आउँदो दश वर्षमा चीनले चन्द्रमामा ‘चन्द्र स्टेशन’ बनाइसक्ने बताएको छ । यसका लागि आवश्यक पर्ने सामग्री, ओसार पसारका लागि चन्द्रयान र यसको मोडल निर्माणमा चिनियाँ अन्तरीक्ष प्रशासन जुटिरहेको छ । यो पृथ्वीको चन्द्रमामा हुन थालेको पहिलो स्टेशन हुने छ ।
अमेरिका मंगल ग्रहमा पुगेर आफ्नो वैज्ञानिक तथा प्रविधिगत श्रेष्ठता देखाउन लालायित भैरहेका बेला चीन भने पृथ्वीकै चन्द्रमामा आफ्नो श्रेष्ठता देखाउन बढी लागि परिरहेको छ । त्यसो त चीनले पनि अमेरिकालाई पछ्याउँदै मंगल ग्रहमा आफ्नो यान पठाइ सकेको छ र आउने मे र जुन महिनासम्म अवतरण गराउने कोशिसमा लागेको छ । चिनियाँ अन्तरीक्ष यान अहिले मंगलको कक्षमा सफलतापूर्वक पुगेर त्यसको परिक्रमा गरिरहेको छ ।
यता चन्द्रमामा चीनले लगानी गर्न मात्र थालेको होइन, बरु यहाँ स्टेशन नै निर्माण गर्ने योजनामा छ । पृथ्वीबाट देखिने उज्यालो भागमा अमेरिका र रसियाका यान पुगे पनि सधैं नदेखिने अध्यारो भागमा चीनले सफलतापूर्वक आफ्नो यान अवतरण गराएर सबैलाई आश्चर्यमा पारेको छ ।
यान अबतरणपछि त्यहाँ रोभरले काम गरिहेको छ । गत जनवरीमा मात्र चीनद्वारा प्रक्षेपित ‘चन्द्रमाकी देवी’ नाम दिइएको चाङ ए–४ले चन्द्रमाको उक्त अध्याँरो दक्षिण ध्रुवीय सतह चुमेको थियो । त्यसपछि त्यहाँको सतहमा एउटा रोभरले नियमित काम गरिरहेको छ । धेरै कुरा त खुलेका छैनन्, तर चीनले निकै आधुनिक उपकरणहरुको प्रयोग गरी चन्द्र सतहमा खोजिकार्य गरिरहेकोमा भने शंका छैन ।
अबका दिनमा चीनले मानवसहितको चन्द्र मिसन सफल पारेर चन्द्रमामा स्टेशन बनाएर त्यहाँ मानिसको पहुँच देखाउने भएको छ । मानिस पुगेर चन्द्र स्टेशन बनाएपछि यो नै पहिलो मानव निर्मित स्टेशन हुने छ । यसलाई चीनले अन्तरीक्ष अनुसन्धान स्टेशनका रुपमा प्रयोग गर्ने छ । यसका लागि युद्धस्तरमा तयारी पनि गरिइरहेको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको यो अनुसन्धान स्टेशनले अन्तरीक्षलाई नियाल्न निकै मद्दत पुर्याउने चिनियाँ वैज्ञानिकको प्रारम्भिक अनुमान छ । चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनका प्रमुख झाङ केइजियान आफूहरुले अघि बढाउँदै गरेको कार्यमा निकै आशावादी छन् । अहिले मंगलका लागि पठाइएको मार्स प्रोव लक्ष्यअनुसार आफ्नो गन्तव्यमा पुग्दै गरेकाले उनीसँग त्यो खुशी व्यक्त गर्ने शब्द नै नरहेको उनको दाबी छ ।
यही उभारसँगै अन्तरीक्ष स्टेशन निर्माणका लागि अर्को अन्तरीक्ष यान चाङ ए–५ चन्द्रमामा पठाइने छ । यसको तयारीका लागि चीनले सन् २०१७ देखि चन्द्रमाको नमूनाहरु संकलन गर्न थालेको थियो । त्यति बेला नै यान पठाउने प्रयास पनि भएको थियो । तर त्यसलाई पठाउनका लागि निर्माण गरिएको लङ मार्च–५ वाई–२ रकेट उद्घाटनकै क्रममा निस्फल भएकाले त्यो अभियान रोकिएको थियो ।
यी असफलताले चीनलाई धेरै राम्रा पाठ सिकाए । परिणमतः मंगल ग्रहमा यसले सफलतापूर्वक यान पठाउन सफता प्राप्त गरेको छ । चन्द्रमामा पनि हालसम्म कुनै पनि देश नपुगेको अध्यारो दक्षिणी ध्रुवमा यसले आफ्नो एकलौटी राज गर्न सुरु गरिसकेको छ । यसले सन् २०२२ सम्ममा स्वर्गको दरवार अर्थात् ‘हेभन्ली प्यालेस’ पठाएर मानिस त्यहाँ उतार्ने छ । यो प्रयास सफल भएमा चन्द्रमामा अन्तरीक्ष अनुसन्धान स्टेशन निर्माण कार्य सुरु गरिने छ । अहिले विश्वमा अमेरिका पछि चीनले नै सैन्य तथा विज्ञान प्रविधिमा अथाह राशी खर्च गर्ने गरिरहेको छ । यसले रसिया र जापानलाई त पछि पारिसकेको छ । अमेरिकालाई समेत आच्छुआच्छु पारिरहेको छ ।