• मंसिर १७ २०८१, सोमबार

ख्याल गर्नुस् है ! मोबाइलले श्रीमान-श्रीमतीको सम्बन्ध बिगार्ला

चैत्र २ २०७७, सोमबार

विश्वमा प्रविधिको विकास र प्रयोग निकै तिब्र गतिमा अघि बढेको छ । यो सकारात्मक पक्ष हो । किनकि, यसले मानव जीवनलाई सजिलो बनाइदिएको छ । यो मानिसले पत्ता लगाएको संस्कृतिलाई धेरै भन्दा धेरै मानिसको हितमा कसरी प्रयोग गर्ने भन्ने कुरामा मुख्य हो । पछिल्लो चरणमा विकास भएको तपाईंले चलाउने मोबाइल अब कुराकानीको माध्यम मात्र रहेन । पृथ्वीको एक गोलाद्र्धबाट अर्को गोलाद्र्धमा भएका व्यक्तिसँग निमेष भरमै सन्देश आदनप्रदान गर्नेदेखि फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने, भर्चुअल कागजात संग्रह गर्ने, भिडियो हेर्ने, रेडियो सुन्नेजस्ता थुप्रैथुप्रै काम यही मोबाइलभित्र समेटिएका छन् ।

त्यतिमात्र होइन, व्यक्तिगत सुरक्षादेखि वित्तीय कारोबारसम्ममा मोबाइलकै उपयोग हुन थालेको छ । मोबाइल मानिसले बनाएको एक बहुउपयोगी प्राविधिक उपकरण हो । यद्यपि यो उपयोगी हुँदाहुँदै पनि यसका कतिपय नकारात्मक पाटा पनि । त्यसो त हरेक वस्तुका नराम्रा र राम्रा दुबै पाटा हुन्छन् । यसको अर्थ मोबाइल आफैमा खराब वस्तु भने होइन, तर यसको प्रयोगमा गरिने कतिपय असावधानी वा यसप्रतिको बढी नै आशक्ति अहिले धेरैको निम्ति समस्या बन्दै गइरहेको छ, खासगरी दम्पत्तिका लागि ।

नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भ‍र्याङ ।’ अर्को यस्तै उखान छ, ‘नपाउनेले केरा पायो, बोक्रासँगै खायो ।’ यसको अर्थ कुनैपनि वस्तुको उपयोगितालाई बुझ्नु भन्दा त्यसको दुरुपयोग गर्नु ।

के मोबाइलले दाम्पत्य जीवनमा खटपट ल्याउँछ त ?

मोबाइल अहिले शङ्का पैदा गर्ने माध्यम बनेको छ । शङ्काले सम्बन्धलाई सधै धरापमा राख्छ । दम्पतीबीच शङ्का पैदा हुने, मनमुटाव हुने, झगडा हुने निहुँ मोबाइलबाटै सुरु भएको पाइन्छ । जब श्रीमान् कार्यालयबाट घर र्फकन्छन् । श्रीमतीले उनको मोबाइल जाँच गर्न थाल्छिन् । दिनभरमा कसलाई फोन गरे, म्यासेज गरे, कोसँग फोटो खिचे इत्यादि । जब श्रीमती मोबाइल जाँच गर्न थाल्छिन्, श्रीमानलाई झोंक चल्छ । यदि उनले कुनै छलकपट गरेका छैनन् भने उनलाई झोंक चल्छ । यदि उनले श्रीमतीलाई छलेका छन् भने त्यहीँबाट झगडा सुरु हुन्छ ।

उनीहरुबीच विश्वासको वातावरण रहँदैन । जब दाम्पत्य सम्बन्धमा विश्वास टुट्न पुग्छ, कलह त्यहीँबाट सुरु हुन्छ । श्रीमतीले मात्र होइन, श्रीमानले पनि श्रीमतीको मोबाइल कलमा सन्देह गर्न थाल्छन् । श्रीमतीले कसलाई कल गरेकी छन्, किन गरेकी छिन् सोधीखोजी सुरु हुन्छ । हुन त आपसी शङ्का मेट्नका लागि यस किसिमको संवाद हुनुपर्छ पनि । यद्यपि कहिलेकाहिं यसमा श्रीमान् र श्रीमती दुबैको धैर्यता रहँदैन । उनीहरु एकअर्कालाई शङ्कालु व्यवहार गर्छन् र तर्कबितर्क गर्न थाल्छन् । यसले झगडाको रुप लिन्छ । यी त भए एकअर्काप्रति गर्ने शङ्का । मोबाइलले दम्पत्तीबीच अर्को समस्या पनि थपिदिएको छ, उपेक्षाको ।

जब श्रीमान वा श्रीमतीको हातमा मोबाइल हुन्छ, उनीहरु आफ्नै संसारमा मग्न हुन थाल्दछन् । फेसबुक चलाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो हेर्न इत्यादि गतिविधिमा लिप्त हुन्छन् । कतिसम्म भने शयन कक्षमा पुगिसकेपछि पनि उनीहरु मोबाइलमै झुन्डिन्छन् । आपसी संवाद हुँदैन । एउटाले अर्कोलाई पूर्ण बेवास्ता गरिदिन्छ । जब दम्पत्तीबीच संवाद हुँदैन, अन्तरङ्गको पल पातलिदै जान्छ, उनीहरुको प्रेम फिका हुँदै जान्छ ।

त्यसैगरी मोबाइलमा लिप्त भइरहँदा एकअर्काप्रति आशङ्का पनि बढ्न थाल्छ । खासगरी फेसबुकले यस्तो आशङ्का पैदा गरिदिन्छ । फेसबुक पनि अहिले दम्पत्तीबीच कलहको बीउ बन्दैछ । सबै दम्पत्तीको स्वभाव र रुची पनि एकनास हुँदैन । कोही गीत सुन्न रुचाउँछन्, फिल्म हेर्न रुचाउँछन् । कसैलाई भने यी सबै कुरामा रुची हुँदैन । श्रीमान् र श्रीमतीबीच यस किसिमको विजातीय स्वभाव छ भने यसले झगडा निम्त्याउँछ । अरु बेला त यसले खास फरक पार्दैन । तर, जब दम्पत्ती शयन कक्षमा हुन्छन्, त्यसबेला एउटा पार्टनर गीत सुन्न, भिडियो हेर्न थालेमा अर्कोलाई बाधा पुग्छ । यसरी मोबाइलकै कारणविपरीत रुची प्रकट हुने हुँदा उनीहरुबीच भनाभन सुरु हुन्छ ।

खासमा मोबाइल अति उपयोगी उपकरण हो । यद्यपि यसको प्रयोगमा केही सीमा र सर्तहरु पालना गर्नुपर्छ, खासगरी दम्पत्तीले । नभए यो झगडाको निहुँ बन्न सक्छ ।

(विभिन्न पत्रपत्रिकाबाट)