• मंसिर ११ २०८१, मंगलवार

अल्पविकसित देशमध्ये सबैभन्दा खुशी नेपाल

चैत्र ८ २०७७, आईतवार

विश्वमा रहेका ६० प्रतिशत अल्प विकसित देशमध्ये नेपाल सबैभन्दा खुशी रहेको देश हो । यस वर्षको संयुक्त राष्ट्र संघको ‘सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवक’मा ‘वल्र्ड ह्यापिनेस इन्डेक्स-२०२१’ मा विश्वका १ सय ५३ देशमध्ये नेपाल ८७औं स्थानमा परेको छ । पोहर साल नेपाल ९२औं स्थानमा रहेको थियो । यस वर्षको नेपालको स्कोरिङ निकै सुधारात्मक देखा परेको छ ।

नेपाली आनीबानी :

नेपालीको पहिचान नै उन्मुक्त हाँसो हो । उनीहरुको पहिलो स्वागत हो, हाँसो । परिचित होस् वा अपरिचित, आफ्नो घरदैलो र आफ्नो समीप पुगेको मान्छेलाई नेपालीले गर्ने पहिलो स्वागत मुस्कानबाटै गर्दछन् । कञ्चन र निस्कपट हँसमुख नेपालीको आफ्नैपन हो । यसलाई विशिष्टता भनेमा कुनै फरक पर्दैन ।

अन्य देशका मानिसलाई नेपाली भनेर कसरी चिन्यौं भनी सोधियो भने उनीहरु सहजै भन्छन्– ‘अपरिचितसँग पनि हाँसेर बोलिरहेका छन् ।’ हो, नेपालीको बानी दुःखपीडामा पनि हाँसेर बोल्ने रहेको हुन्छ ।

जीविकोपार्जनमुखी जीवन :

नेपालीमा खुशी ल्याउनुको अर्को कारक उनीहरुको आर्थिक जीवन प्रणाली हो । उनीहरु विश्व बजारको प्रतिस्पर्धामा प्रवेश गरेका छैनन् । यसको अर्थ हो उनीहरुलाई दैनिक नाफा घाटाको त्यति चासो छैन । सामन्य जीवनस्तर, न्यून खर्चजस्ता अल्पविकसित देशकै अवस्थामा छ नेपाल । त्यसैले पनि नेपाली हाँसीहाँसी बाँचिरहेका छन् । यसले पनि नेपाललाई अल्प विकसित देशहरुमा सबैभन्दा खु्शी रहेको देशमा पारेको छ ।

 कोरोना महामारी बिगबिगी, चर्को आर्थिक संकट र राजनीतिक अस्थिरताका बीचमा पनि नेपाली खुशी रहेका छन् । जीवन भोगाइ हो भन्ने अर्थमा ग्रहण गर्ने र सुख दुख भोग्नका लागि आफूहरु तयार रहने नेपालीहरु त्यति विघ्न महत्वाकांक्षी पनि देखिदैनन् । कोरोनाले आर्थिक जीवन चौपट बनाएको छ । देशमा स्थापित कलकारखाना निकै प्रभावित छन् । अधिकांशको रोजगारी खोसिएको छ । तथापि नेपाली खुसी छन् । जीविकोपार्जनमुखी आर्थिक प्रणालीले नेपालीलाई धेरै नाफा र घाटाको शिक्षा सिकाएको छैन ।

दक्षिण एशियामा सबैभन्दा खुशी :

दक्षिण एशियामा रहेका छिमेकी देशका तुलनामा सबैभन्दा बढी खुशी हुने देशमा परेको छ नेपाल । यसले क्षेत्रीय महाशक्तिका रुपमा रहेको छिमेकी देश भारतलाई पनि उछिनेको छ । भारत १३९औं स्थानमा रहेको छ । गत वर्ष नेपालको स्थान ९२औं थियो, अहिले ८७ औं । यसको सामान्य अर्थ हुन्छ, नेपालीमा खुशीको मात्रा बढ्दै गैरहेको छ । गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युतलगायतका सूचकांकमा नेपालले निकै सुधार गरेको छ । नेपालकै केन्द्रीय तथ्यांक विभागले गत वर्ष बहुसूचक सर्वेक्षण गरी सामाजिक विकासका क्षेत्रमा नेपालमा सुधार आएको देखाएको छ ।

नेपाली खुशीका मौलिक सूचकांक :

 

संयुक्त राष्ट्र संघले राखेका सूचकांकका अतिरिक्त नेपाली खुशीका अन्य धेरै सूचकहरु छन्, जो अन्य देशमा नहुन सक्छन् । नेपालमा सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचक नेपालमा मौजुद छन् । सानो आकारमा रहेको भूगोलभित्रै तराइदेखि पहाडहुँदै हिमालसम्मको विविधता एकै ठाउँबाट देख्न र महसुस गर्न पाइन्छ । हावापानी आफैमा मौलिक छ । प्राकृतिक स्रोतसाधन पनि प्रचुर मात्रामा छ । यसका साथै नेपालमा रहेको सांस्कृतिक तथा धार्मिक विविधताले पनि नेपाली खुशी हुनुमा निकै ठूलो योगदान दिएको छ ।

विश्वमा सबैभन्दा धेरै खुशी हुने देशहरुमा फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका छन् । आश्चर्यको कुरा त के रहेको छ भने आफू एक नम्बरमा रहेको सबैभन्दा खुशी रहेको देश फिनल्याण्ड लगातार चौथोपटक पनि पहिलो नम्बरमै रहेको छ । फिनल्यान्डले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन नै गरेन । पछिल्लो चरणमा खोप विकास भएर प्रयोगमा आएपछि त त्यहाँको जनजीवन अझ सहज भएको छ । फिनल्यान्डमा कोभिडबाट मृत्यु हुनेको संख्या पनि नगन्य रहेको छ ।

विश्वमा डेनमार्क, स्विटजरल्याण्ड, आइसल्यान्ड, र हल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन् । सबैभन्दा खराब अवस्था दक्षिण एशियाकै अफगानिस्तानको छ । अफगानिस्तान जिम्बाबे र रुवान्डाभन्दा पनि खस्किएको अवस्थामा छ । संसारको टप टेनमा नर्वे, स्विडेन, लक्जम्बर्ग, न्युजिल्यान्ड र अस्ट्रिया छन्

चीनको सुधार :

खुशी हुने देशमा चीन र भारत क्रमशः ८४ र १३९औं स्थानमा रहेका छन् । पछिल्लो समयमा एसियाली देशमा तुलनात्मक रूपमा चीनले आफ्नो स्थितिमा निकै सुधार ल्याएको छ ।