काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अध्यादेश अड्किएको विषयमा आक्रोश पोखेका छन् ।
शुक्रबार बेलुकी बालुवाटारमा आयोजित उद्योगी व्यवसायीको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सरकारले दर्ता गराएको अध्यादेश सदनमा पेश हुन नसकेकोप्रति आक्रोश पोखेका हुन् ।
रोजगारी र उत्पादन दिने र निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारले त्यसका लागि आवश्यक परेको खण्डमा ऐन संशोधन गर्न अध्यादेशसम्म ल्याउन सक्ने बताए ।
अध्यादेश ल्याउँदा अहिलेको जस्तो संसद श्रद्धाञ्जली दिँदै उठ्ने अवस्था रहिरहेमा केही गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुरामा बिलम्ब गर्न नहुने बताए ।
‘के सुधार गर्नु पर्यो । यसका लागि ऐन संशोधन गर्न विधेयकका रुपमा ल्याउन पनि सरकार तयार छ । उनले भने, ‘देश विकासका लागि जरुरी पर्यो भने अध्यादेश पनि ल्याइन्छ । अध्यादेश संविधानसम्मत कुरा हो ।’
आवश्यक परेका कुरामा बिलम्ब गर्न नहुँने भन्दै उनले भने, ‘छ महिना संसद यस्तै श्रद्धाञ्जली दिँदै उठ्दै गर्ला । उद्योगलाई चाहियो भने हामीले उद्योगलाई अगाडि बढाउनु परेन ?’