सिराहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
बम विस्फोट भएको स्थलमा गोइत समूहको पर्चा भेटिएकाले सोही समूहले कुकर बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आइतबार दिउँसो भएको सो विस्फोटमा परी आठ जना घाइते भएका छन् । घाइतेहुनेमा दिनेशकुमार भण्डारी, कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर छन् । घाइतेमध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए। उनको थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिरहेको डीएसपी शर्माले बताए।
प्रहरीका अनुसार विस्फोट भएको बम कुकर बम हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।