भनिन्छ- ‘एउटा वनमा एउटै बाघको मात्रै रजाइ चल्छ, यदि २ वटा बाघ भएभने त्यहाँ मारामार चल्छ ।’ तर नेपालको राजनीतिमा धेरै बाघहरु भएका कारण लडाइँ र विवादहरु चलिरहेका छन् । नेपालको कम्युनिस्ट राजनीतिमा निकै टुटफुट र विभाजनबाट आएका कारण फुटेपछि पनि म नै बाघ हुँ भन्दै छाती पिट्ने बानी गएको छैन । नेपालमा क्रियाशील प्रजातान्त्रिक र कम्युनिस्ट गरी दुईखाले राजनीतिक धारमा विभक्त नेतामध्ये राजनीतिक विचार नै फरक भएकामा त धेरै कुरामा भिन्नता हुने नै भयो तर कम्युनिस्ट विचार र आचरण बोकेका नेता र पार्टीहरु बीच पनि धेरै कुरा र व्यवहारमा भिन्नता हुनु अनौठो मानिन्छ । झापा विद्रोहबाट आएका केपी शर्मा ओलीले आफूलाई अब्बल कम्युनिस्ट भन्ने ठान्छन् । मार्क्सवादलाई नेपाली भूमिमा संसदवादको रुपमा प्रयोग गर्नु उनको पार्टीको विशेषता हो । त्यसकारण उनी सार्वजनिक समारोहमा बोल्दा कहिल्यै पनि मार्क्सवाद शब्दको प्रयोग गर्दैनन् । प्रयोग गर्ने परे व्यंग्यात्मकरुपमा प्रयोग गर्छन् । खास गरी पूर्वएमालेहरु संसदवादी राजनीतिक लाइनलाई नै उच्चकोटीको राजनीतिक विचार मान्दै आएका छन्, त्यो विचार भनेको यही पुँजीवादी संसदीय व्यवस्था हो ।
दुई मोडल : दुई बाटो
संसारमा कहीँ पनि संसादबाट समाजवादी व्यवस्था स्थापना भएको उदाहरण छैन भन्ने कुरा उनीहरुलाई राम्रो ज्ञान छ तर पनि उनीहरु यही व्यवस्थालाई पछ्याइरहेका छन् । रुसमा प्रयोग भएको शसस्त्र विद्रोहको लाइन र चीनमा प्रयोग भएको माओवादी लाइनबारे त उनीहरु छलफल गर्न पनि चाहन्नन् । किनकि उनीहरुलाई त्यसो गर्नु नै छैन । त्यसो गर्नु नै नभएपछि त्यो लाइनको प्रचार गरिराख्नु आवश्यकता नै परेन । उनीहरु पनि नेपालको कम्युनिस्ट राजनीतिमा आफूलाई बाघ ठान्दछन् । प्रजातान्त्रिक विचारभन्दा फरक राजनीतिक धार भएको र नेपालमा कम्युनिस्ट राजनीति निकै फस्टाउन सक्ने वातावरण राम्रोसित बुझेका एमाले नेताहरुले अर्को बाघका रुपमा उदाएको माओवादीलाई राम्रो मान्ने कुरा थिएन ।
त्यसकारण उनीहरु जतिपल्ट सत्तामा गए उतिपटक नै माओवादीमाथि दमनको हतियार उठाए । यो कुनै पूर्वाग्रही वा आक्षेपको कुरा होइन । जब राजाको प्रत्यक्ष शासनले संसदवादी पार्टीहरुका टाउकामा लाठी बर्साउन थाल्यो, बच्नका लागि उनीहरुलाई माओवादीको बन्दुकको सहारा चाहियो । अनि उनीहरुले माओवादीको बन्दुक प्रयोग गरेर राजालाई तह लगाए । जब राजालाई तह लगाए अब माओवादीको बन्दुक उनीहरुलाई आवश्यक परेन । जब माओवादीको बन्दुकको आवश्यक परेन त माओवादी नेता पनि उनीहरुका लागि दुश्मन बने । तब उनीहरु पहिलो संविधानसभाबाट पनि माओवादीलाई लखेट्न थाले । दोस्रो संविधानसभाबाट जब माओवादी सानो साइजमा खुम्चिए, तब एमालेहरु भोज र मोज गर्न थाले ।
चरीबाघ र बाघ :
एउटै वनमा एमाले ठूलो बाघ बन्यो भने प्रचण्डहरु साना बाघ भएर सानै आहारामा चित्त बुझाएर बस्न थाले । तर अंक गणितमा सानो भएपनि प्रचण्ड भने आफूलाई ठूलो नेता ठान्थे । उनी चरीबाघ झैं साना देखिएपनि सिकार गर्न भने माहिर थिए । २०७२ सालमा जनतालाई ठगठाग गरी, सोझाको आँखामा छारो हाली सानोतिनो घिसेपिटे भएपनि संविधान जारी भएपछि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई फेरि वनको राजा को हुने ? भन्नेमै पिरलो भइरह्यो । मुखमा आएको भाग छोड्न न ओली चाहन्थे न प्रचण्ड । उनीहरुका आहारारुपी अन्य पार्टीहरुलाई सिध्याएर आफै बाघ बन्ने चाहनामा उनीहरुले चुनावमा गठबन्धन गरे र बहुमत ल्याए ।
सरकार बनाउने खेलसँगै प्रचण्ड र ओली रुपी बाघहरुले राजनीतिमा एकले अर्कोलाई सिध्याउने खेल फेरि सुरु भयो । उनीहरु सरकारमा बराबरीको भागबण्डा गरेर मजाले ५ वर्ष सत्ता चलाउन चाहन्थे । नेपालमा ५० वर्ष शासन गर्ने उनीहरुको घोषणा पनि थियो । संसदीय व्यवस्थामा छिरिसकेका र नाम मात्रको कम्युनिस्ट पार्टी भएका कारण र गणतन्त्र नामको पुरानै अर्थव्यवस्था, कर्मचारी यन्त्र र पुरानै मानसिकताका कारण सत्तामा जनताले परिवर्तन आएको महसुस गर्न पाएनन् । महसुस गर्न पाएनन् मात्र होइन, जनतामा तिब्र असन्तुष्टि पैदा भएको थियो । विदेशी हस्तक्षेप बढेर आएको थियो । दैनिक हजारौं युवा विदेश जानु पर्ने अवस्थामा परिवर्तन आएन र परिवर्तन आउने लक्षण पनि देखिएन ।
बाघको विकल्पमा अर्को बाघ :
सत्ताधारी पार्टी र तिनका नेता र वरपरका मानिसहरुलाई लोकतन्त्र आयो । तर काम गरी खाने जनतालाई परिवर्तन आएको महसुस नभएपछि त्यो भावनालाई कुनै न कुनै राजनीतिक पार्टीले लिएर अगाडि आउनु स्वभाविकै थियो । अनि जन्मिए विप्लवहरु ! अब नेपालको राजनीतिममा ३ खाले ठूला बाघहरुको जम्काघेट हनुे भयो । ओली र दाहालहरु चाहन्थे, यही व्यवस्थामा सामान्य टालटुल गरेर सरकार चलाऔं । विप्लव चाहन्थे आमूल परिवर्तन गरौं । विप्लवको उदयलाई प्रचण्ड र ओलीहरु नजिकैबाट हेरिहेका थिए । संसदीय व्यवस्थाविरुद्ध विप्लव विद्रोह कस्तो होला ? भनेर मानिसहरु आँकलन मात्र गरिरहेका थिए । राजनीतिक, सामाजिक र आर्थिक लगायतका परिवर्तनहरुमा तिब्रता दिने विप्लवी सपनालाई विदेशी हस्तक्षेपले रोक्ने अनुमान गरिएको थियो ।
राजनीतिमा उदाउने सपना देखेका विप्लवलाई एनसेलको ठगीले मजाको मसला दिलायो । तब नेपाल सरकारलाई झण्डै ७५ अर्ब राजस्व नतिरेको एनसेलमाथि विप्लवको आक्रमण सरु भयो । उनको यो आक्रमण नेपाली राजनीतिमा उदाउने मौका बन्यो भने अमेरिका लगायतका शक्तिहरुलाई तर्साउने दाउ पनि । एनसेल माथिको विप्लव नेकपाले गरेको कारवाही नै ओलीले विप्लवमाथि प्रतिबन्ध लगाउने बहाना मिल्यो । विप्लव विद्रोहलाई कमजोर बनाउने भित्रभित्रै योजना बनाएका ओलीलाई सेनसेल माथिको आक्रमण विप्लवमाथि प्रतिबन्धको मसला बन्यो । विश्व राजनीतिको विश्लेषण गर्नेहरु एनसेलमा अमेरिकीहरुको लगानी पनि रहेको र त्यसले नेपाल सरकारलाई राजश्व ठगेको कारण बनाएर विप्लव नेकपाले जब ऐनसेल माथि आक्रमण गर्यो अनि अमेरिकाले प्रम रहेका ओलीलाई विप्लवलाई प्रतिबन्ध लगाउन निदेशन गर्यो भन्नेहरु पनि छन् । यो कुरा समयले पुष्टि गर्ला तर एनसेलसित राज्यले कर उठाएन र वास्ता किन गरेन ? र विप्लवले एनसेलमाथि किन आक्रमण गर्नु पर्यो ? यो प्रश्नको जवाफ खोज्नु पर्छ ।
दाहाल-विप्लवको बढ्दो दुरी :
प्रतिबन्धको कुरा गर्ने हो भने ओली र दाहाल एउटै पार्टीका अध्यक्ष भएका कारण उनीहरुले सल्लाह गरेरै विप्लवमाथि प्रतिबन्ध लगाएका हुन् भन्नेमा कुनै पनि शंका गर्नुपर्ने छैन । ऐन मौकामा प्रचण्डले आफूलाई जानकारी नै नदिइकन ओलीले विप्लवमाथि प्रतिबन्ध लगाए भन्ने गरेका थिए । तर प्रतिबन्धकै बीचमा सेक्युरिटी प्रेस खरिद काण्डमा ओलीका दाहिने हात मानिने सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको भ्रष्टाचार काण्डको टेप जब बाहिरियो, तब बास्कोटामाथि कारवाही गर्दै विप्लव नेकपाले उनको घरमा बम विष्फोट गरायो । तब प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर विप्लव नेकपालाई आतंककारी र अपराधीको संज्ञा दिँदै उनीमाथि हदैसम्मको कारवाहीको माग गरे । अब भने विप्लव नेकपा र सो पार्टीका कार्यकर्ताको प्रचण्डमाथिको सदासयता भंग भयो । राजनीतिको खेल र त्यसमाथिको जोडघटाउ हुँदैगर्दा आज प्रधानमन्त्री ओलीको सरकारले प्रतिबन्ध लगाएको र प्रचण्डले आतंककारी र अपराधीको आरोप लगाएको विप्लव नेकपालाई प्रम ओलीले नै वार्तामा बोलाएर विप्वल नेकपामाथिको प्रतिबन्ध फुकुवा गरिदिएका छन् । अचम्मको राजनीति: हिजोसम्म नेपालको कम्युनिस्ट राजनीतिमा देखापरेका २ वटा बाघमा अर्का बाघ थपिए, विप्लव !
अब के होला ? :
नेपाली राजनीतिमा प्रत्येक वर्ष नयाँनयाँ खेलाडीहरु थपिन्छन् । झण्डै ३ वर्ष अघिदेखि नेपालको राजनीतिमा विप्लवहरु थपिएका छन् । अदालतले प्रचण्डहरु एमालेसित मिसिएर बनेको पार्टीलाई मान्यता नदिएपछि माओवादी भएका छन् भने ओलीहरु एमाले भएका छन् । माधव नेपालहरु बीचमा परेका छन् । प्रतिपक्ष कांग्रेस यता जाउँ कि उता जाउँ भएर दोबाटोमा रुमल्लिएको छ । सधै अस्थिरताको चक्कर काट्दै आएको र विदेशीको चंगुलमा पर्दै, थलापर्दै आएको र नेपालमा प्रयोग भइरहेको संसदीय व्यवस्था नेपालमा हाल बहसको विषय बनेको छ । आफूलाई मूलधारको कम्युनिस्ट दाबी गर्ने ओली-दाहाल तथा प्रजातान्त्रिक दाबी गर्ने कांग्रेस लगायतका पार्टीहरु पनि विकल्प दिन नसकेर किंकर्तव्यविमुढ बनेका छन् ।
यस्तो अवस्थामा विप्लव, मोहन वैद्य र आहुती र ऋषि कट्टेल भने आफूहरु मिलेर विकल्प दिन्छौं भनेर लागिरहेका छन् । तर उनीहरुको राजनीतिक लाइन भने हालको व्यवस्थाभन्दा फरक छ । त्यसैले पनि उनीहरु यो व्यवस्थाकै विकल्प दिन्छौं भनेर लागि परेका छन् । यहि व्यवस्थामा फर्कन आह्वान गर्दै वार्तामा बोलाएका ओलीहरु र सिंगो व्यवस्थाकै विकल्प दिन्छौं भनेर विकल्पको राजनीतिक लाइन बिस्तार गर्न खोजेको विप्लव नेकपाका बीचमा विकल्प खोज्नका लागि एउटै मञ्चमा बसेर छलफल गर्ने वातावरण बन्ला वा एकले अर्कोलाई निषेध गर्नेतिर जाने अवस्था आउला ? त्यो भने केही समय कुर्नै पर्छ ।