• मंसिर ११ २०८१, मंगलवार

चर्चामा गाउँ र सहरको विभेद खुट्याउने गीतः ‘रेलको बाटो’ (भिडियो)

चैत्र २ २०७७, सोमबार

काठमाडौँ,

सामाजिक संजाल युटुवमा एउटा गीतले दर्शक स्रोतामाझ लोकप्रियता कमाएको छ । ‘रेलको बाटो’ बोलको गीत नेपालको वर्तमान समय सापेक्ष समेत रहेको छ । नेपालको विकट ठाउँ हुम्ला र काठमाडौँलाई लिएर तुलना गरेको जस्तो गरेर सिर्जना गरिएको सो गीतमा विकट हुम्लाका दुःखका कथा, व्यथा र काठमाडौँका सुख सुविधालाई शब्दमा उनिएको छ ।

‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा, हुम्ला कैले मोटर आउला बसेको छु हेर्ने रहरैमा’ भन्दै काठमाडौँमा रेल कुदाउने कुरा गर्ने सरकारले आफ्नै देशको विकट हुम्लामा एउटा मोटर जस्तो आधारभूत कुरा समेत पुर्याउन नसकको यथार्थलाई गीतमा व्यक्त गरिएको छ । देश विकास गर्छौं भनेर जनताको भोटबाट चुनिएर काठमाडौँ आइसकेपछि जनप्रतिनिधि भनिएकाहरुले जनतालाई भुलेर सुविधा सम्पन्न ठाउँमा नै रमाउँदा नेपालमा विकट गाँउका मानिस सिटामोलको अभावमै मर्ने कुरालाई औंल्याएर चोट लागेपनि भोक लागेपनि जनता रोई बस्नुपरेको वास्तविकतालाई गीतको शब्दमा उनिएको छ ।

गीतले भन्छ ‘सिटामोलको अभावैमा मर्नुपर्ने कोही, चोट लागे, भोक लागेपनि बस्नुपर्ने रोइ’ हजुर…..। सुविधा सम्पन्न ठाउँहरुमा बाटाहरु काला होलान्, चिल्ला होलान् भनेर कल्पना गर्दै विकट ठाउँमा बसेको मानिसले कल्पना गरेजस्तो, गाँउमा भने तुइन् चढेर विद्यालय जाने बाध्यता रहेको यथार्थतालाई व्यक्त गरिएको छ । दुर्गम गाउँमा नूनको भारी पिठ्युमा बोक्दा शिरमा नाम्लो लगाउनु पर्ने बाध्यता नहटेको कुरा इंगित गर्दै गीतकार लेखराज गिरीले लेखेका छन्,‘गाउँमा खच्चडले गाडी मोटरको काम गरिरहेका छन् र मानिस खच्चडसँगै भीरमा हिडिरहेका छन्’ गाउँका निमुखा महिला र सहरमा बसेका शासक महिलालाई तुलना गरेर गीतले भन्छ,‘दाउरा घाँस खालीखुट्टा छैनन् चप्पल जुत्ता, रातो कार्पेट ओछ्याउँछन् रे ! तिम्ले हिंड्दा उता’ ।

सुरज पण्डितले स्वर दिएको यो गीतमा पण्डित स्वयमकै संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोको छायांकन ट्राभलर अविनाश, रेशमराज रोकाया, दाने बोहरा र हरिश महराले गरेका छन् । सुरज पण्डित आफैले निर्देशन गरेको उक्त गीतको भिडियो लोकेश भाटले सम्पादन गरेका हुन् ।

वरल्ड कभर मिडियाले दृश्य निर्माण गरेको सो गीतको भिडियोलाई सुरज पण्डित र लेखराज गिरीको प्रस्तुतीमा सुरज पण्डित युटुव च्यानलबाट झण्डै महिना दिन अघि सार्वजनिक गरिएको हो ।

यो सामग्री तयार पार्दासम्म सो भिडियोलाई ६ लाख ३५ पाँचसय ५५ जनाले हेरिसकेका छन् भने ३,६३७ जनाले भिडियो हेरेर टिप्पनी गरेका छन् ।

हेरौ भिडियो ⇓