• माघ १८ २०८१, शुक्रबार

हिथ्रो विमानस्थलबाट फर्केर हेर्दा……….

फाल्गुन २९ २०७७, शनिबार

म ब्रिटिश एयरवेजको जहाज चढिसकेकी थिए । मलाई त्यहाँ शालिनताका साथ सङ्केत आइरहेको थियो- परिचारिका मेरो कानमा फुस्फुसाइन् । उनको आशय थियो ‘के मैले जहाजमा ब्राण्डी लिन चाहन्छु ?’ म अलमलमा थिए । मैले वर्षौसम्म रक्सी छोएकी पनि थिएन । अहिले कसरी पिउन सकुँला ? घडीले रातको साढे बाह्र बजेको सङ्केत गरिरहेको थियो । परिचारिकाले कुखुराको सेकुवा, ब्रसेल्स, स्प्राउट आदि परिकार दिइरहेका थिए । मलाई यी खानाको बारेमा सोचेर वान्ता आउलाजस्तो हुन थाल्यो । मलाई केही शंकोच लागिरहेको थियो– जहाजमा रहेका यात्रीले मेरो बारेमा केही थाह पाएका त छैनन् ? उनीहरु सबैले मतिर हेरिरहेका त छैनन् ? अहँ !

यति लामो जेल बसाइ पछिको १४ घण्टाको यात्रा ज्यादै नै पट्यारलाग्दो थियो । मेरो छेवैको सिटमा बसेको बङ्गाली डाक्टरले आफ्नो बिरामी बाबुलाई उपचारका लागि बेलायत लगिरहेका थिए । समय कटाउनु थियो । उनले मेरो भारत यात्राको बारेमा सोध्न थाले । मलाई लाग्यो यदि मैले म भारतमा कति दिनसम्म बसे भनेर रहस्य खोलिदिए भने उनी निकै हैरान हुनेछन् । कुरा चल्दै गयो । उनले म कहाँ बसे, के गरेर बसे आदि सबै सोधे । ‘के म मिस टाइल नै हुँ ?’ उनले त यतिसम्म पनि अनुमान लगाइसकेका थिए । शायद, पत्रपत्रिकामा उनले मेरो बारेमा पढिरहेका थिए ।

परिचारिकाले लगातार सुन्तलाको रस, युरोपीय उपहार कफीआदि उपलब्ध गराइरहेका थिए । मैले यी सबै खाने कुराको आधाजति मात्र उपयोग गर्न सके । मसँगैको यात्रीले यी सारा खानेकुरा खाइरहेका थिए । यसबाहेक त त्यहाँ अरु के नै पो गर्न सकिन्थ्यो र ? एक परिचारिकाले कर नलाग्ने पेय तथा सिगरेट आदि बेच्न सुरु गरिन् । मसँग वाणिज्यदूतले दिएको पाँच पौण्ड थियो । यो पैसाले मैले केही खानेकुरा खरिद गर्न सक्थे । मैले यो पैसा हिथ्रो विमानस्थलबाट घरसम्म पुग्नका लागि बचाउनु पर्ने पनि थियो । मलाई लिन हवाई अड्डामा कोही पनि आएनन् भने त्यतिबेला यो पैसा जरुरी पर्ने छ । मैले एक्कासी २०० सिगरेट र आधी बोतल ह्वीस्की माग गरे । पाँच वर्षसम्म मैले कुनै सामान खरिद गरेकी थिइन ।

मलाई अमलेन्दुको निकै याद आइरहेको थियो । उनले के गरिरहेका छन् होला भन्ने मनमा लागिरह्यो । यो पनि मेरो मनमा खेलिरह्यो कि के यी सारा कुरा उनलाई जानकारी होला ? के लण्डनवासीले म फर्किरहेकी छु भनेर थाह पाएका होलान् ?

लामो सफर ! सोच्दै र विचार गर्दै म हिथ्रो विमानस्थल पुगिसके छु । विमान ओर्लियो । परिचारिकाले मलाई केही समय जहाजमा नै रोकिइने अनुरोध गरिन् । सबै यात्रीहरु झरे । म सबैभन्दा पछि झरेर आफ्नो बाबुको छेउमा उभिन पुगे । उनीहरु सुक्कसुक्क रोइरहेका थिए । मेरो बहिनीको काँखमा २ वर्षकी बच्ची थिई । मैले पहिलोपटक उसको नयाँ अनुहार देखिरहेकी थिएँ । हामीहरु पासपोर्ट जाँच गर्ने कक्षतिर गयौं ।

British Air

सञ्चार फोटोग्राफरले हामीलाई चारैतिरबाट घेरा हाले । उनीहरुका क्यामरा हामीहरुको तस्वीर लिन सोझिए । मैले यत्ति सोचे– उनीहरुले कति रिल बर्बाद गरिरहेका होलान् । उनीहरुले थरिथरिको तस्वीर लिन थाले । ‘कृपया हाँस्नुस् । बच्चाको हात समात्नुस् । अलिकति बुबासँग जोडिएर बस्नुस् । आफ्नो बहिनीको काँधमाथि हात राख्नुस्’ आदिआदि भन्दै गए म पनि यन्त्रवत् यी सबै गर्दै गए ।

मेरो पासपोर्ट पाँच वर्षपछि पनि जस्ताको तस्तै देखेर सबै हैरान भए । के इण्डिया जेलमा हुँदा मैले निधारमा टीका लगाए ? हो, कैयौं पटक । तर मेरो साथमा यसको कुनै प्रमाण थिएन । तर पनि आज फेरि एउटा अर्को टीकाको तयारी थियो । चारैतिर बत्ती बलिरहेको थियो । मेरो साथी आफ्नो चार वर्षाीया छोरी साथमा लिएर आएकी थिइन् । रुँदै मलाई अङ्गालो पारिन् । मेरो अरु बहिनीहरु तथा उनीहरुको लोग्नेहरु पनि त्यहाँ थिए । पत्रकारले मेरो घाँटीको वरिपरि माइक्रोफोन झुण्डाइ दिए । उनीहरुले नानाथरिका प्रश्न सोधिरहेका थिए । त्यति नै बेला मेरो बुबाले बोलाएर मलाई भन्नु भयो कि विदेश विभागका कर्मचारीले मलाई छोटकरीमा कुरा टुंग्याउन भनिरहेका छन् ।

Heathrow airport

अन्त्यमा हामीहरु घर फर्कियौं । बुबाले मलाई आफ्नो कारतिर लानुभयो । छिट्टै नै हामी कार्नबलतिर गुड्यौं । त्यहाँ मलाई मीठो लाग्ने स्याउ, केरा र पनिर थियो । झ्यालबाट इङ्गल्याण्डका हरिया खेतहरु देख्दा रोमान्चित भए । जेलमा छ“दा यिनको बारेमा प्रायः म स्मरण मात्र गर्न सक्थे । त्यतिबेला ममा उदासताले छोपेको थियो ।

मेरो रिहाइको आठ महिनापछि बल्ल आज म लेख्न बसिरहेकी छु । २३ जुन १९७५ मा भारतमा सुरु भएको मेरो मुद्दा यति बेलासम्म पनि लम्बिदै गइरहेको छ । यो मुद्दामा मेरा ती सहप्रतिवादीले भाग लिइरहेका होलान् । अमलेन्दु, कल्पना, विणा र हजारौं तथा सन्दिग्ध नक्सलवादीलाई आज पनि जेलमा बन्द गरिएको छ । उनीहरुको हालत निरअपवाद रुपमा मेरोभन्दा निकै नै खराब छ । केहीलाई त पछिल्ला ७ वर्षदेखि मुद्दा नै नचलाएर बन्द गरी राखिएको छ । २६ जुन १९७५ मा सङ्कटकाल घोषणापछि हजारौं अरुहरुलाई पनि गिरफ्तार गरिएको छ । ती सबैलाई नजरबन्दमा राखिएको छ । जेलमा गरीब किसान तथा मजदुरसँग मैले स“गस“गै जीवन बिताएँ । ती असङ्ख्य मजदुर आज पनि अनिश्चित समयसम्मका लागि जेल परिरहेका छन् । उनीहरुको समस्या हल हुनेछ भन्ने पर्खाइमा छन् । मेरो आँखामा नाचिरहेका ती सबै बच्चाहरु जेलमा बसिरहेका होलान् ।

अमलेन्दु र कल्पनाको के अपराध ? भारतका असङ्ख्य मानिसहरुको जर्जर स्थितिलाई देखेर जो कोही पनि शान्त र अविचलित नभइरहन सक्तैनन् । भिखको कचौरा लिएर बालक सडकको धूलोमा डल्लो परिरहेको छ । गरिबको छोरीलाई एउटा धनीको मनोरञ्जनको लागि बेचिनु परिरहेको छ । कुनै बूढी आइमाई गाउँमा रहेका भलाद्मीको सामाजिक स्वीकृति प्राप्त गर्न आधा पेट खाएर जीन्दगी गुजार्नुु परिरहेको छ । असङ्ख्य मानिसहरु उपेक्षाको कारणले मृत्युको सिकार भइरहेका छन् ।

मुनाफाको लागि अर्कोतिर अनाज भण्डारण गर्ने, लुकाउने गरिइरहेको छ । अर्कोतिर मानिस खानै नपाएर भोकभोकै मर्छन् । जहाँ मेहनतकस जनताको परिश्रमको फल लुटेर सुदखोर मोटाउँछन्, जहाँ इमान्दार मानिसलाई दुःख गर्नुपर्छ र दुष्ट निरन्तर समृद्ध भइरहन्छ । जहाँ नियम त अन्याय र अपवादको रुपमा न्याय पाइन्छ । जहाँ लाखौंलाख मानिस आफ्नो शारीरिक तथा मानसिक शक्ति खर्च गरेर पनि आफूलाई जिउँदो बनाइ राख्न असमर्थ छन् । भारतको कानुनमा यो व्यवस्थामा आमूल परिवर्तन जरुरी छ भनेर जसले सोच्छन्, त्यो सोच अपरोध हो र यस्तो सोच्ने अपराधी हुन् । आमूल परिवर्तनद्वारा सारा भारतीय जनतालाई कुशल, रचनात्मक निपूर्ण तथा व्यवसायिक बनाउनु र नयाँ भारत निर्माण गर्नु सही अर्थमा स्वतन्त्र भारत र एक विसाल भारत बनाउनु हो ।

वर्तमान सरकार वा कुनै पनि अर्को सरकारद्वारा अन्याय र अमानवीयताविरुद्ध सक्रिय रहेका या आवाज उठाइरहेकालाई चूप लगाउन अनिश्चित कालसम्म हिरासतमा राख्न, नागरिक अधिकारबाट बञ्चित गरिदिन, डराउन दिन, धम्क्याउन र थरिथरिको यातना दिन र यी सबै प्रकारका नकारात्मक कदम चाल्नु भारतमा सिर्जित समस्या समाधानको सहयोगीसिद्ध हुनै सक्तैन । करोडौं जनताप्रति तिरस्कारपूर्ण रबैया अपनाउने सरकार रहँदासम्म दमन र कुशासन रहिरहने छ । मानिस मर्दा ‘भोकमरीले मर्यो ।’ कि ‘कुपोषणले’ भनेर सार्वजनिक बहस गरिरहने भारतमा यस्तो बेतुकको बहस अन्त्य नहुँदासम्म यातना र जेलनेल जस्ताको तस्तै रहिरहने छन् ।

स्रोत : बेलायती लेखिका मेरी टाइलरको ‘माई यिअर्स इन एन इण्डियन प्रिजन’