२१औँ शताब्दीको विकसित युगमा पनि नेपालमा धेरै मानिसहरु विभेदमा बाँच्न बाध्य भएका छन् । दलित समुदाय शान्ति र सुन्दरभूमिमा रहेको नेपाली समाजमा जातीयताका नाममा पशुभन्दा पनि निच व्यवहार सहेर बाँच्न बाध्य समुदाय हो ।
विदेश गएको बेला हामी नेपाली हौँ भनेर पहिचान दिन सकिन्छ तर नेपालमा भने नेपाली हौँ भनेर भेदभावबिना पहिचान दिन किन सकिँदैन ? यसको कारण जात हो । जातकै कारण राज्यका अंगहरुमा विभेद र समाजमा पनि दुव्र्यवहार गरिन्छ र जबरजस्ती सहन बाध्य पारिन्छ भने अब यस विषयमा सबैले सोच्नै पर्ने हुन्छ र जवाफ दिनैपर्ने हुन्छ ।
वि.सं १९०३ मा कोतमा हत्याकाण्ड मच्चाएर प्रधानमन्त्री बनेका जङ्गबहादुर राणाले वि.सं १९१० मा मुलुकी ऐन जारी गरे । त्यसपछिको नेपाली समाज छुवाछुतको जालो झन व्यवस्थित भयो र त्यो जालो नेपाली समाजमा नराम्रोसँग जेलियो । प्रत्यक समाज, टोल र प्रत्यक घरहरुमा त्यो जातीय विभेदको जालो व्याप्त भयो । त्यो कानुनले अत्यन्तै विस्तृत ढङ्गले प्रत्यक जातका अधिकार किटान गरिदियो । त्यसैको आधारमा दलितहरुलाई अहिलेसम्म नेपालमा जातीयताको पगरी लगाइदिएको छ ।
यतिसम्म कि वि.स.१९१० को मुलुकी ऐनले कुन जातको मानिसले कसको जुठो खान हुने, कुन जातको मानिसले कस्तो जुठो खान नहुने भनेर समेत कानुनमै लेखियो र त्यो कानुनलाई लागु समेत गरियो । त्यो कानुन लागु नगर्ने र नमान्नेलाई कारवाही गरियो ।
तर नेपालमा दलितमाथी मात्रै जातीय छुवाछुत छैन । हरेक जाति हरेक जाति भन्दा कि माथी छ कि तल छ ।
यसो गर्दा उपाध्याय बाहुन जैशी बाहुन भन्दा ठूलो छ । क्षेत्री पनि ३ थरी छन् । उनीहरु बाहुन भन्दा तल छन् । वैश्यहरु क्षेत्री र बाहुन भन्दा तल हुने नै भए । दलितहरुको कुरै छोडौं, माथी भनिएका सबै भन्दा तल त दलितहरु नै छन् । धेरै जातिका मानिसहरु हुनु आफैमा नराम्रो होइन, किन कि सबैले यो साझा सधर्तीमा सबैको बाँच्ने अधिकार छ तर विभेदपूर्ण तरिकाले होइन ।
नेपालमा धेरै प्रकारका जाति तथा भाषिक समुदाय छन् । जंगबहादुर राणाले जारी गरी लागु गरेको मुलुकी ऐनले नेपालका सबै जातिलाई निश्चित तहगत कानुनी व्यवस्थामा रहने गरी किटान गरेको कारणले त्यो विभेदकारी छ । विविध जातिहरुले पाउने राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार पनि तहगत रुपमा निर्धारण गरिदियो । नेपालको कानुनमा शिल्पकार विश्वकर्मा जातिलाई पनि अछुत समुदायमा धकेलिदियो ।
सो ऐनले समाजको सबैभन्दा तल्लो तहमा ‘अछुत’ समुदायलाई राख्यो । लमो समयको संघर्षका कारण अहिले जङ्गबहादुरको मुलुकी ऐन परिमार्जन भएर लोकतान्त्रिक संविधान बनेको छ । तर पनि आजको संविधान, संविधान बनाउने नेता, कर्मचारी र नेपाली समाजमा भने त्यसको नकारात्मक असर अझै बाँकी नै छ । देशको संरचना परिवर्तन भयो, देश राजतन्त्रको अन्त्यपछि गणतान्त्रिक व्यवस्थामा गयो । तर पनि आजको नेपाली समाजमा देखिने विभेदले ती परिवर्तनहरुलाई छोपेको छ । फलस्वरुप कुनै परिवर्तन नै हुन सकेको छैन जस्तो भान भइरहेको छ ।
जातीय विभेद मानव निर्मित समस्या हो । एउटा मान्छेले अर्को मान्छेलाई दबाएर राख्न र ऊमाथी शोसन गर्न बनाइएको नियम हो । यो नियमलाई मानिसले बनाएको भएपनि र त्यसलाई मानिसले नै हटाउन सकिन्छ । हाम्रो समाजमा दलित शिल्पकारको आफ्नै पहिचान छ । दलित जाति होला तर अछुत होइन भन्ने कुराको ज्ञान सबैसमक्ष पुर्याउन आवश्यक छ ।
यही विविध विषयवस्तुलाई लिएर दलित समुदायले पनि एक सङ्गठनको स्थापना गरी छुुवाछुतविरुद्ध संस्थागत थालनी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । वा भएकै संगठनहरुलाई कृयाशील बनाएर जागरण अभियानमा लाग्नु पर्ने भएको छ । यसका लागि अझै पनि हामी एकहुन ढिलाई गर्दै गयौँ भने हाम्रो लक्ष्य २०औँ वर्ष पछाडि जानेछ ।
कामीको सीपले नेपाल जोडियो । दमाईको सीपले नेपालीलाई पहिचान दियो ।
सार्कीको सीपले हरेक पाइलामा काँडा बिझ्न दिएन, जुत्ता सिलायो । दुःखको कुरा जसको सीपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदायलाई अछुत बनाएर जंगलको छेउतिर लखेटिएको छ । कामीसँग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे, होइन र ? नेपाल देश बनाउँदाको इतिहास हेर्यो भने दलितले बनाएका औजार र हतियारका सामु विदेशी शक्ति टिक्न सकेन । के कामीसँग हतियार बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला ? कल्पना पनि गर्न सकिन्न ।
यहाँ हरेक जाति र हरेक समुदायको आआफ्नै संस्कृति छ । यसलाई हामी हाम्रो पहिचान भनी गर्व गर्छौं तर यो संस्कृति र पहिचान निर्माणमा दमाईको पनि योगदान भनेर भन्न किन भुल्यो ? हरेक जातजातिको भेषभुषाको परिकल्पना निर्माण त आखिर दमाईले नै होनी गरेको हो नी । होइन र ? अहिले नेपाली समाजमा दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता बनाउने अछुत भएका छन् ।
दमाइले सीप लगाएर सिलाएको लुगा चोखो हुने, दमाइले बजाउने नौमति र पञ्चे बाजा घन्किंदा सबलाई आनन्द हुने, दमाईले सिलाएको ढाका टोपीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने तर त्यही टोपी सिलाउने दमाई अछुत बन्नु पर्ने बाध्यता किन बनाइयो ? यो व्यक्तिले होइन राज्यसत्ताले बनाएको हो । पछि व्यक्तिले लागु गरे र गर्न लगाइयो । कतै जाँदा ‘दमाईलाई देखे साईत पर्छ’ भन्ने समाजले त्यही दमाईलाई सधैको लागि अछुत बनाएर किन राख्यो ?
यी र यस्तै कारणले तथा सीप भएका र सोही सीपलाई सम्मान गर्न नसकेका कारण अहिले दमाईहरुले बजाउँदै आएका मौलिक बाजागाजा लोपहुँदै गएका छन् ।
वैज्ञानिक सीप भएका व्यक्तिहरुलाई कथित ठूला भनिएका जातका मानिसले छुन नहुने बनाइयो । उनीहरुसित भएका सीपहरु खोसियो । अन्य जातका मानिसलाई सीपको काम गरिदिए वापत पाउनुपर्ने श्रमको कुनै मूल्याकंन भएन । विष्टहरुले जे जति दिन्छन् त्यसैमा मन बुझाउनु पर्ने अवस्थामा पुर्याइयो ।
नेपालमा समाज विकासमा र मानिसहरुको दैनिक जीवनमा आइपर्ने आवश्यक सामानहरु बनाउने काममा योगदान दिने बढि दलितहरुको नै छ । तरपनि उनीहरुलाई कामको उचित ज्याला भने दिइएको छैन । राज्यले नियम बनाएर ज्याला तोकेको छ तर लागु भएको छैन । ज्याला उचित नदिने मात्रै होइन सुविधाबाट पनि बञ्चित गरिएको अवस्था छ । अछुत कोही छैन, कोही उच्चनिच हुंदैन भन्ने कुरा इतिहासकारहरुले पनि वर्णन गरेको पाइन्छ ।
त्यसबेलादेखि अहिलेसम्म अछुतो जाति बनाइएको शुद्र वा दलितको भूमिका महत्वपूर्ण रह्यो । शरीरमा लगाउने कपडादेखि भान्सामा चाहिने विभिन्न सामग्रीहुँदै मन्दिरमा बजाउने घण्टसम्मको निर्माणमा प्रमुख भूमिका दलितहरुको नै रह्यो । त्यही घण्ट हिन्दु मन्दिरमा शुद्ध भयो, तर घण्ट बनाउने शिल्पीकार अशुद्ध, समाजलाई आवश्यक पर्ने, हरेक किसिमको शिल्पीकलाबाट निर्मित सामग्री दलितले नै निर्माण गरेको कहीँ कतै लुकेको छैन ।
तर सीप र कलाको सम्मान दलितले न हिजोको राजतन्त्र, राणाशासनको पालामा पाए, न आजको गणतन्त्रमा ।
आफू समानको समुदायलाई अपमान र पशुसरहको जीवन जिउन बाध्य बनाइयो । अब यसको उत्तर खोज्नुपर्छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको उदयपछि नेपालमा धेरै परिवर्तन भयो । दलित माथीको विभेद विरुद्धमा कानुन पनि बने तर दलितमाथि जातको आधारमा गरिने पशु सरहको व्यवहारमा भने कुनै परिवर्तन भएको छैन् । तसर्थ समानताका लागि टोपीका साथै टोपी सिलाउने मान्छेको पनि सम्मान हुनुपर्छ विभेद होइन । समानताका लागि अब उठौं, जागौं, संघर्ष गरौं ।