काठमाडौं । पार्टी छाडेर एमालेको केपी ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । पछिल्लो राजनीतिक अवस्था, सत्ता समीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहालले आइतबार स्थायी समिति बैठक बोलाएको एक सदस्यले जानकारी दिए ।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन् ।
आजको बैठकमा पार्टी छाडेर हिँड्नेमाथि के गर्ने भन्ने विषयमा प्रक्रिया अगाडि बढाइने ती नेताले बताए । ‘पार्टी छाडेर हिँड्नेलाई यथाशीघ्र घर फर्कन भन्छौँ । उहाँहरूले मान्नुभएन भने पार्टी विधानअनुसार अगाडि बढ्नेछौं । यसको निर्णय आजको बैठकले गर्नेछ’, ती सदस्यले भने ।
एमालेले संकटका बेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ । यस्तै सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरू गरेको छ ।