काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल-नेपाल समूहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको बताएका छन्। आज बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले आफूलाई कारबाही गरेर पार्टीबाट हटाएको स्मरण गर्दै सो कुरा बताएका हुन् ।
‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्षलाई कारबाही गरिएको थियो । महासचिवलाई हटाएको थियो । बाटै बाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतीका कुरा गर्ने ?’
अब पार्टीमा सबैले अनुशासित र विचारमा केन्द्रित भएर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ, संसद नियमावली छ, दलसम्बन्धी कानून छ, यो सबैतिर ध्यानाकर्षण गराउँछु ।’