• मंसिर ८ २०८१, शनिबार

विश्वमा दोस्रो भइन् नेपालकी यान्त्रिका !

चैत्र ७ २०७७, शनिबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले निर्माण गरेको एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जडित रोबोट यान्त्रिका विश्व एआई प्रतिस्पर्धामा दोस्रो भएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले निर्माण गरेको एआई यान्त्रिका नेपालकै अत्याधुनिक रोबोट हो । महिलाको स्वरुपमा निर्माण गरिएकाले यसको नाम यान्त्रिका दिइएको हो ।

विश्व एआई प्रतिस्पर्धामा अमेरिकाको रोबोट पहिलो, नेपालको दोस्रो र भारतको तेस्रो भएका छन् । नेपालमा निर्मित यान्त्रिका स्वयमसेवी भूमिकामा रहने गरी निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उतारिएको यो रोबोटलाई १.० भर्सनका रुपमा लिइएको छ । यो नेपालको पहिलो अटोमेटिक, हाइटेक, एआईमा आधारित मानवाकृतिमा निर्मित रोबोट हो ।

विश्वमा फैलिरहेको महामारीलाई इंगित गरी गरिने क्रियाकलापमा यान्त्रिकाको भूमिका रहने बनाइएको छ । नव आगन्तुकलाई स्वागत र नमस्कार गर्ने, मास्क लगाएको वा नलगाएको हेर्ने, मास्क नदेखेमा झोलाबाट मास्क झिकेर लगाउन दिने तथा भित्र जानका लागि बाटोतिर इशारा गर्ने यान्त्रिकाको औपचारिक काम बन्न गएको छ ।

लेडी रोबोट यान्त्रिकाको साथमा मास्क राखिएको झोला रहेको छ । हातमा स्यानिटाइजर समेत दिइएको हुन्छ । साथमा नास्टको अफिसभित्र प्रवेश गर्ने आगन्तुकको शरीरको तापक्रम पनि नाप्ने गर्छ । तापक्रम बढी भएमा यान्त्रिकाले नास्टभित्र जानबाट रोक्छ ।

साथै, यसले नास्टसम्बन्धी जानकारी पनि दिने गर्दछ । आगन्तुकको फोटो खिचेर संग्रह गर्छ र यदि यसले दुईतीन एंगलबाट फोटो लिन पाएमा नाम नै लिएर स्वागत गर्दछ ।