• मंसिर ११ २०८१, मंगलवार

उघारिंदै हिमाली पर्यटन, धमाधम आउँदै विदेशी पर्यटक

चैत्र २ २०७७, सोमबार

कोरोना महामारी सुरु भएको एक वर्षपछि नेपालमा हिमाली पर्यटनको ढोका खुल्न थालेको छ । पश्चिमा तथा खाडी देशहरुले नेपाललाई ‘कोरोना जोखिम क्षेत्र’मा राखेपनि त्यहाँबाट हिमाली पर्यटनका लागि आउने पर्यटकको संख्यामा क्रमशः बृद्धि हुन थाल्दा यो आशा थप बढेर गएको हो ।

पहाडी तथा मैदानी भागमा रहेका पर्यटकीय गन्तव्यका लागि त्यति धेरै संख्यामा पर्यटकले रुची नदेखाए पनि उच्च हिमाली क्षेत्रका लागि भने भ्रमणार्थ धमाधम नाम दर्ता गर्न थालेका छन् । सगरमाथा आरोहणका लागि अहिले ३०० जनाले आफ्नो नाम दर्ता गराइसकेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

सगरमाथाका तुलनामा अन्य हिमचुचुरा आरोहणका लागि भने त्यति बढी चासो देखाइएको छैन । तर हालसम्म आरोण गरिदै आएका हिम चुचुराका आरोहणका लागि नाम लेखाउनेको संख्या भने शुन्यतामा झरेको छैन । सगरमाथापछि आरोहणका लागि परेका हिम चुचुराहरुमा नुप्त्से, मनास्लु, अन्नपूर्ण तथा धौलागिरि आदि रहेको पर्वरोहण संघले जनाएको छ । यी चुचुरा आरोहणका लागि कम्तीमा ७०० जनाले नाम दर्ता गरिसकेको र उचित समयमा उनीहरु आरोहणका लागि प्रस्थान अनुमति दिने जानकारी समेत गराइएको छ ।

कोरोना महामारी फैलिइरहेका बखत नेपाली हिम चुचुरामा आरोहणका लागि यस्तो उत्साह देखिनु आफैमा शुभ संकेत हो । यसको पछाडिको कारण अब मानिसहरु कोरोना महामारीसँग बाँच्न र सँगै अघि बढ्न सिक्न थालिसके । मानिसको सोचका साथै आनीबानी पनि महामारीसापेक्ष हुँदै जान थालिसकेको देखिन्छ । अर्को कुरा मानिस महामारीको उकुसमुकुसबाट बाहिर निस्कन चाहिरहेका छन् ।

पछिल्ला दिनहरुमा पदयात्रामा पनि बृद्धि भैरहेको छ । पदयात्राको क्रममा कमी आए पनि शुन्य भने भएको थिएन । तर यो सिजनबाट पदयात्रामा पनि बढोत्तरी हुने भएको छ । पदयात्रीको संख्यामा बृद्धि हुन थालेपछि ट्रेकिङ असोसियसन पनि काममा व्यस्त हुुन थालेको छ ।
हाल नेपालमा आएका विदेशी पर्यटकहरुलाई पाँच दिनसम्म क्वारेन्टाइनमा रहने मापदण्ड बनाइएको छ । पर्यटन व्यवसायीले यो मापदण्ड घटाएर तीनदिन मात्र क्वारेन्टाइनमा बस्ने बनाएमा त्यो सहज र बढी व्यवहारिक हुने बताउँदै आएका छन् ।