• मंसिर १३ २०८१, बिहीबार

जसपा अध्यक्ष ठाकुर सुटुक्क भारतीय दूतावासमा

चैत्र १ २०७७, आईतवार

काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुर लैनचौरस्थित भारतीय दूतावास गएको समाचार बाहिरीएको छ । २८ गते शुक्रबार उनी भारतीय दूतावास गएको समाचार जनआस्थाले प्रकाशन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारीको निम्ति धेरै चरणको कुराकानी गरिसकेका ठाकुरलाई पार्टीभित्रै र नेपाली काँग्रेस तथा माओवादी केन्द्रबाट ओलीको विकल्पमा खुट्टा टेक्न आग्रह आइरहेको सन्दर्भमा राजदूत विनयमोहन क्वात्रासँग भएको त्यस दिनको डेढघण्टा लामो भेटलाई अर्थपूर्ण ठानिएको छ । यता, सिंहदरबारस्थित संसद सचिवालय हातामा रहेको जसपा संसदीय दलको कार्यालयमा पूर्वसंघीय समाजवादी दलका सांसदहरूको छुट्टै भेटघाट भइरहेको छ ।

पूर्वराजपा समूहले आफ्नै ढंगले सत्ता समीकरणको निम्ति पहल गरेपछि काउण्टरमा समाजवादीका सांसदहरूले पनि उक्त प्रक्रिया अघि बढाएका हुन् । प्रधानमन्त्री ओलीलाई साथ दिने सम्बन्धमा ग्रिन सिग्नल लिन महन्थ लैनचौर गएकै समयमा बालुवाटारमा ओलीले एमालेका निर्वाचित पदाधिकारीको जिम्मेवारी चैट बनाइदिएका छन् । सरकार टिकाउन राजपा समूहको १७ जना सांसद भित्याउने तयारी गरिरहँदा प्रधानमन्त्रीले आफ्नै दलका ४० जना सांसदलाई चिढ्याएका छन् ।

त्यसैगरी माओवादी केन्द्रको पेरिसडाँडामा बसिरहेको केन्द्रीय समितिको बैठकले सरकारमा रहेका तर पार्टी छाडेर एमाले केन्द्रीय सदस्यको जिम्मेवारी लिएका सबैलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । पार्टीले निर्वाचन आयोग र संसद सचिवालयमार्फत् ती माननीय संसद सदस्य नरहेको औपचारिक जानकारी गराएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।