२९ फागुन, काठमाडौं । मुलुकमा प्रसिद्धि कमाएका कैयन् विश्वविद्यालय र ती विश्वविद्यालद्धारा सम्बन्धनप्राप्त एवम् आंगिक क्याम्पसमा गरिने खोज तथा अनुसन्धान र त्यसबाट प्राप्त विषय वस्तुका सार हुन्, –‘जर्नल, आर्टिकल वा पुस्तकाकार ।’ ती आकार र त्यस भित्रको गुदि नै तिनै विश्वविद्यालय र क्याम्पसका बौद्धिक सम्पत्ति हुन् ।
यसको अलवा विश्वविद्यालय, क्याम्पसद्धारा मुद्रित अन्य कुनै सामाग्री तिनका बौद्धिक सम्पत्ति होइनन् भनेको होइन, हुन् । तथापि माथि उल्लेखित सम्पति वास्तवमै प्राज्ञिक र प्रामाणिक बौद्धिक सम्पत्ति ठहरिन्छन् ।
ती सम्पत्ति आँखै अगाडि चोरी पैठारी हुनुले एकातिर सम्बन्धित विश्वविद्यालय वा क्याम्पसको सम्पत्तिमाथि ठाडो हस्तक्षेप भैरहेको छ भने अर्कोतिर रातारात कपी पेस्ट वा अन्य कुनै माध्यमबाट एउटाको सम्पत्ति अर्कोले चोरी गरिरहेको छ ।
यसको उदाहरण लिन टाढा जानै पर्दैन, –‘अस्तिभर्खरै बर्डस्–३ मिसनको नेपाली स्याट–१ नेपालको पहिलो स्याटेलाइट हो । उक्त स्याटेलाइट नास्टका प्राविधिक अधिकृत रोशन पाण्डेलाई अनाधिकृत रूपमा क्युटेकका एक प्राध्यापकको शोध चोरीको आरोप लागेको थियो ।’
ती क्युटेकका प्राध्यापकले आफ्नो शोध पाण्डेले हुबहु चोरी गरी एक अनलाइनमा राखेको आरोपसमेत लगाएका थिए । उक्त आरोप प्रमाणसिद्ध भैसकेपछि पाण्डेले अनलाइनबाट त्यो शोध हटाएका छन् ।
भौतिक सम्पत्ति चोरी हुनु कुनै नौलो विषयत होइन । तर, पछिल्लो चरणमा बौद्धिक सम्पत्ति हाकाहाकी चोरी गर्ने अपराधिक मानसिकता भएका केही मानिसका कारण कतिपय बुद्धिजीवी, प्राध्यापक, डाक्टर, कवि, पत्रकार, कलाकार आजित भएका छन् । यस्तो निक्रिष्ट कार्यमा संलग्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)का केही प्राध्यापक डाक्टर पनि कमी छैनन् ।
त्रिविका पूर्वउपकुलपतिसमेत रहेका तीर्थ खनियाँले केहीवर्ष पहिले टर्कीका एक प्राध्यापकको लेख उनलाई कुनै श्रेय नै नदिई जस्ताको तस्तै एक नेपाली जर्नलमा आफ्नो नाममा प्रकाशन गरेका थिए । उक्त जर्नल प्रकाशन भएको केही दिनमा सप्रमाणसहित विभिन्न सञ्चारमाध्यममा समाचारहरू प्रकाशन तथा प्रशारण भए ।
खनियाँको बौद्धिक सम्पत्तिको चोरी चर्चा समाचारमामात्रै सीमित रहेन । विभिन्न खोज तथा अनुसन्धान केन्द्रमा समेत खनियाँको चोरीका कारणले संशय उत्पन्न गरिदियो भने पछिल्लो चरणमा प्रकाशन भएका आर्टिकल, जर्नल, पुस्तक आदिको पनि विश्वसनियता गुमायो ।
त्यतिमात्रै होइन, देशका बौद्धिक एवम् प्राज्ञ मानिने विद्वान प्राध्यापकको शिरमात्रै नुगेन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै यस चोरीको घटनाले त्रिविको बेइजतसम्म गरायो । उपकुलपति जस्तो प्राज्ञ एवम् उच्च पदस्थ व्यक्तिले नै यस्तो हर्कत गरेपछि देशको शैक्षिक हब मानिने विश्वविद्यालयको धज्जी उड्नु स्वभाविकै हो ।
अस्ति भर्खर फागुन २५ गते फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको क्रिस्टल स्ट्रक्चर चोरीको आरोप लगाएका छन् । आरोपितमध्ये त्रिविका प्रा.डा. परशुराम मिश्रसहित सात जनाको नाममा खुलेको छ । प्रा.डा. मिश्र मुख्य र अन्य ६ जना कोअर्थर रहेका ११ आर्टिकल जर्नलमा प्रकाशन भएको पाइएको हो ।
उनीहरूमध्ये जनक अधिकारी, रोहित देव, युवराज साउ, विमलकुमार कण्ठ, हरेराम मिश्र र कल्पना मिश्र रहेका छन् । उनीहरूले फ्रान्सका प्राध्यापक बेलको क्रिस्टर स्ट्रक्चर चोरी गरी भारतीय एक जर्ननलमा आफ्नो नामसहित प्रकाशन गरेका छन् ।
मिश्र त्रिविको आंगिक क्याम्पस महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक हुन् । तथापि उनी सेवानिवृत्त भैसकेका छन् । त्यस्तै त्रिविमै रसायनशास्त्रमै अधिकारी, देव र साउ पिएचडी गर्दैछन् भने अधिकारी र साउ त्रिविका प्राध्यापक पनि हुन् ।
उनीहरूले ‘क्रिस्टल स्ट्रक्चर’को डेटा तोडमोड गरी आफ्ना नाममा प्रकाशन गरेको छानबिनबाट खुलेको छ । त्यस्तै थप आधा दर्जन बढी जर्नलमा छापिएका आर्टिकलमा समेत उनीहरूले चोरी गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि यसबारेमा पुष्टि हुन बाँकी नै छ ।
यस विषयमा त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रा.डा. मिश्रलगायत अन्यले पनि अवैध कार्य गरेकोले त्रिविको अन्तर्राष्ट्रिय स्तरमै बेइजत भएको बताए । त्रिविमा बौद्धिक सम्पत्ति चोरी हुनु हिजोआज कुनै आश्चर्यको विषय नभएको अधिकारीहरू बताउँछन् ।
देशमा बौद्धिक सम्पत्ति चोरी तथा नियन्त्रणसम्बन्धी कानुन नहुनुले यस्तो गतिविधि बढेको अधिकारीहरू बताउँछन् । बौद्धिक सम्पत्ति सम्बन्धी कानुनी प्रयासहरूलाई हेर्ने हो भने बौद्धिक सम्पत्तिहरूको संरक्षणका लागी नेपालमा सर्वप्रथम नेपालमा वि.सं. १९९३ मा नेपाल पेटेन्ट, डिजाइन, र ट्रेडमार्क ऐन अस्तित्वमा आएको देखिन्छ ।
त्यसपछि आएर उक्त ऐनको सट्टामा आवश्यक परिमार्जन सहित नयाँ ऐनको निर्माण हुनुको साथै बौद्धिक सम्पत्ति अधिकारको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको प्रतिलिपि अधिकार सम्बन्धी कानुनको तर्जुमा भई लागु भएको अवस्था छ ।
हाल नेपालमा प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२स प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ प्रचलनमा छ । प्रतिलिपि अधिकार सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यका लागु गरिएको प्रस्तुत ऐनले विश्व व्यापार सङ्गठनको बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी सम्झौताका आधारभूत पक्षहरूलाई समेट्ने प्रयास गरिएको छ ।
बौद्धिक चोरी रोक्न सफ्टवेयर ल्याइँदै,
त्रिविले विद्यावारिधि (पिएचडी)लगायतका थेसिसमा हुने चोरी रोक्नका लागि सफ्टवेयरबाटै चेक गर्ने व्यवस्थाका लागि सफ्टवेयर ल्याइने उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताए । उनका अनुसार पाठ्यक्रम विकास केन्द्र र त्रिवि केन्द्रीय पुस्तकालयमा चोरी जाँच गर्ने सफ्टवेयरको व्यवस्था गर्ने तयारी पूरा भएको छ ।
‘प्लेजरिजम टेस्ट’ गरिसकेपछि मात्रै थेसिस स्वीकार गर्ने तयारी गरेको त्रिविले जनाएको हो । उसले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाइसकेको छ ।