१०४ वर्षे जहानियाँ राणाशासन विरुद्धमा नेपाली नागरिकले सङ्घर्ष गरे । फलतः ७ सालमा प्रजातन्त्र आयो । १७ सालमा गुमेको प्रजातन्त्र पुनर्स्थापनाका लागि नेपाली नागरिक फेरि सङ्घर्षको मैदानमा उत्रिए । ४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो । ५९ सालमा पुनः गुमेको प्रजातन्त्रलाई ब्याज समेत असुल गर्ने अठोटका साथ ५०औं लाख नेपाली नागरिक सडक उत्रिए । सडकमा लोकतान्त्रिक गणतन्त्रको सुनामी आयो ।
जनआन्दोलन सफल भयो । संविधानसभाको चुनाव भयो । नेपालमा गणतन्त्र पनि आयो । तर लोकतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि नेपाली नागरिकले व्यवहारमा लोकतन्त्रको छायाँ समेत पनि देख्न पाएका छैनन् । कागजीरुपमा गणतन्त्र आए पनि वास्तवमा नेपालमा माफियातन्त्र कायमै छ । अझ भन्ने हो भने गणतन्त्र आएपछि त माफियातन्त्र झन् मौलाएको छ ।
स्वास्थ्य क्षेत्र मेडिकल माफियाको हातमा छ । स्वास्थ्य क्षेत्रलाई मेडिकल माफियाबाट मुक्त गर्न दबाबस्वरुप प्रा.डा. गोविन्द केसी पटकपटक अनसन बस्नु परेको छ । शिक्षामा शैक्षिक माफियाको बिगबिगी छ । वन माफियाका कारण चुरे नाङ्गो भएको छ । खोलानाला जल माफियाको चुङ्गुलमा छ । ऊर्जा सङ्कट कहालिलाग्दो भएको छ । लहलह सुन फल्ने किसानका भूमि भुमाफियाको हातमा छ । माफियाको पहुँच नभएको कुनै क्षेत्र, पेशा र व्यावसाय छैन ।
डनहरु पालेर खासखास मानिसको राजनीति गर्ने दलका कारण नै देशमा लोकतन्त्र होइन, कि माफियातन्त्र कायम भएको हो । माफियातन्त्रको कारण नै काठमाडौं बसपार्कको फुटपाथदेखि सिंहदरबारको सत्तासम्म दलाल र दलालीले जरा गाडेको हो ।
जताततै भ्रष्टाचार नै भ्रष्टाचारकोे डङ्गुर थुप्रिएकाले यहाँ जुनसुकै काम गर्नका लागि पनि घुस दिनु परेको छ ।
नागरिकता निकाल्दा पनि घुस । पासपोर्ट बनाउनको लागि पनि घुस । श्रम स्वीकृति लिन पनि घुस । कर तिर्दा पनि घुस । जग्गा नपाउँदा पनि घुस । जग्गा दर्ता गर्दा पनि घुस । घरको नक्शा पास गर्दा पनि घुस । बिजुलीको मिटर राख्दा पनि घुस । टेलिफोन जडान गर्दा पनि घुस । पानीको धारा ठडाउँदा पनि घुस । पढ्न पनि घुस । जागीर खाना पनि घुस । ड्राइभिङ लाइसेन्स बनाउँदा पनि घुस । हस्पिटलमा भर्ना हँुदा पनि घुस । कुटिर धन्दा गर्न पनि घुस । विदेश जान खोज्दा पनि घुस । विदेशबाट फर्किदा पनि घुस ।
घुस दिएर पनि काम बने त हुन्थ्यो ? तर अहिले त घुस दिएर पनि काम बन्दैन । त्यसैले हिजोआज यहाँ इमानदारिताको परिभाषा नै अर्कै भएको छ । यहाँ इमानदार मानिस त्यो हो, जसले घुस खान्छ र काम गरिदिन्छ । एउटा बेइमान व्यक्तिले त मोटो घुस टन्न खाएर पनि कहाँ काम गरिदिन्छ र ?
समष्टिमा भन्नुपर्दा गणतन्त्रको नाममा संस्थागत हुँदै गएको लुटतन्त्रमा अहिले चोर, कामचोर र कमिसनखोरलाई हिराकटाइ छ भने आम नेपाली नागरिक स्वर्गजस्तो सुन्दर देशमा नारकीय जीवन बाँच्नु परेको छ ।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र जे आए पनि आममानिसको घरमा कहिल्यै सुख र शान्ति आएको छैन । आम मानिसको दुःखकष्ट, जीजीविषाको समस्या झन कष्टकर हुँदै गएको छ भने भ्रष्टाचारी, कालोबजारिया तथा मुट्ठिभरका मानिसका लागि गणतन्त्र झन् फलिफाप भएको छ । त्यसैले नेपाललाई सुन्दर, शान्त र सबै नेपालीको समृद्धशाली राष्ट्र बनाउने हो भने सबैभन्दा पहिला नेपाल सरकारले बरको रुखले झैं जरा गाडेको माफियातन्त्रलाई ढाल्न ठूलो हिम्मत गर्न जरुरी छ ।
भ्रष्टाचारी र कालोबजारीयाबाट देशलाई मुक्त गर्न आवश्यक छ । तर बिडम्बना के भने देशलाई सुन्दर, शान्त र समृद्धशाली बनाउन जे जे गर्न आवश्यक छ, त्यही त्यही हुन सकेको छैन ।
इतिहास साक्षी छ, गणतन्त्र आएपछि नेपालमा थुप्रै प्रधानमन्त्री तथा मन्त्रीहरु आए, गए । गोकर्ण विष्ट, लालबाबु पण्डित तथा गगन थापा आदिजस्ता केही नेतालाई छोड्ने हो भने अन्य कुनै पनि मन्त्रीले देशका आवश्यकता र जनभावना अनुसार काम गर्न सकेनन् । देश र आम मानिसको हितमा अर्जुनदृष्टि साँधेर भ्रष्टाचारको फोहोरमा झाडु लगाउने आँट गर्न सकेनन् । माफियातन्त्रलाई खतम गर्ने हिम्मत गर्न सकेनन् । जे जे काम गरे खासखास मानिसका लागि नै गरे । प्रत्यक्ष वा परोक्ष रुपमा माफियातन्त्रलाई मलजल नै हाल्ने कार्य गरे ।
देशमा तीन तहको सरकार छ । तर जनताको दुःखपीडा र समस्या उस्तै छ । जनताका आक्रोश बढ्दै गएको छ । जनताको यो आक्रोशलाई सम्बोधन नगरेर पार्टी सत्ताको फोहोरी खेलमा नै व्यस्त हुने, सरकार लुटमा नै मस्त रहने हो भने ठूलो राजनीतिक दुर्घटना हुने पक्का छ । त्यसैले नेपाली नागरिकलाई आशा र भरोसा दिलाउन भए पनि लौन अब केही त गर्नु पर्यो, देश र आम नागरिकको पक्षमा । देशलाई सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बनाउने अठोट र हिम्मतका साथ । छिटो ।