मेरो सुन्दरताको परिधिभित्र
तिमी मेरी मोनालिसा हौ
यदि मलाई माया गर्छौ र
मेरै हौ भन्छौ भने
मेरी मोनालिसा तिमी बन्नु पर्छ
सुन्दरताको परिभाषा मेरो आफ्नै छ
त्यसभित्र तिमी अटाउनु पर्छ ।
थाहा छैन मलाई
मोनालिसा केका लागि प्रख्यात छे
शायद
सर्जकको सुन्दर कलाकृतिका लागि
वा आँखाको गहिरो हेराईको लागि
वा ओठका रहस्यमय मुस्कानका लागि
हुन सक्छ स्वप्नशील ओठका लालिको लागि
सुन्दरता धेरै थरीका
परिभाषाका फरक तरिका
तर मेरो मोनालिसा
मैले चाहेजस्तै हुनुपर्छ
कहिले तिमी सपनीमा आऊ
कहिले लाजमा आऊ
जहिले आए हुन्छ
तर आउँदा मेरी मोनालिसा भएर आऊ ।
मेरो कल्पनामा मेरी मोनालिसा
जहिल्यै मोनालिसा जहिल्यै स्वप्नशील छे
उसले कहिल्यै रौद्ररूप ग्रहण गर्दिन
ऊ त जहिल्यै सौम्य छे, शान्त छे ।
धेरैलाई भन्ने गरेको छु
मेरो मोनालिसा अरूभन्दा फरक छे ।
मोनालिसाको अर्थ नै फरकपन हो
हरेकको हेराइमा मोनालिसा फरक हुन्छे
हरेकको सोचाइमा मोनालिसा भिन्न हुन्छे
तर मेरो परिभाषाभित्र
मेरी मोनालिसा
मोनालिसा जस्तै हुनुपर्छ
त्यसैले त मेरी मोनालिसा अरू भन्दा फरक छे
मेरी मोनालिसा मेरैजस्तो छे ।
गुप्तबहादुर रानाद्वरा लिखित ‘सप्तरङ्गी फूलहरू’ कविता संग्रहबाट ।