काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको आरोप लगाएका छन् ।
आज नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो आरोप लगाएका हुन् ।
सभापति देउवाले प्रजातन्त्रलाई स्थायी बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै अब नेपालका कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताए ।
कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’