• मंसिर ११ २०८१, मंगलवार

जसपालाई फुटबाट जोगाउन भारत सक्रिय

चैत्र ३ २०७७, मंगलवार

३ चैत्र, काठमाडौं । सत्ता गठबन्धनलाई लिएर चार ठूला पार्टीबीच राजनीतिक खिचातानी सुरु भएको छ । सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेपश्चात् साबिकका दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।

यी दुई पार्टी ब्युँतिएपछि देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला पार्टी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनलाई लिएर दिनहुँ आपसमा भेटवार्ता र छलफलमा तल्लीन छन् ।

तथापि सत्ता गठबन्धनका लागि काँग्रेस र जसपा निर्णायक मोडमा उभिएका छन् । यी पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छन्, उही पार्टीसँग सत्ता गठबन्धन हुने निश्चित छ । यद्यपि अहिलेसम्म सत्ता गठबन्धन वा साझेदारीका लागि काँग्रेस र जसपाले कुनै पार्टीलाई साथ दिएको छैन । तर, निरन्तर छलफलको क्रममा छन् ।

पछिल्लो विकसित घटनाक्रमलाई नियाल्दा, जसपाका केही नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्ष नेता एमालेसँग सत्ता गठबन्धनका लागि छलफलमा छन् भने पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता डा.बाबुराम भट्टराई माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ ।

जसपाभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा, वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुर एमालेसँग भेटवार्तामा छन् ।

पार्टीका वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच कुनै संवाद, छलफल भएको छैन । संवाद र छलफल बिनै एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गरेको भन्दै पार्टीभित्र विवाद सिर्जना भएको जसपाका एक नेताले बताए ।

ती नेताका अनुसार –‘भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टीभित्र विवाद उत्पन्न भएको हो । यसले पार्टीलाई कुनै राम्रो प्रभाव पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले भेटघाट र छलफलको वातारण तय गर्न सक्नुपर्छ । अन्यथा पार्टी दुर्घटनामा पर्ने सम्भावना देखिन्छ । प्रधानमन्त्रीको पद लोलुपतामा लाग्नुभन्दा पनि उहाँहरूले पार्टी दुर्घटना हुनबाट रोक्नुपर्छ ।’

भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले सरकार बनाउन सक्ने सम्भावना छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता टिक्ने छैन ।

उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई कुनै हालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ । तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन ।

तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने तयारीमा छन् । उनले केही दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए । भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए ।

ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीभित्रका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।

यी दुई नेताबीच सत्ता साझेदारीका लागि मत नमिल्दा पार्टी फुटको सँघारमा उभिएको देखेपछि भारत चनाखो बन्दै गएको छ । उसले जसपालाई सकेसम्म फुटबाट जोगाउन सक्ने सम्भावना देखिन्छ । किनकि जसपा एकढिक्का बनेमा भारतले जसपाको माध्यमबाट नेपालमा थप राजनीतिक एवम् रणनीतिक चलखेल गर्नसक्ने विज्ञको आकलन छ ।

पार्टी फुटको डिलमा पुगेपछि जसपाका दोस्रो तहका केही नेताहरूको भारत दौडाह सुरु भएको छ । यसभन्दा अगाडि उनीहरू बेला—बेला भारत पुग्ने गरेपनि यसपटक भने नेताहरू समयक्रम मिलाएर पटक—पटक भेट्न पुगेको स्रोतको दाबी छ ।

यस विषयलाई लिएर भारत पनि गम्भीर भएको ती नेता बताउँछन् । जसपा नफुटोस् भन्ने सोचेरै भारत निरन्तर सम्पर्कमा रहेको स्रोत बताउँछ भने जसपाका दोस्रो तहका नेताहरू पनि भारतसँग भेटवार्ता र छलफलकै क्रममा छन् । उसको चहाना सकभर जसपालाई फुटबाट बचाउनु नै हो ।