सिलोसायबिन च्याउ अर्थात् नेपालमा ‘मातिने भनिने च्याउ’ मा औषधीय गुण रहेको हुन्छ । यसलाई ‘जादुई च्याउ’ भनेर पनि चिनिन्छ । यो एक च्याउको प्रजाति हो जसमा सिलोसायबिन र सिलोसिन नाम गरेको रसायन हुन्छ । साइकेडेलिक च्याउ भनेर चिनिने यो च्याउमा मनोरञ्जनात्मक औषधी हुन्छ । यसले मनभित्र भ्रम र हर्षको भाव जगाउँछ ।
प्रजाति :
२०० भन्दा बढी प्रजाति रहने यो च्याउ संसारमा जहाँ पनि पाइन्छ । साइकेडेलिक च्याउ सामान्यतया उष्ण र उपोष्णकटिबंधीय क्षेत्र, मैदान, चरन र जंगलमा पाइन्छ । प्रजातिअनुसार काठका टुक्रा, कुहिएका मुढा, ह्युमस भएको माटो, गोबर, वा ओसिलो, छाँयादार क्षेत्रमा यो पाइन्छ । कोपल्यान्डिया, जिम्नोपिलस, इनोसाइबे, पनेओलस, फोलियोटिना, प्ल्युटियस र सिलोसायबे सिलोसायबिन च्याउका जिनसहरू हुन् । पुरानो धार्मिक रीतिथिति र समारोहमा सिलोसायबिन च्याउको प्रयोग हुँदै आएको छ ।
प्रयोग :
साइकेडेलिक च्याउ हजारौं वर्ष पुरानो च्याउ हो । यसको प्रयोग उत्तरी अफ्रिकाका सहार आदिवासी जनजातिले ईसापूर्व ९००० देखि गर्दै आएको देखिन्छ । उनीहरुले ढुङ्गाका कोरेको चित्रका आधारमा यो कुरा पत्ता लागेको हो । स्पेनमा पनि ६००० वर्ष पहिले यस्तै चित्र चट्टान कुँदिएका भेटिएका छन् । केही धार्मिक अनुष्ठानमा यसको प्रयोग भएको पाइएको छ । माया र एजेटेकजस्ता मूल निवासीका अमेरिकी परम्परामा चल्ने धार्मिक अनुष्ठानमा आफ्ना देवीदेवतासँग संवाद गर्न सिलोसायबिन च्याउ खाने गरेको पाइन्छ । नहुआ, माजाटेक, मिक्सटेक, र जापाटेकजस्ता मध्यअमेरिकी जनजातिले पनि यस्तै उदेश्य लागि यो च्याउको प्रयोग गरेको भेटिन्छ ।
नयाँ अनुसन्धान :
स्पेनिस इतिहासकारले १६औं शताब्दीमा यसलाई पवित्र च्याउका रुपमा लिएको पाइन्छ । सन् १९३८ मा ओक्साका, मेक्सिकोबाट प्यानेओलस स्फिंक्ट्रिनस र सिलोसायबे क्युबेन्सिसको नमूना संकलन भएको पाइन्छ । गोर्डन वासन र उनकी श्रीमती भ्यालेन्टिना पावलोभनाको खोजीपछि मात्र यसले विश्वको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ । सन् १९६०को सुरुतिर सिलोसायबिन च्याउ मेक्सिकोमा मात्र पाइन्छ भन्ने कुरा व्यापक भयो । आफैले चामत्कारिक असर अनुभव गर्नेहरूको आवजावत हुँदा ओक्सिकन सहर हुआउटला डे जिमनेज तीर्थस्थलको रुपमा परिणत भयो । एको पाइन्छ ।
साइकेडेलिक च्याउ मानवले प्रयोग गर्ने सबैभन्दा पुरानो मनोरन्जनात्मक औषधि हुन् । यी आज पनि सक्रिय रूपमा प्रयोगमा रहेका छन् । यसका बारेमा पुराना गुफा चित्र, पाण्डुलिपिमा समेत उल्लेख गरिएको पाइन्छ । आज यिनीहरुको चर्चा पप संस्कृति, संगीत, चलचित्र, र पुस्तकमार्फत् भइरहेको छ । खेती गर्न सबैभन्दा सजिलो भएको हुनाले सिलोसायबे क्युबेन्सिस नै सबैभन्दा लोकप्रिय र व्यापक रूपमा खेती गरिएको सिलोसायबिन च्याउ हो ।
परीक्षण :
पछिल्ला ४ दर्जनभन्दा बढी क्लिनिकल परीक्षण सहित विभिन्न साइकोट्रिक डिसअर्डरमा सिलोसायबिनको प्रयोगसम्बन्धी अनुसन्धान भइरहेका छन् । पछिल्लो समयमा यसको सम्भावित उपचारात्मक क्षमतामा सम्पूर्ण विश्वको ध्यान आकर्षित भएको देखिन्छ । विभिन्न जटिल मानसिक स्वास्थ्य समस्याजस्तै उपचार प्रतिरोधात्मक उदासिनता, कुलत, पोस्ट–ट्राउमेटिक स्ट्रेस डिसअर्डर, चिन्ता, इत्यादिको उपचारमा सिलोसायबिन अत्यन्त सुरक्षित र प्रभावकारी देखिएको छ । यसलाई हानी नगर्ने ड्रगको रूपमा वर्गीकृत गरिएको छ ।
प्रचाप्रसार :
विश्व सिलोसायबिन उद्योगको विकास तीब्र रुपमा भइरहेको पाइन्छ । जर्नल अफ क्लिनिकल साइकियट्रीमा प्रकाशित एउटा अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा मात्रै उपचार प्रतिरोधक डिप्रेसन (टीआरडी)को लागि प्रत्येक वर्ष रोजगारदाताको ४८ अर्ब अमेरिकी डलर खर्च हुने गर्दछ । यसले यसको ठूलो बजारको सम्भावनाको संकेत गर्दछ । यसको अतिरिक्त डिप्रेसनको औषधि बजार २०१४ मा १४.५ अर्ब डलरबाट बढेर २०२० सम्ममा १७ अर्ब अमेरिकी डलर रहेको अनुमान छ । साइकेडेलिक अनुसन्धानकर्ताहरूले सिलोसायबिनको लागि प्रति ग्राम ७००० देखि १०,००० अमेरिकी डलरसम्म भुक्तान गर्ने गरेका छन् । यो सिलोसायबिनको मात्राको आधारमा सुख्खा म्याजिक अर्थात जादुई च्याउको सडक मूल्य भन्दा १३ गुणाले बढी हो । जादुई च्याउको सडक मूल्यको आधारमा सिलोसायबिनको लागत प्रतिग्राम करीब ७५० डलर हुन आउँछ । यद्यपि यो फरक फरक भए पनि ५००० मिलीग्राम सुख्खा जादुई च्याउ करिव ६६ मिलिग्राम सिलोसायबिन बराबर हुन्छ ।
वैधानिकता :
सिलोसाइबिन कम्पाउन्ड र सिलोसाइबिन च्याउ कानूनी दृष्टिकोणबाट पर्यायवाची होइन । साइकोट्रपिक (दिमागी अवस्थालाई असर गर्ने) पदार्थमा सम्पन्न विश्व सम्मेलनको आधारमा संयुक्त राष्ट्र संघद्वारा सन् १९७१ देखि सिलोसाइबिन कम्पाउन्डको निषेध गरिएको हो । सम्मेलनले सिलोसाइबिनलाई अनुसूची–१ मा राख्यो जो सबैभन्दा प्रतिबन्धात्मक (कुनै उपचारात्मक मान नभएको र जनस्वास्थ्यमा गम्भीर जोखिमको रूपमा परिभाषित ) समूह हो ।
यद्यपि यसले सिलोसाइबिन च्याउ वा फंगल माइसेलियमको वैधतालाई स्पष्टसँग परिभाषित गरेको छैन र यसमा एउटा प्रावधान (धारा ३२ ) समावेश गरिएको छ जसले सिलोसाइबिनको केही परम्परागत प्रयोगलाई छुट दिन अनुमति दिएको छ । त्यसैले सिलोसाइबिन च्याउ संयुक्त राष्ट्र संघीय साइकोट्रपिक पदार्थ अधिनियम अन्तर्गत पर्दैन किनकि अधिनियमले प्राकृतिक रूपमा हुने बोटबिरुवा जसमा अधिनियममा अनुसूचित ड्रग रहेको हुन्छ, समावेश गरेको छैन ।
यसरी संयुक्त राष्ट्र संघीय साइकोट्रपिक पदार्थ अधिनियम अनुसार सिलोसाइबिन च्याउलाई निषेध गर्ने वा नगर्ने निर्णय लिने अधिकार सदस्य राष्ट्रहरूमा रहेको देखिन्छ र अधिकांशले यसको फरक कानूनी व्याख्या गरेर सिलोसाइबिन च्याउलाई निषेध गरेको छैन् तर सिलोसाइबिन पदार्थ÷अणुलाई निषेध गर्न सवै सहमत छन् । यद्यपि धेरै देशहरूले आफ्ना घरेलु कानून अन्तर्गत सिलोसायबिन च्याउहरूलाई निषेध गर्दै आएको छ ।
आषधि वा लागू औषध :
अमेरिकी साइकोट्रपिक पदार्थ ऐनले सिलोसायबिन पदार्थ र सिलोसायबिन च्याउलाई अनुसूचि–१ (दुरुपयोगको लागि उच्च सम्भावना, सुरक्षित औषधी तथा चिकित्सा उपचारमा मान्यता नपाएको)मा राखेको छ । यद्यपि अधिकांश राज्यहरूले (अनुसन्धानको लागि) सिलोसायबे च्याउको विजाणु खरीदविक्रीको कानूनी मान्यता दिएको छ । न्यू मेक्सिको राज्यमा धार्मिक उत्सवहरूमा सिलोसायबिन च्याउको प्रयोग हुँदै आएको साथै यसको खेतीले कानूनी मान्यतासमेत पाएको छ । क्यानाडाको सिलोसायबिन (कम्पाउन्ड) सम्बन्धी कानूनहरू प्रायः संयुक्त राष्ट्र संघीय साइकोट्रपिक पदार्थ अधिनियमसँग मिल्दोजुल्दो छ ।
यद्यपि क्यानाडामा पदार्थलाई अनुसूची–३ (केही परिस्थितिमा जनस्वास्थ्यमा केही जोखिम भएको)मा राखिएको छ । सिलोसायबिन च्याउका बीजाणुहरू र पूर्व इनोकुलेटेड ग्रो किटहरू खरीद गर्ने कार्य वैधानिक भए पनि सुक्खा च्याउ राख्न अवैध मानिन्छ । तर यो कानून प्रभावकारी रुपमा लागु छैन् । दाना लार्सनको अनलाइन च्याउ औषधालयजस्ता धेरै साना च्याउ र च्याउमा आधारित उत्पादनहरूको व्यवसाय सञ्चालनमा रहेको पाइन्छ । क्यानाडाली नियन्त्रित ड्रग्स र पदार्थ ऐनको धारा ५५(१)ले कुनै पनि निषेधित पदार्थलाई चिकित्सीय रूपमा आवश्यक भएमा वैधानिकता प्रदान गर्दछ ।
सिलोसायबिन अणुसम्बन्धी बेलायती कानून संयुक्त राष्ट्र संघीय साइकोट्रोपिक पदार्थ अधिनियमसँग मिल्दोजुल्दो छ । सन् २००५ सम्ममा सिलोसायबिन च्याउको प्रयोग र बिक्रिवितरण पूर्ण रूपमा वैधानिक थियो । औषधी कानूनको दुरुपयोग सम्बन्धी कानून २००५को संशोधनपछि सिलोसायबिन च्याउको खेती, विक्रीवितरण लगायत यस च्याउ सम्बन्धी सम्पूर्ण कार्यलाई प्रतिबन्ध गरिएको छ ।
प्रतिबन्ध :
सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ दुबै नेदरल्याण्ड्समा अवैध छन् । डच ड्रग दुरूपयोग ऐनले सिलोसायबिन च्याउलाई अवैध सूचीकृत गरेपनि, च्याउको माइसेलियमलाई यसले समेट्दैन जसमा सिलोसायबिन हुन्छ । यही माइसेलियममा आधारित उत्पादनहरू डच स्मार्ट सपहरूबाट नेदरल्याण्ड भरी विक्रीवितरण हुने गरेको छ । अस्ट्रियामा सिलोसायबिन च्याउको खेती वैधानिक मानिन्छ । ग्रो किट र बीजाणु कानूनी रूपमा किन्न सकिन्छ तर ठूलो मात्रामा सुख्खा च्याउको बिक्रीवितरण र भण्डारण अझै पनि अवैध छ । मेक्सिकोमा दुवै सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ अवैध भएपनि व्यक्तिगत प्रयोगमा संयुक्त राष्ट्र संघीय साइकोट्रोपिक पदार्थ अधिनियमको धारा ३२ अनुसार धार्मिक वा संस्कारात्मक प्रयोगका लागि छुट रहेको देखिन्छ ।
इटली र ब्राजिलमा सिलोसायबिन (कम्पाउन्ड) अवैध भएपनि सिलोसायबिन च्याउको खेती र विक्रिवितरण वैध रहेको छ । थाइल्याण्ड, कम्बोडिया र लाओसमा सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । यद्यपि कानून विशेष गरी पर्यटकीय क्षेत्रमा लच्चकताका साथ लागू भएको देखिन्छ । स्पेन र चेक गणराज्यमा सिलोसायबिन (कम्पाउन्ड) अवैध छ । सिलोसायबिन च्याउको अवैद्यता अन्त गरिसकेको भएपनि ठूलो मात्रामा च्याउको संग्रह र सुख्खा च्याउको विक्रिवितरण अझै अवैध रहेको छ । तर यो कानूनको प्रभावकारी कार्यन्वयन भएको देखिदैन ।
आइसल्याण्डमा सिलोसायबिन (कम्पाउन्ड) र सुकेको सिलोसायबिन च्याउ निषेध छन् । तर ताजा च्याउको उत्पादन, ओसार–पसार बैध छ । इजरायलमा व्यक्तिगत प्रयोगको लागि सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । तर अनुसन्धानको लागि बीजाणु र पूर्वइनोकुलेटेड ग्रो किटहरू खरीद गर्ने कार्य वैधानिक छ । भारतमा सिलोसायबिन (कम्पाउन्ड) र सिलोसायबिन च्याउ निषेध छन् । यद्यपि कानूनको कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन ।
नेपालमा खोजी :
हालसालै नेपालमा पनि विशेष गरी पोखरा, काठमाडौं, चितवनमा सिलोसायबिन च्याउको खोजी, संकलन, उपभोग र खेतीमा समेत जनचासो बढ्दै गएको पाइन्छ । विश्वको अन्य मुलुकमा जस्तो हाल नेपालमा कार्यान्वयनमा रहेका लागू औषध (नियन्त्रण) ऐन २०३३ लगायत अन्य कुनै घरेलु कानूनमार्फत् सिलोसायबिन च्याउलाई नियन्त्रण वा निषेध गरिएको अवस्था देखिदैन । यसको व्यावसायिक सम्भावना र जनस्वास्थ्य समेतलाई ध्यानमा राखेर अध्ययन–अनुसन्धान, खेती, ओसार–पसार लगायतका गतिविधिलाई समयमै व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।
(लेखक : नास्टमा वरिष्ठ च्याउ विज्ञ हुन् ।)