काठमाडौं । तिब्र ध्रुविकरणको माहोलमा परेको नेपालको राजनीतिमा दैनिकजसो कुनै न कुनै परिवर्तनहरु देखा पेरका छन् । ओली समूह र जसपा, प्रचण्डहरुको आफ्नै व्यस्तता, कांग्रेसको आफ्नै दाउ, राजावादीहरुको सानो भएपनि चुरिफुरी चलिरहेकै बेला विद्रोहबाट शान्तिप्रकृयामा आएको विप्लव नेकपाको गतिविधिले पनि नेपालको राजनीतिकमा निकै तरंग पैदा गरेको छ ।
ओली सरकारले प्रतिबन्ध खुला नगर्दै वैद्य, आहुती र ऋषि कट्टेलहरुसित राणनैतिक मोर्चा बनाएर चर्चामा आएका नेपालका आन्दोलनरत कम्युनिस्टहरुको गतिविधिले पनि जनतामा नयाँ सञ्चार भएको छ । वार्ता प्रकृयामा आएर आफ्नो राजनीतिक गतिविधि बढाइरहेका विप्लवहरु संघर्षमा रहेका साना कम्युनिस्ट दलहरुलाई एकाकार गर्दै लगेको छ ।
यसैबीच केपी ओली र सरकारसित ३ बुँदे सहमति गरेर शान्तिपूर्णरुपमा आफ्ना राजनीतिक गतिविधिमा गर्ने वातावरणमा आएको विप्लव नेकपा र केही महिनाअघि गठन भएको नेकपा माओवादी केन्द्रबिच आज ३ बुँदे सहमति भएको छ । माओवादी केन्द्रका कर्णजीत बुढाथोकी ‘शुसील’ र नेकपाका महासचिव विप्लवबिच आज जारी गरिएको संयुक्त विज्ञप्तिमा ती २ पार्टीबिच ३ बुँदे सहमति भएको जनाइएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार सहमतिको १ नम्बर बुँदामा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संयुक्त सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै २ नम्बर बुँदामा क्रान्तिकारीहरुबिच पार्टी एकताको लक्ष राखि संघर्षमा सहकार्य गर्ने र ३ नम्बर बुँदामा यो प्रकृयामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि गराउने रहेको छ । यसरी यी २ पार्टीहरु पनि पार्टी एकताको नजिक रहेको स्पष्ट भएको छ ।
माओवादी केन्द्र गोपाल किराँतीबाट अलग भइ बनेको पार्टी हो । सो पार्टीलाई पूर्वसभाषद कर्णजीत बुढाथोकीले नेतृत्व गरेका छन् भने तिलक थापा लगायतका पूर्वसभाषद, पुराना र पाका नेताहरु सो पार्टीमा आवद्ध रहेका छन् । सो पार्टीका पूर्वअध्यक्ष गोपाल किराँतीले मालेमावादमा योग तथा विपश्यनाको लाइन लिएपछि उनलाई कारवाही गरि कर्णजीत बुढाथोकीको नेतृत्वमा नेकपा माओवादी केन्द्रलाई पुनर्गठित गरिएको थियो । विप्लव नेकपा र माओवादी केन्द्रबिच आएको सहमतिले नेपालको राजनीतिमा फेरि एउटा नयाँ सन्देश दिएको बताइन्छ ।