• मंसिर ११ २०८१, मंगलवार

कोरियाली प्रायद्वीपमा फैलंदो ‘अमेरिकी बारुद’ को गन्ध

चैत्र ५ २०७७, बिहीबार

अमेरिका र दक्षिण कोरियाबीच हरेक वर्ष हुने संयुक्त सैन्य अभ्यास यस वर्ष पनि हुने भएपछि कोरिया प्रायद्वीपमा यसलाई अमेरिकी बारुदको गन्धका रुपमा लिन थालिएको छ । दुई देशबीचको सैन्यअभ्यास सन्निकट हुँदैगर्दा उक्त सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले ‘कोरियाली प्रायद्विपमा बारुदको गन्ध’ को सांकेतिक नाम दिएको छ । साथै, उसले अमेरिकालाई यो गन्ध नफैलाउन चेतावनी पनि दिएको छ ।

उत्तर कोरियाको यो कडा आपत्तिलाई पश्चिमा देशहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन् । साथै, उत्तर कोरिया स्वयम्ले आफ्नो राज्यको निर्णयलाई सरकारी सञ्चार माध्यमबाट निकै जोड दिएर प्रचार गरिरहेको छ । त्यहाँको राष्ट्रिय समाचार संस्था सेन्ट्रल न्यूज एजेन्सीले अमेरिका–दक्षिण कोरियाबीच हुन थालेको संयुक्त सैन्य अभ्यासले सम्भावित सैन्य प्रतिकार निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङद्वारा जारी गरिएको एक विज्ञप्तिमा यस्तो संकेत आएको हो । उत्तर कोरियाले आणविक अस्त्रशस्त्र निर्माण गरेदेखि हालको समयसम्म उत्तर र दक्षिणका बीचमा धेरै शान्ति वार्ता र संवाद भएका छन् । यसले कोरियाली प्रायद्वीपमा शान्तिको वातावरण निर्माण गर्दै लगेको थियो ।

दुई कोरियाबीच सहसम्बन्ध :

यी दुवै देशले एकअर्काको सार्वभौम सत्ताको सम्मान गर्ने र आपसी शान्ति तथा मैत्री सम्बन्धलाई बढावा दिंदै जाने समझदारी पनि यी वार्ताका क्रममा भएको थिए । तर अहिले आएर दक्षिण कोरिया र अमेरिकाको बीचमा पुनः पुरानै खालको संयुक्त सैन्य अभ्यासले निरन्तरता पाउन थालेपछि उत्तरकोरिया आगो भएको छ । उसले यो सैन्य अभ्यासलाई दक्षिण कोरियाको ‘आक्रामक सैन्य नीति’का रुपमा अर्थ्याउन थालेको छ । यसले दुवै छिमेकीका बीचमा हुँदै आएको शान्तिपूर्ण पुनर्मिलन बैठकलाई प्रभावित पार्ने भनी उत्तरले आशंका व्यक्त गरिरहेको छ ।

यसको अग्रिम संकेतका रुपमा दुवै देशबीचमा हाल सञ्चालनमा आएको कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु बिघटन गर्ने बारेमा विचार गरिरहेको उत्तर कोरियाले जनाएको छ । यस अतिरिक्त उत्तर कोरियाले भनेको छ, यदि दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यासका बारेमा पुनर्विचार नगर्ने हो भने दक्षिण कोरियाका बारेमा बन्दै गएका पछिल्ला दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गरिने छ । यसै विषयमा केन्द्रित रहेर उत्तरले भनेको छ, दक्षिण कोरिया र अमेरिकाले उत्तरकोरियासँग थप आक्रामक रणनीतिको रबैया अपनाए भने आफूले उत्तर-दक्षिण सैन्य सम्झौतालाई समेत खारेज गर्ने बाध्यात्मक स्थितिमा पुर्याउने छ ।

कोरियाली प्रायद्वीपमा अमेरिकी मुकाम :

उपनिर्देशक किमका अनुसार अमेरिकाले कोरियाली प्रायद्वीपमा शान्ति देख्न चाहिरहेको छैन । यसै कारण कोरियाली शान्ति, मैत्री र भावनामा चोट पुर्याउने काम अमेरिकाले गर्दै आएको छ । अमेरिकी प्रशासनले विशेषतः उत्तर कोरियाको भावनाविपरीत दक्षिण कोरियाली सैन्य सुदृढीकरणलाई जोड दिइरहेको छ । यसको प्रत्युत्तरका लागि उत्तर कोरिया पनि आफ्नो सैन्यपक्ष बलियो बनाउन लागि पर्नेछ ।

हाल दक्षिण कोरियामा ३०,००० अमेरिकी सेना रहेका छन् । यिनै सेनाले हरेक वर्ष दक्षिण कोरियाली सेनासँग वार्षिक रुपमा संयुक्त सैन्य अभ्यास गरिरहन्छन् । यसलाई उत्तर कोरियाले अमेरिकी हस्तक्षेप र अतिक्रमकणको पूर्वतयारीका रुपमा लिने गरिहेको छ । यो वर्ष सोमवारदेखि गरिने संयुक्त सैन्य रिहर्सलप्रति उत्तर कोरियाको टिप्पणी नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको कार्यकाल सुरु भएलगत्तैको पहिलो गम्भीर चेतावनी हो । हरेक वर्ष यो रिहर्सल नौदिनसम्म चल्ने गरेको छ । कोरोना महामारीलाई मध्यनजर गरी यो वर्षको सैन्य रिहर्सल छोटो हुने बताइएको छ ।

कोरियाली अन्तरविरोधमा अमेरिका :

लामो समयदेखि अमेरिका उत्तर र दक्षिण कोरियाको अन्तरविरोधमा खेलिरहेको छ । यो खेल एशियामा अमेरिकी बर्चस्व कायम राखिराख्नका लागि मात्र नभएर उत्तर कोरिया र चीनका लागि घेरबन्दीका रुपमा समेत खेलिरहेको छ । उत्तर कोरियाका अनुसार यो भनेको कोरियाली जनताको शान्तिको चाहनामाथिको कठोर प्रहार हो । यस्तो कामबाट पछि हट्न उत्तर कोरियाले अमेरिकी प्रशासनलाई विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

हालको रिहर्सललाई कुटनीतिक प्रयास भनिए पनि यो आफैमा सैन्य तयारी पनि हो । यसैलाई उत्तर कोरियाले कोरियाली प्रायद्वीपको शान्तिमा खलल पुर्याउने अभियान भनिरहेको छ । उता अमेरिकाले भने यो सबै आणविक निशस्त्रीकरणका लागि गरिएको बताइरहेको छ ।

ट्रम्प-उन वार्ताको झलक :

सन् २०१९ फेब्रुअरीमा तात्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका बीचमा दुईपक्षीय वार्ता भएको थियो । यो वार्ता सिंगापुरमा भएको थियो । त्यतिबेला अमेरिकी प्रशासनको तर्फबाट ट्रम्पले उत्तरकोरियामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने बचन दिएका पनि थिए । तर त्यो कार्यान्वयन भने हुन सकेन ।