काठमाडौं । विगत केही दशकदेखि चाउचाउ, चिजबल, कुरकुरे, चकलेट, बिस्कुट, समोसा, डोनट, पिज्जा, बर्गर, रोल, फ्रेन्च फ्राइज, विभिन्न प्याकेजिङ गरिएका खानेकुराहरू खाने लत बस्नेे गरेको पाइन्छ ।
साना बालबालिकादेखि ठुलो उमेरसम्मका व्यक्तिहरु समेत अहिले जंकफुडको लतमा फसिसकेका छन् । जिब्रोको तलतल मेटेपनि शरीरका लागि आवश्यक पोषणयुुुक्त तत्व त्यसमा हुँदैन । बरु जंकफुडलाई मिठो बनाउन, आकर्षक देखाउन र लामो समय टिकाउन त्यस्ता बस्तुहरुको मिसावट गरिन्छ, जो शारीरिक स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
बाल्यवस्थाबाट नै बच्चाको खानपान सही भयो भने बच्चा जीवनभर स्वस्थ्य रहन्छ । तर बच्चालाई के खाना खान दिने, के नदिने भन्ने हरेक आमाको लागि समस्याको बिषय बनेको हुन्छ ।
बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खाना खान दिनु पर्छ । तर धेरै क्यालोरी भएको खाना दिनु हुन्न, त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत समेत दिदैन । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने काम गर्छ ।
केरा: केरामा त्यस्ता धेरै तत्वहरु समावेश हुन्छन्, जसको आवश्यकता बच्चालाई स्वस्थ्य रहनका लागि हुन्छ । केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी ६ प्रचुर मात्रामा हुन्छ । केराको प्यूरी मफीन अथवा प्यान केके बनाएर पनि खुवाउन सकिन्छ ।
अण्डा: आठ महिनापछि बच्चालाई अण्डा सजिलै दिन सकिन्छ । अण्डालाई उमालेर खान सकिन्छ । यसबाहेक खानामा पनि अण्डाको समावेश गर्न सकिन्छ ।
आलु: आलुलाई बच्चाको पहिलो आहार मानिन्छ । नरम हुने भएकोले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलु खानाले बच्चालाई कुनै प्रकारको पनि एलर्जी हुँदैन । शुरुमा बच्चालाई ग्यास नहोस् भनेर थोरै आलु सेवन गर्न दिनु पर्छ, पछि यसको मात्रा विस्तारै बढाउदै लानु पर्छ । आलुमा खनिज भिटामिन बाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । आलुमा सबैभन्दा धेरै कार्बोहाइड्रेट हुन्छ । आलुलाई खिचडी, सुप बनाएर पनि खान दिन सकिन्छ ।
घिउ: बच्चाको लागि घिउ अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना भएपछि घिउ उसको खानामा कम मात्रामा दिन सकिन्छ । बढि मात्रामा घिउको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।
मासु: मासुले बच्चालाई धेरै पोषण दिने भएकोले यसलाई बच्चा ८ महिना भएपछि नै खान दिन सकिन्छ । बच्चालाई मासु खान दिदा उमालेर मसिनो बनाएर निल्न मिल्ने गरेर खान दिनु पर्छ । यसका साथै मासुको सुप पनि बच्चाको लागि उपयुक्त हुन्छ । मासुमा भिटामिन ए, बी१२ आदि उपयोगी तत्वहरु प्राप्त हुन्छ । मासु हप्तामा एक पटक सेवन गर्नु आवश्यक छ ।
मटर: मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ । त्यसैले बच्चाको खानामा मटर समावेश गर्नु आवश्यक छ । मटरलाई जाउलोमा मिसाएर अथवा जुस बनाएर पनि खान सकिन्छ ।
आरु: आरु पौष्टिक गुणहरुले भरिपुर्ण छ । आरुमा अत्याधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ । यदि तपाईंको बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खाना दिन सकिन्छ । यसको मिल्क शेक बनाएर खान दिदा बच्चा रमाउँदै खान्छन् ।
नासपाती: बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नासपातीको स्वाद पनि मिठो हुनुको साथै यसमा फाइबर, आइरन, भिटामिन बी ६ र भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ ।
शखरखण्ड: शखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी ६, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्याधिक मात्रामा उपलब्ध पाइन्छ । त्यसैले बच्चा ६ महिना भएपछि शखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ ।
चिज: तपाईंको बच्चा ८ महिनाको भएपछि उसलाई चिज पनि खान दिन सकिन्छ । चिजमा फस्फोरस, क्याल्सियम र सेलेनियम प्रचुर मात्रामा हुन्छ । बच्चालाई चिज त्यसै पनि खान दिन सकिन्छ । यस बाहेक फ्रूट सलादमा पनि चिज मिसाएर बच्चालाई खान दिन सकिन्छ ।
बदाम: बच्चाको लागि बदाम अति नै उपयोगी हुन्छ । प्रारम्भमा बदाम, पेस्ता, काजु पीनेर दुध अथवा खानामा मिलाएर बच्चालाई खान दिन सकिन्छ । बच्चाले चपाएर खाने भएपछि बदामको लड्डु अथवा बर्फी बनाएर पनि खान दिन सकिन्छ । तर अत्याधिक मात्रा सेवन गर्नाले बच्चालाई नोक्सान समेत हुनसक्छ । त्यसैले यसलाई हप्तामा दुई पटक सेवन गर्न दिनुपर्छ । कुनै बच्चालाई बदामको सेवनले एलर्जीको समस्या पनि हुन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नु पर्छ ।