• मंसिर ११ २०८१, मंगलवार

भारतमा कोराना संक्रमितको संख्या बढ्दै

चैत्र ८ २०७७, आईतवार

नयाँदिल्ली । भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा वृद्धि हुँदै गएको पाइएको छ । त्यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९ सय ५३ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिंदै गएको देखिएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

ती मध्ये दुईलाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ ।

ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोना भाइरसबाट महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ ।