नेपाल कृषिप्रधान देश हो । हाल देशमा ६३ दशमलव ५ प्रतिशत रोजगारी कृषि क्षेत्रले दिएको छ । तर, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्न गई २६ दशमलव ५ प्रतिशतमा सीमित हुन पुगेको छ । मूलतः राष्ट्रमा करिब ३५ लाख हेक्टर जमिन खेतीयोग्य भएको अनुमान छ । तसर्थ, केही वर्षअघिसम्म देशका विभिन्न ग्रामीण क्षेत्रका केही घर कम्पाउन्ड र करेसाबारीमा सौखका लागि एक-दुई बोट रोपेको देखिने एभोकाडोको पछिल्लो समयमा व्यवसायिक खेती सुरु भएको छ । यसलाई ‘घीउफल ’ पनि भनिने गरिन्छ । यो एभोकाडोमा व्यवसायिक भविष्य देखेका कृषक यसतर्फ आकर्षित भएका छन् ।
यसबाट राम्रो आम्दानी हुने देखिएपछि मुलुकका कृषकहरु यस खेतीप्रति दिनप्रतिदिन आकर्षित हुँदै गएका छन् । यस खेतीबाट राम्रो बजार मूल्य र लामो उत्पादन अवधिका कारण पूर्वी नेपालका कृषकहरु सुन्तला र अरु नगदेबाली छाडेर एभोकाडो खेतीमा लागेका हुन् । वास्तवमा भन्ने हो भने केही वर्ष पहिलासम्म घर परिवारमा खान र आफन्तलाई कोसेलीका रूपमा दिन मात्र लगाइने गरेको यस फलको खेती विस्तार भएको थिएन । भर्खरैमात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो ।
देशमा रहेका विभिन्न किसिमका कृषि उपजहरुको योगदानलाई सामान्य रुपमा अवलोकन गर्दाखेरि कुल ग्रार्हस्थ कृषि उत्पादनमा विभिन्न बालीहरुको योगदान खाद्यान्न तथा अन्य बाली ४४ दशमलव ४९, तरकारी तथा नर्सरी ९ दशमलव ७१, पशुपालन ८ दशमलव शून्य ७, बन ८ दशमलव शून्य ७ र फलफूल तथा मसला बाली ७ दशमलव शून्य ४ प्रतिशत रहेको अनुमान छ । यसमध्ये एभोकाडो पनि एक किसिमको फलफूल हो । यो फलफूलको नाम नेपाली समाजमा कमै मात्रलाई थाहा छ । मुलुकमा यसको खेती कमै मात्रमा छ ।
यो फलफूल प्रायः विदेशीले मात्र खाने गर्छन् भने आजकाल नेपालीहरु पनि यस फलफूलप्रति बढी आकर्षित हुँदै गएका छन् । हाम्रो देशको कुरा गर्ने हो भने धनकुटा, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट लगायतका जिल्लाहरुमा एभोकाडाको खेतीहुँदै आएको छ । यसको खेती खासगरी तुषारो नपर्ने र हावा धेरै नलाग्ने ठाउँमा यसको खेती गरिने पाइन्छ । यो खेती एकपटक लगाएपछि धेरै वर्षसम्म फल दिइनै रहेको हुन्छ ।
यसको विरुवा सरकारी तथा निजी फार्महरुबाट सजिलैसँग किन्न पाइन्छ । देशमा एभोकाडाको बीउबाट विरुवा उत्पादन गरिए पनि अझै कलमी भने गर्न सकिएको छैन् । यसको विरुवा लगाउने समय मंसिर, पुस र माघ महिनाबाहेक अरु सबै महिनामा लगाउन सकिन्छ । यो विरुवा लगाएको ५-६ वर्षपछि यसले उत्पादन दिन थाल्छ । यसको विरुवा हेर्दा ज्यादै राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउने कार्य पनि गर्दछ ।
यसको बोट हेर्दा हरियो बोट, ठूला पात र फल लाग्दा हरियो लाम्चो हुने भएकाले एभोकाडो फल सहजै चिन्न सकिन्छ । यो फल पाकेपछि प्याजी रङको हुन्छ । यसको रुख ठूलो हुन्छ र जरा भने त्यति तलसम्म नजाने भएको हुँदा हावाहुरीले यसको बोट ढल्ने धेरै सम्भावना हुन्छ । यसको प्रति बोट ३० देखि १ सय किलोग्राम एभोकाडो उत्पादन हुने गर्छ । यसको खेती गर्दा एक बोटबाट अर्को बोटको दुरी ८ मिटर हुनुपर्दछ ।
एभोकाडोको बजार देशमा दिनहूँ बढ्दै गएको छ । हाल हाम्रो देशमा एभोकाडोको बजारलाई अवलोकन गर्ने हो भने धनकुटा, सर्लाहीको नवलपुर, काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा किन्न पाइन्छ ।
त्यस्तैगरी सानेपा, पुल्चोकस्थित नमस्ते सुपर मार्केट र भाटभटेनी सुपर मार्केटमा पनि किन्न पाइन्छ । यसको मूल्य भने विभिन्न स्थानमा विभिन्न किसिमको रहेको पाइन्छ । यसको सरदर मूल्य प्रतिगोटा सानो र ठूलोको ९५ देखि २ सय ७५ रुपियाँ सम्म पर्ने गर्छ । यसो हुनुमा यसको बजार प्रतिस्पर्धा नहुनु र निश्चित ठाउँमा निश्चित ग्राहकमात्र भएका कारणले गर्दा बजारको आकार सानै रहेको छ । यसले एभोकाडोको बजार अझैं व्यवसायिक बन्न नसकेको स्पष्ट हुन्छ ।
समग्रमा भन्नुपर्दा मेक्सिको र अमेरिका लगायतका देशबाट भित्रिएको बताइने यसको व्यवसायिक खेती समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिन्छ । यो फलको विरुवा रोपेको ४ देखि ६ वर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक सम्भावना रहेको कृषि सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको छ । यसमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडोको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । यस विरुवाको धेरै जातमध्ये हालसम्म हाम्रो देशमा भने एभोकाडोका १७ जात देखिएका छन् । यो खेतीमा लागेका कृषकहरुलाई हौसला दिन हावापानी अनुसार उपयुक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन जरुरी रहेको सम्बन्धित क्षेत्रको विज्ञहरुको भनाइ रहेको पाइन्छ । फलफूलको खपत नेपालमा बढ्दै गएको छ, तर अपेक्षित रूपमा उत्पादन बढ्न सकेको छैन ।
भारत र चीनबाट आयात हुने फलफूलमा नेपाल निर्भर हुँदै गइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैंची, सुपारी, आलु, केरा तथा कागतीको उत्पादनमा प्राथमिकता दिएको छ । गत आर्थिक वर्षमा यस परियोजनामा ४ अर्ब ७७ करोड विनियोजन गरिएको छ । देशमा फलफूलको तथ्याङ्क स्थितिलाई मध्यनजर गर्ने हो भने यसको क्षेत्रफल १ लाख १९ हजार १ सय १४ हेक्टर, उत्पादन १० लाख ९६ हजार ७ सय ७४ मेट्रिक टन र उत्पादकत्व ९ हजार २ सय ८ प्रति किलो हेक्टरमा भएको अनुमान गरिएको थियो ।
यसमध्ये यो एभोकाडो पनि एक किसिमको घिउ फल हो । यो खादा ज्यादै पोषिलो र तागतिलो पनि छ । नामैले घीउफल भएकाले बाहिरको पातलो बोका निकाल्न र भित्रको बीउ गेडा वरिपरि भएको क्रिमलाई झिकेर दूध वा दहीसँग फिटेर खानापछि खान सकिन्छ । आजभोलि तारे होटलहरुमा केरा, गाँजर, मेवा, सँग एभोकाडोलाई मिलाएर सलादको रुपमा मिसाएर खाने चलन बढ्दो रुपमा रहेको पाइन्छ ।
यस किसिमको घीउफलमा प्रतिसय ग्राममा १ दशमलव ७ ग्राम प्रोटिन, खनिज १ दशमलव १, फ्याट २२ दशमलव ८ ग्राम, फस्फोरस ८० मिलिग्राम र क्याल्सियम १० मिलिग्राम पाइने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । देशको हावापानीलाई हेर्ने हो भने यो फल ज्यादै नै उपयुक्त देखिन्छ । यहाँका मध्यम वर्गको लागि यसको खेती अति नै उपयोगि देखिएकोछ । आयआर्जन गर्नको लागि यसमा धेरै सम्भावना बोकेको देखिन्छ । यसको उपभोक्ताहरुको संख्या पनि दिनप्रतिदिन यस घिउ फलप्रति बढ्दो रुपमा रहेको पाइन्छ । उपभोक्ताको माग बमोजिम यसको बजार कम नै देखिएको पाइन्छ ।
अतः क्रमिक रुपमा यसको बजार पनि बिस्तार हुँदै गएको एकातिर छ भने अर्कोतिर बहुसङ्ख्यक व्यक्तिले यसको स्वाद मिठो मानेर यसको खोजीमा लागेको देखिन्छ । यसका लागि नेपाल सरकारले पनि बेलैमा यस खेतीको लागि चाहिने आवश्यक बीउ विजन, बेर्ना तथा आवश्यक सामग्रीको व्यवस्था गरिदिने हो भने यो फलप्रति कृषकहरु आकर्षित हुनेछन् । जसले गर्दा धेरै कृषकहरुको जीवीकोपार्जनका लागि यस खेतीले निकै नै सहयोग गर्न सक्ने कुरामा सम्बन्धित विज्ञहरुले औंल्याएका छन् । देशमा खाली रहेको भूमिको सदुपयोग एकातिर हुन्छ भने अर्कोतिर आयआर्जनको दरिलो स्रोत पनि हुन जाने कुरामा कसैको दुईमत नहोला ।