• मंसिर ११ २०८१, मंगलवार

वन र वन्यजन्तुसँग रमाइरहेका यी महिलाहरु

चैत्र ६ २०७७, शुक्रबार

यदि वन र वन्यजन्तु प्रकृतिमा नभइदिएको भए मानव जीवन अपुरो हुन्थ्यो । जलचर, स्थलचर, उभयचर, पन्छी र विभिन्न साना ठूला बोटबिरुवाहरु वनमा पाइने गर्छन् । वनले मानव जीवनलाई स्वच्छ वातावरण दिएर स्वस्थ रहन मद्दत गरेको हुन्छ । वनले नै पृथ्वीमा पर्यावरण सन्तुलन कायम गरेको छ । त्यसै हरियो वन नेपालको धन भनिएको होइन, बरु यसको महत्व बुझेर भनिएको हो । नेपाल संसारमा वन धेरै हुने देशहरुको सूचिमा समेत सुचिकृत छ । वनले नेपालको भू–भागको ४४ प्रतिसत जमिन ओटेको विभिन्न तथ्याङ्गले देखाउँछन् ।

वन र वन्यजन्तुलाई मानिसले नै संरक्षण गर्दै आएका छन् । नेपालमा सामुदायिक वनको अवधारणा लागु भएपछि वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा समुदायबाट उल्लेख्य सफलता प्राप्त भएका छन् । समुदायमा पनि जहाँ महिला वन र वन्यजन्तु संरक्षणको कामका लागेका छन् त्यहाँ बढी सफलता हात लागेको साम्दायिक वन उपभोक्ता महासंघकि केन्द्रीय अध्यक्ष भारती पाठकको दाबि रहेको छ । आउनुहोस् पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका सामुदायिक वनहरुमा रमाउँदै वन र वन्यजन्तुको संरक्षणमा योगदान पुर्याएका केहि महिलाहरूबारे चर्चा गरौं ।

१) मन्जु महतारा, प्रकृति गाइड

मन्जु महतारा
मन्जु महतारा

 

वन र वन्यजन्तुसँग रमाइरहेका सिमित महिलाहरुमध्ये मन्जु महतरा एक उदाहरणीय पात्र हुन् । बर्दियाकी २५ वर्षीया महतारा आफूलाई प्रकृतिप्रेमीको रुपमा चिनाउन चाहन्छिन् । बर्दिया राष्ट्रिय निकुञ्जमा प्रकृति गाईडको रुपमा काम गर्दै आएकी उनी जंगली जीवजन्तु चराचुरुङ्गीहरुको आवाज आफूलाई औधी मन पर्ने बताउँछिन् । हात्ती चलाउने माउते बुवा र सोही निकुञ्जमा प्रकृति गाइड रहेकी आफ्नै दिदीबाट प्रभावित भएर सोही पेसा अगाल्न पुगेकी महताराले कामको सिलसिलामा थुप्रै सुख र दुःखको अनुभव संगालेकी छिन् । बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरुलाई निकुञ्जमा भएका पशुपन्छी तथा जंगली जनावरको बारेमा जानकारी दिंदा जुन आनन्द आउँछ त्यस्तै खालको आनन्द उनलाई कुनैपनि ठाउँमा वन्यजन्तुको चोरी शिकारी भएको देखेमा वा थाहा पाएमा निकुञ्जलाई दिनुमा आउँछ । उनको यही रुचिलाई मध्यनजर गरेर निकुञ्जले उनलाई यही जिमेवारी पनि दिएको छ । भविष्यमा वन जंगल र वन्य जन्तुको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेकी उनले समाजमा पाउने हो भने छोरीले जस्तोसुकै जिम्मेवारी पनि बहन गर्न सक्छिन् भन्ने उदाहरण पेश गरेकी छिन् ।

२) खगिसरा खड्का, सामुदायिक वन सचिव, वन हेरालु

खगिसरा खड्का
खगिसरा खड्का

खगिसरा खड्का सुर्खेतको भेरीगंगा नगरपालिका वार्ड नम्बर १२ अर्थात् साविक छिन्चु गाविस वार्ड नम्बर ७ कि स्थायी बासिन्दा हुन् । उनी विगत ४ वर्षदेखि सोही नगरपालिकाको श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समितिको सचिवको रुपमा कार्यरत रहेकी छिन् । वन जंगल, वन्यजन्तु साथै चराचुरुङ्गी संरक्षण, सम्वद्र्धन, वनमा हुने आगलागी नियन्त्रण, वन्यजन्तुहरु कहिलेकाहीँ वन क्षेत्रबाट बाहिर निस्किएमा सम्बन्धित स्थानमा पुर्याउने साथै वन र वन्यजन्तुको संरक्षणको बारेमा गाउँमा सचेतना कार्यक्रम संचालन गर्ने, खाली ठाउँमा रुखहरु रोप्ने मात्रै होइन वन तस्करहरु समातेर सम्बन्धित निकायमा पुर्याउने जस्ता जोखिम काम समेत गर्दै आएकी छिन् । २८ वर्षकी खगिसरा आफू सचिव रहेको वनको आफै हेरालु समेत हुन् । पहिले पहिले सार्वजनिक रुपमा हिडन बोल्न समेत असहज महसुस हुने बताउने उनी वन र वन्यजन्तुको संरक्षणमा लागेपछि बाहिरका धेरै कुराहरु बुझेर आफ्नो नेतृत्व क्षमताको समेत विकास भएको बताउँछिन् । वन संरक्षणमा लाग्दा वन्यजन्तुको भय, समाजले हेर्ने दृष्टिकोण, तस्करहरुबाट हुने खतरा लगायतका जोखिम मोल्दै र यी र यस्ता चुनौतिको सामना गर्दै भएपनि वन र वन्यजन्तुको संरक्षणमा लागिरहने कुरामा आफू दृढ रहेको बताउँछिन् ।

३) पद्या सुनार सुनार, अग्नि नियन्त्रक

पद्या सुनार
पद्या सुनार

बालककालमै बालविवाह र बलात्कारमा परेकी ३५ वर्षिया पद्या सुनार कंचनपुर बेदकोट नगरपालिका पार्कीटोलमा बसाई सर्नु पहिले आफै महिला हिंसाको सिकार भएकी थिइन् । कुनै समय जीवनमा निरास भएर आत्महत्या समेत गर्न हिंडेकी पदमा पछि आएर अरुलाई महिलाहरुको सहभागितामा विभिन्न सामाजिक कार्य गराउने समेत गर्छिन् । वनबाट हुने अवैध क्रियाकलाप नियन्त्रणमा टेवा पुर्याउँदै आएकी सुनारले जलवायु परिवर्तन तथा विपदखाले जोखिमका हिसावले खतरायुक्त रहेको कंचनपुर बेदकोटस्थित पार्कीटोलमा किशोरी तथा महिलाहरुको सहभागितामा रुख जोगाउने तथा विपदजन्य जोखिम विषयमा आधारित सडक नाटक समेत देखाई सकेकी छिन् । विगत १० वर्षदेखि स्वयम सेवकको रुपमा वन हेरालु र अग्नि नियन्त्रकको रुपमा काम गरिरहेकी उनी आफ्नै अगुवाइमा २०७५ सालमा बैतडा सामुदायिक वनमा लागेको आगो निभाउन सफल भएकी थिइन् । खाली जमिनमा कृषि प्रवद्र्धन, खोलाका छेउमा बाँस, सिसौका १,००० भन्दा बढी बिरुवाको नर्सरी निर्माण समेत गरेकी उनले आफ्नो टोलमा ३४ भन्दाबढी दलित युवती तथा महिलाहरुलाई छाउ प्रथा, जातीय विभेद, महिनावारी, वन संरक्षण तथा जलवायु परिवर्तनका बारेमा सचेत गराउन सफल भएकी छिन् । हिंसा र विभेदसँग एकजुट भएर लड्नु र प्राकृतिक श्रोत र साझा सम्पतीको संरक्षण गर्नु सवै मानिसको कर्तव्य भएको उनी बताउँछिन् ।

४) लक्ष्मी बानियाँ, फरेस्टर

लक्ष्मी बाँनिया
लक्ष्मी बाँनिया

बेनी नगरपालिका-४ म्याग्दीकी स्थायी बासिन्दा लक्ष्मी बानियाँ डिभिजन वन कार्यालय म्याग्दीमा फरेस्टरका रुपमा कार्यरत रहेकी छिन् । उनी वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगमा सहजीकरण गर्न, नियमावली अनुसार वन सम्बन्धी क्रियाकलाप गर्न, गराउन, राष्ट्रिय वन क्षेत्रमा चोरी निकारी हुन नदिन साथै वन अतिक्रमण हुनबाट जोगाउन अहोरात्र खटिरहेकी छिन् । वनक्षेत्रसँग सम्बन्धित लक्षित वर्ग विपन्न, महिला, दलित र परम्परागत पेशामा आधारित व्यक्तिहरुको पहिचान गरी उपभोक्ताका रुपमा समावेश गरी उनीहरुको वनमाथिको अधिकार सुनिश्चित गर्ने अठोट लिएकी बानियाँ महिलाहरुले आँट गरे जुनसुकैपनि कार्य गर्न सक्छिन् भन्ने धारणा व्यक्त गर्छिन् । उनको योगदानले प्रकृति र समुदायमा हरियाली वृद्धि, नाङ्गा पाखाहहरुमा वृक्षारोपण, बाढी पहिरो नियन्त्रण, महिलाको आय आर्जनमा वृद्धि साथै वन्यजन्तु र चराचुरुङ्गीहरुको संख्यामा वृद्धि भएको छ ।

५) जमुना पौडेल, वन हेरालु

जमुना पौडेल
जमुना पौडेल

चितवनमा बदेल, गैंडा जस्ता वन्यजन्तुसँग लुकामारी खेल्दै, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र वनदेवी सामुदायिक वनमा एक्लै गस्ती गरेर वन संरक्षणमा लागिरहेकी साहसी महिलाको नाम हो, जमुना पौडेल । चितवनको भरतपुर महानगरपालिका वार्ड नम्बर ८ कि स्थायी बासिन्दा ४० वर्षीया जमुना सो वनदेवी सामुदायिक वनमा २०६५ सालदेखि वन हेरालुको रुपमा कामगर्दै आएकी छिन् । वन र वन्यजन्तु संरक्षणमा अग्रसर उनी वनजंगलको हेरचाह, खाली स्थानमा वृक्षारोपण गर्ने, आगलागी भएको स्थानमा नियन्त्रण गर्न जाने, साथै अवैध रुपमा काठ दाउरा काट्नेलाई समातेर सम्बन्धित निकाएमा बुझाउने, काममा समेत सकृय रहेकी छिन् । वन संरक्षणमा काम गरिरहँदा वन्यजन्तुको भय, साथै तस्करहरुसँग जोगिनुपर्ने जोखिम सदा रहिरहने तर वन क्षेत्रमा काम गर्नेहरुलाई सेवा सुविधा कम रहेको बताउँछिन् । हरियो वन कार्यक्रम लगायतको सहयोगमा आफूले काम गर्ने ठाउँमा अग्नि नियन्त्रक सामग्री, वन्यजन्तुका लागि तारजाली, जुत्ता र ज्याकेट लगायत आवश्यक सामग्री प्राप्त गरेको हुनाले वन संरक्षणमा थप हौसला मिलेको उनले बताइन् ।

६) सपिका मगर (शान्ति) वन्यजन्तु चोरी शिकारी नियन्त्रण इकाई संयोजक

सपिका मगर (शान्ति)
सपिका मगर (शान्ति)

पहिले पहाडबाट हाम्रा पुर्खाहरु नून लिन जाँदा पर्साको ठोरी गाउँपालिकास्थित टाउन नाम गरेको स्थानमा पुगेर नून किनेर फर्किने गर्दथे । टाउन गाउँ नै भएपनि पुर्खाको नून किन्ने बजार भएकोले होला पुर्खाले त्यस ठाउँको नाम टाउन राखिदिए । अहिले त्यो गाउँलाई सबैले टाउन नै भन्ने गर्छन् । ठोरी गाउँपालिका वार्ड नम्बर २ टाउन गाउँकी बासिन्दा सपिका वन र वन्यजन्तु संरक्षणमा लागेकी अर्की उदाहरणीय महिला हुन् । चितवन राष्ट्रिय निकुञ्जको पर्सापट्टिको मध्यवर्ती एरिया निर्मल ठोरी मध्यवर्ती सामुदायिक वनमा उनले वन र वन्यजन्तु संरक्षण सम्बन्धि कार्य गर्दै आएकी छिन् । सो सामुदायिक वनमा हरियो वन कार्यक्रमको सहयोगमा स्थापना भएको चोरी शिकारी नियन्त्रण इकाईको उनि संयोजक हुन् । गाउँघरमा र साथीभाईबीच ‘शान्ति’ उपनामले चिनिने सपिका थापामगर सो चोरी सिकारी नियन्त्रण इकाईको संयोजक भएदेखि जंगलमा भारतीय नागारिकहरुबाट हुने चोरी सिकारीमा कमि आएको छ । वनमा हुने आगलागी तथा वन्यजन्तुको आक्रमणबाट बच्नको लागि समुदायमा सचेतना कार्यक्रम समेत गर्दै आएकी शान्ति अरु सामाजिक कार्यमा समेत सक्रिय छिन् । टाउन गाउँमा वनशक्ति युवा क्लवको उपाध्यक्ष रहेकी उनी आदिवासी जनजाति महासंघ पर्सा जिल्लाको समेत उपाध्यक्ष हुन् । छोरीले समेत आफ्ना आमाबुवा पाल्न सक्छिन् भन्ने संदेश दिनलाई ३१ वर्ष पुगिसक्दा पनि बिवाह नगरेर आमाबुवालाई साथ दिंदै आएकी उनी वन र वन्यजन्तुको संरक्षण कार्यलाई निरन्तरता दिनुको साथै जल, जंगल र जैविक विविधताको संरक्षणमा दृढ रहेकी छिन् ।

७) जानुका भुजेल, वन हेरालु

जानुका भुजेल
जानुका भुजेल

वन र वन्यजन्तुको चोरी शिकारीमा पुरुष मात्रै नभई महिला समेत संलग्न भएका हुन्छन् । त्यस्तै चोरी शिकारी नियन्त्रणमा पनि महिला नै संलग्न भएको खण्डमा नियन्त्रण प्रभावकारी हुनसक्छ भनेर मोरङ जिल्ला लेटाङ नगरपालिका वार्ड नम्बर ४ को जनसेवा सामुदायिक वनले निर्णय गर्यो । त्यसपछि सो सामुदायिक वनको वन हेरालुको रुपमा २०६५ सालमा सोही नगरपालिका वार्ड नम्बर ४ कै जानुका भुजेललाई नियुक्त गर्यो । ६२ वर्षिया जानुका अहिले पनि त्यही काम गर्दै आयकि छिन् । आफूले गर्दै आएको कामप्रति पूर्णरुपमा सन्तुष्ट हुँदाहुँदै पनि महिला भएकै कारणले कहिलेकाहीँ केही चुनौतिको समेत सामना गर्नुपरेको स्मरण गर्दै उनि भन्छिन,  ‘चुनौतिको सामना गर्दै अगाडी बढेमा महिलाले पनि हेरेक क्षेत्रमा सफल भूमिका निर्वाह गर्न सक्छिन ।’ उनको अर्को राम्रो पक्ष यो रहेको छ कि, उनी कोरोना भाइरस महामारीको समयमा समेत कुनैपनि दिन घरमा नबसी वन संरक्षणको निम्ति लगातार खटनपटन गरिरहिन् ।