खुशी नेपालीका लागि खुशीको खबर ! दक्षिण एशियामा सबैभन्दा खुशी नेपाली ! नेपालीको पहिचान नै हो हँसमुख कुराकानी । हाँसेर बोलिरहेको वा कुरा गरिरहेको मानिस नेपाली नै हुन्छ । त्यसैले पनि होला, संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमन्ट सोल्युसन नेटवर्कको वल्र्ड ह्यापिनेस इन्डेक्स २०२१ अनुसार नेपाल दक्षिण एशियामा सबैभन्दा खुशी रहेको देशमा परेको छ ।
विश्वभर रहेका १ सय ५३ देशमध्ये नेपाल ८७औं स्थानमा परेर हामी नेपालीलाई अझ खुशी बनाएको छ । दुःख र पीडामा पनि हाँस्ने नेपाली हामी दक्षिण एशियाली देशमा सबैभन्दा खुशी छौं भन्दा त्यसै हासिँरहेका छौं । तथापि हामी नेपालीको जीवनस्तर भने अल्पविकसित देशकै छ ।
कोरोना महामारीको संक्रमण, चर्को आर्थिक संकट र राजनीतिक खिचातानी र त्यसले निम्त्याएको अस्थिरताका माझमा पनि नेपाली खुशी छौं । जीवन जीउनका लागि हो, जीउनु भनेको भोगाइ हो । नेपाली यसका लागि सधैं तयार छन् । नेपाली जनता त्यति बिघ्न महत्वाकांक्षी पनि देखिदैनन् । हरेक दिन सामान्य तरिकाले जिउँछन् ।
कोरोना संक्रमणका कारण आर्थिक जीवन चौपट बनाएको छ । देशमा स्थापित कलकारखाना काम लाग्ने हालतमा छैनन् । अधिकांश नेपाली बेरोजगार भएका छन् । जीविकोपार्जनमुखी जीवन प्रणाली रहेकाले नेपालीलाई धेरै नाफा र घाटाको पाठ सिकिराख्नु जरुरी छैन । अहिले पनि कृषि र पशुपालन नै आय आर्जनको मुख्य स्रोत रहेको छ ।
गत वर्षको यस्तै सर्वेक्षणमा नेपालले ९२औं स्थान हासिल गरेको थियो । यो वर्ष राम्रो अंक हासिल गरेकाले शायद नेपालीमा खुशीको मात्रा बढ्दै गएको देखिन्छ । खुशी मापनका विविध सूचकांकमा नेपालले बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युतलगायतका सूचकांकमा राम्रो प्रगति गरेको छ ।
यसबाहेक नेपाली खुशी रहनुका आफ्नै मौलिक सूचकहरु पनि छन् । यसमा नेपाली सामाज, यसको आर्थिक बनोट, पर्यावरण, पारिवारिक वातावरण, भौगोलिकता, सांस्कृतिक विविधता, विविध वन्यजन्तु र वनस्पति, गौरवपूर्ण इतिहास आदि रहेका छन् ।
यो वर्ष खुशी रह्यौं भने अर्को वर्षमा सुखी पनि रहन प्रयत्न गर्नेछौं ।