• मंसिर १३ २०८१, बिहीबार

ओली-नेपाल विवादको चुरो : फागुन २८ को निर्णय र सामानान्तर कमिटी गठन

चैत्र २ २०७७, सोमबार

२ चैत्र, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालबीच निकै लामो समयपछि भेटवार्ता भएको छ ।

सोमबार (आज) एमाले मुख्यालय धुम्बाराहीमा ओली र नेपालबीच भएको भेटवार्ताका क्रममा निकै रस्साकस्सी भएको बुझिएको छ । यी दुवै नेताले आआफ्नै अडान लिएपछि वार्ता निस्कर्षहीन भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई फागुन २८ गतेको निर्णय सच्याउन आग्रह गरेका थिए । तथापि ओली उक्त निर्णयप्रति सकारात्मक नभएपछि वार्ता निस्कर्षमा नपुगेको नेपालनिकट नेताहरूले बताएका छन् ।

फागुन २८ गते केपी शर्मा ओलीले नेपाल पक्षलाई किनारा लगाएर एकलौटी निर्णय गरेको छन् । उनले पार्टीको विधान विपरीत सो निर्णय गरेको नेपालनिकट नेता भीम रावलले आरोप लगाए । रावलका अनुसार, –‘प्रधानमन्त्री ओलीज्यूले आफ्नो गुटको भेला गरेर निर्णय गर्नु भएको छ, त्यो कुनै हालतमा मान्य हुँदैन ।

त्यसका लागि सबैपक्ष बसेर छलफल अगाडि बढाउनु पर्छ । तर, उहाँले त्यसो गर्न सक्नु भएन भने हामी आइन्दा छलफलमा पनि बस्दैनौँ र भेटवार्ता पनि गर्दैनौँ ।’

त्यस्तै आजको भेटवार्ताको क्रममा ओली र नेपालबीच चर्को विवाद पनि भएको थियो । एकआपसमा भनाभन भएको स्रोतले बतायो । झन्डै एक घण्टा लामो समयसम्म ओली र नेपालले आआफ्नो पक्षसँग छलफल गरेका थिए । नेताद्वय ओली र नेपाल पक्षबीच आपसमा भएको उक्त छलफल पश्चात् उनीहरूले वार्ता सुरु गरेका थिए ।

वार्ता लामो समय चले पनि निस्कर्षमा भने पुग्न नसकेको दुवै पक्षका नेताले स्वीकारेका छन् । वार्ता निस्कर्षमा पुग्न नसक्नुको मुख्य चुरो भनेकै ओली पक्षले फागुन २८ गते एकलौटी एमाले पुनःगठन गर्नु हो । एमाले पुनःगठन गर्दा पार्टीको विधान विपरीत ओलीले एकाएक अध्यक्ष र महासचिव पदबाहेक अरू सबै पद खारेज गरेका छन् ।

ओली पक्षले फागुन २८ गते पार्टी पुनःगठनको निर्णय गरेपश्चात् नेपाल पक्षले पनि एमाले सामानान्तर कमिटी गठन गरेको छ । तथापि नेपाल पक्षले प्रदेश इञ्चार्ज, पार्टी विभागीय प्रमुख र प्रतिनिधिमात्रै तोकेको छ ।

आज दुवै नेताको भेटवार्ताका क्रममा ओलीले नेपालाई सामानान्तर कमिटी गठन पार्टीको विधान विपरीत भएको भन्दै यसलाई बदर गर्नुपर्ने अडान राखेका थिए भने नेपालले ओलीले फागुन २८ गते एकलौटी एमाले पुनःगठन गरेको भन्दै यसलाई पनि बदर गर्नुपर्ने अडान राखेका थिए ।

यद्यपि ओलीले एमाले पुनःगठनको विषयलाई पुनर्विचार गर्नुपर्ने बताए भने नेपालले यसलाई बदर नै गर्नुपर्ने अडान दोहोर्याको नेपालनिकट एक नेताले बताए । यी दुवै नेताले आआफ्नै अडान नछोडेपछि आपसमा भनाभनसमेत भएको वार्तामा संलग्न ओलीनिकट नेताले बताए ।

एमालेका युवा एवम् वैचारिक नेता घनश्याम भुषालले भने, –‘आजको वार्ताको विवादको चुरो भनेकै ओलीको फागुन २८ को निर्णय हो भने हाम्रो सामानान्तर कमिटी गठन हो ।’ पार्टीभित्रको यो गम्भीर मुद्दालाई अध्यक्ष ओलीज्यूले बेवास्ता गर्नुले विवाद नसल्टिएको उनको दाबी छ ।

अध्यक्ष नै पार्टी विघटनको पक्षमा उभिएपछि विवाद चुलिएको नेपालनिकट एक नेताले आरोप लगाए । पार्टीलाई एकढिक्का बनाएर लैजानुको साटो विभाजको डिलमा पुर्याउनुले पार्टी दुर्घटनामा पर्ने सम्भावना नजिक रहेको ती नेताले गोल मिडिया खबरलाई बताए ।