• मंसिर १३ २०८१, बिहीबार

ओलीले बोलाएको बैठकमा नेपाल-खनाल समूहले बहिष्कार गर्ने

चैत्र ७ २०७७, शनिबार

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् । यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
यस्तै कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन् ।

शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले केपी ओलीविरूद्ध पार्टीमै रहेर आन्दोलन गर्ने भन्दै बैठकमा सहभागी हुने बताएका हुन् ।