काठमाडौं । श्रीलंकाले सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का र बच्चाहरू पढ्ने १ हजार बढी मदरसा बन्द गर्ने भएको छ । सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको बताए ।
‘बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छु, मन्त्री वीरासेकाराले शनिबार एउटा कार्यक्रममा भने,‘पहिला हाम्रा धेरै मुस्लिम साथीहरू थिए तर मुस्लिम महिलाहरूले कहिल्यै बुर्का लगाउँदैनथे । अहिले धार्मिक अतिवादको रूपमा यस्तो चलन आएको हो । हामी यसलाई बन्द गर्छौं नै ।’
सन् २०१९ को इस्टरमा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लगाइएको थियो । वीरासेकारा सरकारी निकायमा दर्ता नभएका र राष्ट्रिय शिक्षा नीति अनुसार नचलेकाले १ हजारभन्दा बढी मदरसा पनि बन्द गर्न लागेको बताए । श्रीलंकामा झन्डै ९ प्रतिशत मानिस मुस्लिम छन् भने जनसंख्या ७० प्रतिशत बुद्ध धर्मालम्वी छन् ।