काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा सहभागी वामदेव गौतमलाई पार्टी एकढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् । गौतमले नेकपादेखि एमालेसम्म पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गर्दै ओलीले यहाँसम्म आइपुग्दा सबैले एकता कसले नचाहेको हो भन्ने स्पष्ट भएको बताए ।
यो कुरा वामदेव गौतमले राम्ररी बुझेको जिकिर गर्दै ओलीले भने, ‘नेकपादेखि एमालेसम्म तपाईं एकताएकता भन्दै हिँड्नु भएको छ । एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि, अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ ? अब एकताएकता भनेर पछि नलागे हुन्छ उहाँहरु (खनाल–नेपाल समूह) एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ त्यसतर्फ लागौं ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजना बारे खुलासा गरिसकेको उनको भनाइ थियो ।