काठमाडौं । सर्वोच्च अदालतबाट विघटन बदर भएपछि सुरु भएको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव गर्नमै सीमित हुन पुगेको छ । फागुन २३ र २६ मा बसेको दुई बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेको छैन । फागुन २३ मा विवादित संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश पेस भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
दोस्रो बैठक १४ जना पूर्वसांसद र प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव गरेर टुंगिएको थियो । मंगलबार बस्ने तेस्रो बैठकमा पनि संविधानसभा सदस्यको शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची बनेको छ ।
संसद सचिवालयले मंगलबारको बैठकमा अध्यादेश पेस गर्ने, नेताहरुको संसदमा सम्बोधन गर्ने लगायत विषयमा छलफल गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको थियो ।
बैठकमा अध्यादेश पेस गर्न दलहरुबीच सहमति जुटेन । सरकारले गरेको विघटन अदालतले बदर गरे पनि संघीय संसद सचिवालयले बैठक राख्न आनाकानी गरिरहेको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।