनि गरेर देखाउने बेला आएको बताइन् । नीति नियमले ग्यारेन्टी गरेको विषयमा महिलाले जिम्मेवारी पाउनुपर्ने र उत्कृष्ट कार्य गरेर देखाउनुपर्ने उनको धारणा थियो ।
अब नेपालमा कुनै पनि मानिसले सडकमा मागेर खानुपर्ने अवस्था रहँदैन उनीहरुको जिम्मेवारी सरकारले लिने उनले बताइन । २०७८ भित्र सडक मानवमुक्त गर्ने सरकारको योजना रहेको भन्दै उनले प्रदेश र स्थानीय तहसम्म प्रभावकारी नेटवर्क निर्माण गर्ने काममा सहकारी अगाडि रहेको बताइन् ।

कार्यक्रमा राष्ट्रिय योजना आयोगका सदस्य तथा महासंघका सल्लाहकार उषा झाले महिला निर्णयकर्ता भएकाले अधिकार लिने होइन अधिकार दिने भूमिकामा हुनुपर्ने बताइन् । महासंघका अध्यक्ष मिनराज कडेलले ७० वटा जिल्ला सहकारी संघमध्ये ३ वटामा महिला अध्यक्ष रहेको र अन्यमा समेत महिलालाई नेतृत्व लिनका लागि प्रेरणा मिलेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले २१ आंै शताब्दीमा महिलारु समावेशितामा मात्र भर पर्न नहुने बताउदै निर्णय र ज्यालमा पनि समानता हुनेपर्ने बताइन् ।