• मंसिर ११ २०८१, मंगलवार

सुखको जिन्दगी जिउन खोज्दा गाउँमा पनि बढ्दैछन् मुटु रोगी

चैत्र २ २०७७, सोमबार

पहिले सहर सहरमा मात्र देखिने मुटु रोगीहरु अब ग्रामीण इलाकामा पनि देखिन थालेका छन् । ग्रामीण इलाकामा त मुटु रोगीको संख्या कल्पना गरेभन्दा पनि बढी छ । यो दिनदिनै बढ्दै गैरहेको छ । हाल नेपाली ग्रामीण इलाका मुटु रोगका कारण चिन्ताजनक अवस्थामा पुग्न थालेको छ ।

यसको पछाडिका कारण भनेको ग्रामीण इलाका सहरीकरण भएर, त्यहाँका मानिस मोटा भएर वा त्यहाँका मानिसमा ब्लड प्रेसर भएर होइन, बरु ती ग्रामीण इलाकामा सहरीया सेवा र सुविधा पुगेर यस्तो हालत बेहोर्नु परिरहेको हो ।
अहिले ग्रामीण इलाकामा घरघरमा मोटरे बाटो पुगेको छ । मानिस थोरै पनि हिंड्न र डुल्न छाडिसकेका छन् । हरेकका घर पक्की र ढलान गरिएका छन् । गाउँ आफैमा प्राकृतिक देखिए पनि मानिस निकै कृत्रिमतामा रमाउन थालेका छन् । दाउराले खाना पकाउन छाडेका छन् । उनीहरुले ग्यास प्रयोग गरिरहेका छन् ।

यसले गर्दा मानिस काम गर्न र सामान्य हिँडडुल गर्न पनि छाडेका छन् । उनीहरुले खेतीपाती गर्न पनि छाडेका छन् । जमिन बाँझैं छन् । गाई र अन्य वस्तुभाउ पनि पाल्न छाडेका छन् । परंपरागत तथा ‘अग्र्यानिक’ खेतीपाती पनि गर्न छाडिसकेका छन् ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्– ‘गाउँ निकै रमणीय छन्, प्राकृतिक पनि छन्, हावापानी निकै शुद्ध र सफा पनि छ तर विकासका नकारात्मक कारणले गाउँका मानिस मुटुरोगबाट ग्रस्त हुन पुगेका छन् ।’ डा. रेग्मीका अनुसार हरेक कुराका सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन् । गाउँमा विकास हुनु बाटो पुग्नु र अन्य सेवासुविधा पाइनु राम्रो कुरा हो । तर यसका नकारात्मक पाटाहरु पनि छन् । यसले गर्दा मानिस रुग्ण, रोगी र कमजोर हुँदै गैरहेको छ । गाउँमा खेती गर्न छाड्नु र हिंड्न छाड्नुका कारण मुटु रोगीको संख्यामा बृद्धि भएको डा. रेग्मीले ठोकुवा गरेका छन् ।

यसका साथै सहरी संस्कार पनि गाउँमा पसिसकेको छ । मानिसले पाल टाँगेर भोजभतेर गर्ने गरिरहेका छन् । जंक फुडको ओइरो लागेको छ, गाउँतिर । रक्सी, चुरोट, खैनी, पान र सूर्तिको चलन पनि बढ्दै गएको छ । यसले ग्रामीण जनतामा जीवनस्तर नै भिन्न बन्न थालेको छ ।

मानिसमा अत्यधिक मोटोेपन देखिन थालेको छ । सुगर र थाइरोइडबाट गाउँका मानिस पनि ग्रस्त हुँदै गैरहेका छन् । मानिसमा तनाव बढिरहेको छ । यसको व्यवस्थापनका लागि कुनै पनि उपाय सुझाइएको छैन । मानिसले वैकल्पिक उपाय पनि अपनाएको देखिंदैन ।

डा. रेग्मीका अनुसार यी सबै कारणले मानिस मुटुरोगी बन्दै गएको छ । उनी थप्छन्–‘हामी पूर्वखोला गाउँपालिकामा स्वास्थ्य शिविर लिएर गयौं, त्यहाँ बिरामीको जाँच गर्दा अत्यधिक मानिसमा हृदय रोग भएको पायौं । हामीलाई आश्चर्य पनि लाग्यो, किन यति धेरै मुटुरोगी देखिए यी ग्रामीण वस्तीमा !’

ती ग्रामीण बस्तीमा हाल मानिसको जीवन पद्धतिमा भिन्नता आएको छ । दैनिक क्रियाकलापमा फरकपन देखिन थालेको छ । बिहानदेखि साँझसम्म काम गरेर बिताउँदै आएका गाउँलेहरु अहिले काम गर्न छाडेका छन् । यसरी गाउँले जीवन पद्धतिमा एक्कासी आएको परिवर्तनले मानिसलाई रोगी, अस्वस्थ र अल्छी बनाएको छ ।

ग्रामीण जीवनाका बारेमा डा. रेग्मी भन्छन्- ‘गाउँमा बाटो पुगेको छ, विकासे मल हालेको चामल पुगेको छ । तरकारी पनि विषादि प्रयोग भएको बजारीया पठाइने गरिएको छ । पूर्वखोला गाउँपालिकाका ७० प्रतिशत मानिस वैदेशिक रोजगारमा गएकाले त्यहाँको जीवन परनिर्भर बन्दै गएको छ ।’ डा. रेग्मीका अनुसार जीवनपद्धतिमा आएको यो बदलावले गाउँले जनतामा हृदय रोगको मात्रा निकै बढाइरहेको छ ।